सरकारले तीन लाख दिँदा भारतीय माछाको खपत घट्न थाल्यो नेपालमा, टोलटोलमा पोखरी

रासस
२०७५ असार ९ गते १४:५७ | Jun 23, 2018

Tata
GBIME
Nepal Life

बनियानी, झापा। पूर्वी नाका काँकरभिट्टा हुँदै भित्रिने भारतीय माछाको आयात घट्दै गएको छ।

 
पछिल्लो पाँच वर्षयता भारतबाट आउने माछाको आयात क्रमशः घट्दै गएको एनिमल क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ। क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहका अनुसार चालू आर्थिक वर्ष २०७४/७५ को ११ महिनाको अवधिमा काँकरभिट्टा नाकाबाट एक हजार ४१० मेट्रिक टन माछा आयात भएको छ। यो अघिल्लो आवको तुलनामा ७९ मेट्रिक टन कम हो। आव २०७३/७४ मा एक हजार ६७५ मेट्रिक टन माछा आयात भएको थियो।
 
आव २०७०/७१ मा भारतबाट दुई हजार ८० मेट्रिक टन, २०७१/७२ मा दुई हजार १०९ मेट्रिक टन, २०७२/७३ मा एक हजार ७३६ मेट्रिक टन माछा भारतबाट आएको कार्यालयको तथ्याँक छ।
 
पाँच वर्षयता माछा आयातमा ६० प्रतिशतले कमी आएको छ। पछिल्लो समय नेपालमा माछाको व्यावसायिक उत्पादन हुन थालेपछि भारतलगायत तेस्रो मुलुकबाट आयात हुँदै माछाको परिमाणमा कमी आएको हो। काँकरभिट्टा नाका हुँदै आयात हुने माछा झापा, इलाम, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा खपत हुने गरेका छन्। 
 
झापामा ३० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन्। जिल्लामा गत वर्ष ३.५ मेट्रिक टन माछा उत्पादन भएको थियो।   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा माछा ब्लक कार्यक्रम सञ्चालन भइरहेको छ।
 
सरकारले एक हेक्टर क्षेत्रफलमा माछापालन गर्दै आएका किसानलाई तीन लाख अनुदान उपलब्ध गराउँदै आएको कृषि विकास कार्यालय झापाका मत्स्य विकास अधिकृत प्रदीप श्रेष्ठले जानकारी दिए।