एनएसीको नयाँ जहाज असार १४ गते काठमाडौंमा ल्यान्डिङ, एक महिनापछि नियमित उडान

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७५ असार ६ गते १७:२३ | Jun 20, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल वायु सेवा निगमको एयरबस ३३०- २०० जहाजले फ्रान्समा अन्तिम परीक्षण उडान गर्ने भएको छ।

यो परीक्षण उडानपछि निगमको जहाज नेपाल ल्याउन बाटो खुल्नेछ।२ सय ७४ सीट भएको यो जहाज असार १४ गते काठमाडौं आइसक्नेछ।‘जहाजमा एनएसीको लोगोसहितको रंगरोगन भइसकेको छ।इन्टेरियरको काम पनि सकिइसकेको छ’निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बिजमाण्डूसँग भने,आज साँझ फाइनल टेष्ट फ्लाइट भएपछि जहाज ल्याउन बाटो खुल्छ।‘

निगमले फ्रान्सको एएआर कम्पनीसँग गत वैशाखमा जहाज ३३०-२०० खरिद गर्ने सम्झौता गरेको थियो। दुईवटा वाइडबडी जहाज खरिदका लागि निगमले २४ अर्ब रुपैयाँ खर्च गर्न लागेको छ।जहाज किन्न नागरिक लगानी कोष र संञ्चय कोषले निगमलार्इ ऋण दिएको छ।

जहाज काठमाडौं आएको एक महिनापछि अन्तर्राष्ट्रिय उडान थाल्नेछ।जहाजले पूरानै गन्तब्यमा उडान भर्नेछ।उनका अनुसार दोहा,बैंकक र बेग्लोरमा उडान गर्नेछ।‘दुर्इदेखि चार महिनासम्म पूरानै डेस्टिनेशनमा नयाँ जहाजले उडान भर्नेछ।अन्तर्राष्ट्रिय अभ्यास अनुसार कुनैपनि नयाँ प्रकारको जहाज ल्याउँदा दुर्इ/चार महिना पूरानै गन्तब्यमै चलाउने प्रचलन छ’कंसाकारले भने,हाम्रो पाइलट र को पाइलट २०औं वर्षदेखि एउटै गन्तब्यमा उडान भर्दै आएका छन्।उनीहरुलार्इ हवार्इ रुट बारे समेत सबै थाहा हुन्छ।आकस्मिक अवतरण गर्नु परेपनि सजिलो हुन्छ।‘

जापान र कोरिया उडान
निगमको नयाँ जहाजले जापान र दक्षिण कोरिया उडान सुरु गर्नेछ।जापान र दक्षिण कोरियामा धेरै नेपालीले काम गर्दै आएका छन्।

जापानमा झण्डै ८० हजार नेपाली छन् भने दक्षिण कोरियामा पनि रोजगार अनुमति प्रणाली अनुसार जाने नेपालीको संख्या उल्लेख्य छ।‘दुर्इदेखि चार महिना उडान गरेपछि हामीले कोरिया र जापान उडान गर्नेछौं’कंसाकारले भने,जापानमा हवार्इ सेवा सम्झौंता भएकाले समेत थप उडानका लागि बाटो खुलेको छ।‘

अघिल्लो साता नेपाल र जापानबीच हवार्इ सेवा सम्झौंता भएको थियो।यो सम्झौंता अनुसार नेपाली जहाजले जापानका विभिन्न शहरमा सीधा उडान गर्न सहमति भएको थियो।सो सहमति अनुसार हानेदा विमानस्थल वाहेक सबै ठाउँमा नेपाली जहाजले उडान गर्न पाउनेछ।सम्झौंता अनुसार नेपाली जहाजले सातामा १४ उडान गर्न पाउनेछ।यूरोपेली युनियनले नेपालको हवाइ आकाशलार्इ कालोसूचीमा राखेकोले यूरोपमा उडान गर्न पाउँदैन्।