पानीजहाज आगलागीमा नेपालका सय कन्टेनर परे, कुन कुन व्यापारिक फर्मका परे अझै पत्ता लागेन

बिजमाण्डू
२०७५ असार १ गते १४:४६ | Jun 15, 2018


                                                                     तस्विर:दि टेलिग्राफ
विराटनगर।दक्षिण भारतको कृष्णापट्टनमबाट कोलकाता बन्दगाह आउँदै गरेको पानी जहाजमा आगलागी हुँदा नेपालतर्फ पैठारी हुने मालसामान राखिएका १ सयभन्दा बढी कन्टेनर डढेका छन् ।

Tata
GBIME
Nepal Life

कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्यालले नेपालतर्फ पैठारी गरिने १ सयभन्दा बढी कन्टेनर डढेको पुष्टि गरे ।जहाजमा कुल ४ सय ६४ कन्टेनर राखिएका थिए ।क्षतिग्रस्त कन्टेनर नेपालका कुनकुन व्यावसायिक प्रतिष्ठानका थिए भन्ने जानकारी अर्यालले पाइसकेका छैनन् । आफूलाई जानकारी आउनेबित्तिकै जानकारी दिने अर्यालले आश्वासन दिए ।

मुरारका अर्गनाइजेसनले आयात गरेका ३५ हजार थान मोबाइल सेट लोड गरिएको कन्टेनर आगलागीबाट पूर्णतः क्षति भएको समाचार यसअघि आइसकेको छ ।कन्टेनरमा नेपाल ल्याइएका धेरैजसो चिनियाँ सामान रहेको अनुमान गरिएको उनले बताए ।कोलकाता बन्दरगाह आउँदै गरेको पानीजहाजमा समुद्री मार्गको बे अफ बङ्गालमा बिहिबार आगो लागेको थियो ।

जहाजमा २२१ मेट्रिक टन फर्निस आयल राखिएको थियो । ठूलो हावाहुरी आएका कारण फर्निस आयलबाटै आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।महावाणिज्यदूत अर्यालले आफू सूचित हुन भारतीय सरकारी अधिकारीको निरन्तर सम्पर्कमा रहेको बताए ।