आगामी बर्ष ‘कृषि तथा पशुपालन बर्ष’, ब्यावसायिक खेतीदेखि सामूहिक कृषिसम्म योजना

रासस
२०७५ असार ९ गते १४:५३ | Jun 23, 2018
दाङ। तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षलाई व्यावसायिक कृषि तथा पशुपालन वर्षका रुपमा मनाइने नीति सार्वजनिक गरेको छ। 
 
शुक्रबारबाट शुरु भएको तेस्रो नगरसभामा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नयाँ योजना अगाडि सारिएको हो। 
 
छ सय बिगाह क्षेत्रफलमा व्यावसायिक फलफूल बगैँचा निर्माण, थप ५०० बिगाहमा व्यावसायिक तथा बेमौसमी तरकारीखेती उत्पादन, व्यावसायिक मह उत्पादन तथा प्रशोधन, दूध, मासु र अण्डाको उत्पादनमा वृद्धि तथा उत्पादित त्यस्ता वस्तुमा आधारित कृषिजन्य उद्योग स्थापना गर्न लागि विशेष कार्यक्रम ल्याइने प्रस्तुत नीतिमा उल्लेख छ। 
 
यसैगरी, कृषि पकेट क्षेत्र निर्धारण गरी उत्पादन तथा उत्पादकत्व बढाउन कृषि सामग्री, सीप, पूँजी र प्रविधिको प्रयोगलाई व्यापक बनाइने, बजार क्षेत्रमा प्रांगारिक उत्पादन पाइने पसल सञ्चालन गर्न स्थानीय समुदाय वा सहकारीलाई सहयोग प्रदान गरिने, व्यावसायिक पशुपक्षी तथा माछापालनमा जोड दिइने र आगामी आवमा निजी वा सहकारी क्षेत्रबाट  कम्तीमा २५ हजार लिटर दैनिक दूध संकलन गरी दूधजन्य पदार्थ उत्पादन गर्ने डेरी उद्योग सञ्चालन गर्न सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्ने नीति उपमहानगरपालिकाले लिएको छ। 
 
उपमहानगरपालिकाले सामूहिक कृषि तथा पशुपालनमा जोड दिइने, कृषियोग्य जमीनको खण्डीकरण लाई रोक्ने, साना सिँचाइ, स्यालो ट्युवबेल, डिप बोरिङ र वर्षात्को पानी जम्मा गरेर पोखरी बनाई कम्तीमा यस आवमा थप एक हजार ५०० हेक्टर जमीनलाई पूर्ण सिँचाइयुक्त बनाइने नीति लिएको छ। 

Tata
GBIME
Nepal Life