वीरगञ्ज भन्सारलाई लक्ष्य अनुसारको राजश्व उठाउन सकस, जेठमा लक्ष्य पुरा भएन, असार गाह्रो

बिजमाण्डू
२०७५ असार ९ गते १५:३० | Jun 23, 2018

Tata
GBIME
Nepal Life

वीरगंज। मुलुकको मुख्य भन्सार नाका वीरगंज भन्सार कार्यालयको चालु आर्थिक वर्षको पछिल्लो ११ महिनाको लक्ष्य पुरा हुन सकेको छैन। गत साउनदेखि जेठसम्म वीरगंज भन्सार कार्यालयले लक्ष्यभन्दा करिब ३ प्रतिशत अर्थात साढे ३ अर्ब राजस्व कम उठाएको वीरगंज भन्सार कार्यालयले जनाएको छ।

 
‘सरकारले चालु आर्थिक वर्षको लागि गत वर्षको तुलनामा २९ प्रतिशत राजस्व लक्ष्य वृद्धि गरेको छ,’ वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले भने,‘भन्सार दरबन्दी पुरानै छ, मात्र राजस्व लक्ष्य बढाइयो, जसले गर्दा जेठसम्म लक्ष्य पुरा नभएको हो।
 
उनले जेठसम्म कम भएको साढे ३ अर्ब र असार मसान्तको १३ अर्ब गरी कुल साढे १६ अर्ब राजस्व असुली गर्नु पर्ने अवस्था सृजना भएको बताए।
 
कार्यालयका सूचना अधिकारी यादवका अनुसार गत जेठमा लक्ष्यभन्दा २० प्रतिशत राजस्व असुली बढि उठेको र सोही अनुपातमा राजस्वको नजिक पुग्ने विश्वास व्यक्त गरे। उनले बिजमान्डूसँग कुराकानी गर्दै भने, ‘अहिले दैनिक ४० देखि ५० करोडसम्म राजस्व उठिरहेको छ, यस्तै उठ्यो भने करिब १५ अर्बसम्म राजस्व उठ्ने अनुमान गरिएको छ।’ 
 
जेठसम्म ११ महिनामा १ खर्ब २० अर्ब ९५ करोड ३१ लाख ८२ हजार लक्ष्य पाएकोमा ९६ दशमलव ८७ प्रतिशत अर्थात  १ खर्ब १७ अर्ब १६ करोड २० लाख ३९ मात्र राजस्व संकलन भएको छ।