अनलाइन प्रणाली नजिकियो, ब्रोकरको वित्तीय भार कम गर्न नेप्सेले दियो विकल्प, भाडामा लिन पाउने

बिजमाण्डू
२०७५ असार १० गते १३:५५ | Jun 24, 2018
अनलाइन प्रणाली नजिकियो, ब्रोकरको वित्तीय भार कम गर्न नेप्सेले दियो विकल्प, भाडामा लिन पाउने

 
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनलाइन प्रणाली कार्यान्वयनका लागि धितोपत्र दलाल व्यवसायीलाई वित्तीय भार कम विकल्प दिने भएको छ। नेप्सेले गत जेठ ३० गते दिएको निर्देशन अनुसार कार्य सम्पादन र डाटा सुरक्षामा सम्झौता नहुने गरी विकल्पहरू रोज्न सक्ने नेप्सेले जनाएको छ। 
 
'पूर्वाधार बनाउँदा डाटा सुरक्षामा सम्झौता हुनु भएन र कार्य सम्पादनमा ह्रास नआउने गरी दलाल व्यवसायीले वित्तीय भार कम गर्न जुनसुकै विकल्प अपनाउन सक्छन्' नेप्से प्रवत्ता मुराहरि पराजुलीले भने। 
 
अनलाइन प्रणालीलाई जसरीपनि कार्यान्वनमा लैजाने तयारी गरिरहेको नेप्सेले त्यसका लागि जुनसुकै सहयोग गर्न तयार रहेको जनाएको छ। 'कार्य सम्पादन र डाटा सुरक्षामा कुनै सम्झौता नहुने गरी नेप्से जस्तोसुकै सहयोग गर्न तयार छ' पराजुलीले भने।
 
नेप्सेका अनुसार अब दलाल व्यवसायीले नेप्सेले जडान गर्न भनेको प्राविधिक संयन्त्रहरू ब्रोकर कम्पनीहरूले भाडामा लिएर चलाउन सक्छन्। यसै गरी डाटा सेन्टर र डाटा रिकभरिको सेवा दिँदै आएका कम्पनीसँग मासिक भुक्तानीमा सेवा लिन पाउने भएका छन्।
 
ब्रोकर कम्पनीलार्इ आफ्नै पूर्वाधार तयार गर्न निर्देशन दिएसँगै ब्रोकर कम्पनीले वित्तीय भार थपिने भन्दै नेप्सेले पूर्वाधारका विषयमा विकल्पहरू दिनुपर्ने भन्दै लविङ गरेका थिए। २० लाख चुक्ता पुँजी भएका ब्रोकर कम्पनीले गत पुसमा मात्रै दुई करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएको र लगत्तै ६ महिनापछि करिब डेढ करोड रुपैयाँ बराबरको प्रविधि संयन्त्रको जोहो गर्न मुस्किल परेको बताउँदै आएका थिए। 
 
नेप्सेले दिएको निर्देशन अनुसारको प्रविधि र संयन्त्रको विकास गर्ने दलाल व्यवसायीलाई प्राथमिकतामा राख्ने योजना बनाएको छ। जुन दलाल व्यवसायीले पहिले प्राविधिक संयन्त्रको प्रबन्ध गर्छन् तिनै व्यवसायीबाट सबैभन्दा पहिले लगानीकर्ताले अनलाइन सेवा पाउने नेप्सेले जनाएको छ। 

Tata
GBIME
Nepal Life