अनलाइन प्रणालीको कार्यान्वयन पछि मात्रै नागरिक लगानी कोषलाई स्टक डिलरको काम गर्ने अनुमति

बिजमाण्डू
२०७५ असार ८ गते १३:२७ | Jun 22, 2018
अनलाइन प्रणालीको कार्यान्वयन पछि मात्रै नागरिक लगानी कोषलाई स्टक डिलरको काम गर्ने अनुमति
काठमाडौं। नेपाल स्टक एक्सचेन्जले तयार पारेको अनलाइन प्रणालीमा स्टक डिलरको व्यवस्था गरेसँगै नागरिक लगानी कोषले स्टक डिलर सम्बन्धी कार्यविधिको तयारी अघि बढाएको छ। 
 
कोषले तयार गरेको मस्यौदामा शेयर खरिद बिक्री गर्नेदेखि यसका प्रकृयाका बारेमा उल्लेख गरिएको कोषका प्रवक्ता तथा महाप्रबन्धक सुशीलकुमार अर्यालले जानकारी दिए। 'धितोपत्र बोर्डले नीतिगत तहको कार्यविधि बनाउनेछ भने हामीले सञ्चालन कार्यविधि बनाइरहेका छौँ,' उनले भने, 'एक चरणको कार्यविधि बनाइसक्यौँ अब केहि परिमार्जनको लागि थप छलफलक गरिरहेका छौँ।' 
 
लामो समयदेखि नागरिक लगानी कोषलार्इ स्टक डिलरको रुपमा समावेश गर्ने भनिए  पनि नेप्सेको सफ्टवेयरमा व्यवस्था नभएको भन्दै काम अगाडि बढ्न सकेको थिएन। स्टक डिलरको रुपमा काम गर्न भन्दै यसअघि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र नागरिक लगानी कोषको संयुक्त रुपमा प्राविधिक समिति गठन भएको थियो।

Tata
GBIME
Nepal Life

यसै समितिको अध्ययनले स्टक डिलरको काम गर्न सकिने निष्कर्ष निकालेको अर्यालले जानकारि दिए। अध्ययन पश्चात नेपाल स्टक एक्सचेन्जले नागरिक लगानी कोषलार्इ एउटा 'विन्डो' प्रदान गर्न सुझाव दिएको उनले बताए। 
 

यस 'विन्डो'बाट नागरिक लगानी कोष आफैँले शेयर खरिद तथा बिक्री गर्न पाउँछ। सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले ब्रोकरमार्फत शेयर खरिद बिक्री गर्ने व्यवस्था छ। तर कोषले आफ्नै 'विन्डो'मार्फत शेयर खरिद बिक्री गर्ने हुँदा ब्रोकरको आवस्यकता पर्दैन। 
 
आफैँले शेयर खरिद बिक्री गर्ने, होल्ड गर्ने, सप्लाइ दिने जस्ता प्रावधान ज्यादै नै जोखिमयुक्त भएकाले यसको लागि विशिष्ट किसिमको प्राविधिक समिति तयार पारिने प्रवक्ता अर्याल बताए। स्टक डिलरको काम गर्न कार्यविधिमार्फत तीन तहको संरचना प्रस्ताव गरिएको छ। 
 
सबैभन्दा माथिल्लो तहले नीतिगत निर्णय गर्नेछ। यस्तै मध्यम तहले प्राविधिक विश्लेषण र तल्लो तहको संरचनाले कम्पनी छनौट र निर्णय कार्यान्वयनको काम गर्ने अर्यालले जानकारी दिए। 
 
नागरिक लगानी कोषले फाइदा मात्रै हेर्ने भन्दा पनि सम्पूर्ण शेयर बजारको विकासको लागि काम गर्ने अर्यालले बताए। 'शेयर बजारलार्इ नै राम्रो दिशातर्फ डोर्याउन सकियोस्,' उनले भने, 'स्वस्थ कारोबार होस् स्वस्थ बजार मूल्य आओस्। व्यक्तिले पैसा कमाउने हिसाबले सट्टेबाजी गर्छ तर कोषले त्यस्तो गर्दैन।' 
 
अनुमति प्राप्त भएसँगै कोषले सुरुमा न्यूनतम दुर्इअर्ब रुपैयाँबाट काम सुरु गर्ने र पछि 'बास्केट फण्ड' तयार गरि आवस्यक मात्रामा विस्तारै बढाउँदै लैजाने योजना बनाएको अर्यालले जानकारी दिए। 
 
अनुमति पाएसँगै केहि पैसामार्फत ट्रायल गर्ने तयारी गरेको छ। यसको लागि १५ जना जति प्रावधिक जनशक्तिको पनि व्यवस्था गर्ने तयारी गरेको छ। सरकारी निकाय भएकाले कुन कम्पनी किन्ने, कस्ता कम्पनी किन्ने, पोर्टफोलियो कसरी तयार पार्ने सम्बन्धमा योजना बनाएर अघि बढ्ने उनले बताए। 
 
नागरिक लगानी कोषले यसभन्दा अघि नै अनुमतिको माग गरेको भए नेप्सेको सिस्टममा स्टक डिलरको व्यवस्था नभएकाले अनुमति दिन नसिकएको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए।