एभरेष्ट र लक्ष्मी बैंकबीच मर्जर: डिडिए सकियो, स्वाप रेसियो टुङ्गो गर्न टोली नेपाल आउँदै

बिजमाण्डू
२०७५ जेठ २८ गते १३:३३ | Jun 11, 2018
एभरेष्ट र लक्ष्मी बैंकबीच मर्जर: डिडिए सकियो, स्वाप रेसियो टुङ्गो गर्न टोली नेपाल आउँदै


Tata
GBIME
Nepal Life

काठमाडौं। एभरेष्ट बैंक र लक्ष्मी बैंकबीच मर्जरका लागि भएको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) को काम सकिएको छ।

 
अर्नस्ट एण्ड योङ (इएण्डवाइ) अडिट फर्मले डिडिएको काम सकेको हो। मूल्यांकन रिपोर्ट १५ दिनभित्र आउने छ। इएण्डवाइबाट दुई बैंकको मूल्य (स्वाप रेसियो) निकाल्न यसै साता एउटा टोली आउँदैछ। १५ दिनभित्र टोलीले मूल्यांकन दिन्छ।
 
'डिडिए सकेर एउटा टिम फर्किसकेको छ। भाउ टुङ्गो लगाउन अर्को टिम आउँदैछ' डिडिएमा संलग्न एक प्रतिनिधिले भने, 'टोलीले मान्य हुने खालको मूल्यांकन दिएमा मर्जर हुने निश्चित छ। मर्जर हुने/नहुने १५ दिनमा टुङ्गिन्छ।'
 
अहिले एभरेष्टको निक्षेप १ खर्ब ६ अर्ब रुपैयाँ छ। लक्ष्मीको ६३ अर्ब २६ करोड रुपैयाँ थपिँदा निक्षेप पौने दुई खर्ब रुपैयाँ हाराहारी पुग्छ। एभरेष्टको कुल कर्जा ८८ अर्ब १७ करोडमा लक्ष्मीको ५८ अर्ब ६९ करोड थपिँदा निजी क्षेत्रका सबै बैंकभन्दा वढि अर्थात डेढ खर्ब रुपैयाँ नजिक पुग्छ।
 
यसअघि तत्कालिन किष्ट बैंक (अहिलेको प्रभु बैंक) र कुमारी बैंकलाई समेत एभरेष्टले गाभ्ने चर्चा नचलेका होइनन्। त्यस बेला पनि मूल्यमा कुरा नमिलेका कारण मर्ज अगाडि बढ्न नसकेको पुष्टी ती बैंकका अधिकारीहरुले गरेका थिए।
 
किष्ट र कुमारीजस्तै लक्ष्मीसँग चलेको मर्जरको हल्ला यसपाली लक्ष्मीको सन्दर्भमा सत्य होला? 
 
एभरेष्ट बैंक सञ्चालक समितिले मर्जर निर्णयको अख्तियारी साधारणसभाबाट लिइसकेकाले यसपाली मर्जर चर्चामा मात्र सीमित नरहला भन्ने लगानीकर्ताको विश्लेषण छ। लक्ष्मी बैंकको संस्थापक समूहमा मूख्य सेयर स्वामित्व रहेका व्यवसायी राजेन्द्रकुमार खेतानले एभरेष्टसँगको मर्जरको बिषयमा डिडिएका आधारमा मर्जर अगाडि बढाउने/नबढाउने बारे निर्णय हुने बिजमाण्डूसँग बताएका थिए।
 
उनले बिजमाण्डूसँग भनेका थिए- एभरेष्ट बैंकसँग मर्जरका लागि अहिले सबै अवरोधहरु सकिसकेको छ। हामी औपचारिक सम्झौताको पर्खाइमा बसेका छौं। डिडिए सकिएपछि सम्झौताको चरणमा प्रवेश गर्छौं।
 
सम्झौता अगाडि नै डिडिए गर्नुमा शेयर कारोबार रोक्का नहोस् भन्ने दुबैको चाहनाले काम गरेको छ। सम्झौता गर्दा शेयर कारोबार रोक्का हुन्छ। यसले शेयर लगानीकर्तालाई मर्का पर्छ। डिडिए चित्त बुझेन भने मर्जर अगाडि बढ्दैन। त्यसैले पहिले नै डिडिए गर्न लागिएको दुबै बैंक स्रोतको दावी छ।
 
‘डिडिएले जति मूल्य देखाउँछ त्यतिमै मर्ज गर्ने सहमति हो। त्यसमा एक/डेढ प्रतिशतभन्दा तलमाथि नगर्ने भन्ने समझदारी छ’ स्रोतहरुको दावी छ, ‘तैपनि कुरा मिलेन भने भोली मर्जर तोड्नुभन्दा अहिले नै सम्झौता नगर्दा जाति हुन्छ भनेर लिखितमा केही पनि नगरिएको हो।’
 
एभरेष्ट बैंकका अधिकारीहरुले भने लक्ष्मी बैंकसँग मर्जरको बारेमा अहिले नै टिप्पणी गर्नु हतार हुने बताएका छन्।  
 
कस्तो हुन्छ अवस्था?
चैतसम्मको वित्तीय विवरण अनुसार दुबै बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ नाघिसकेको छ। एभरेष्टको पूँजी ८ अर्ब १० करोड रुपैयाँ छ भने लक्ष्मीको ८ अर्ब २२ करोड रुपैयाँ छ। एभरेष्टको जगेडा कोष लक्ष्मीको भन्दा बलियो छ। लक्ष्मीको २ अर्ब १६ करोड रुपैयाँ छ भने एभरेष्टको ५ अर्ब ८५ करोड रुपैयाँ छ।
 
एभरेष्टसँग गाभिँदा लक्ष्मीको पूँजीसँगै व्र्यापार बढेर कमाइमा उल्लेख्य बृद्धि हुन्छ। मर्जरले निजी क्षेत्रबाट स्थापित नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको ब्यापार, सञ्जाल र कमाइलाई उछिन्छ। 
 
'मर्जर सफल भएमा पूँजी र व्यापार बृद्धिले एभरेष्ट बैंकको क्षमता धेरै माथि पुग्छ,' दुबै बैंक स्रोतले भन्यो, 'लक्ष्मीका लगानीकर्ताको कमाइ पनि अहिलेको तुलनामा कम्तिमा डेढ गुणाले बृद्धि हुन्छ।'
 
कुन सर्तमा मर्जर
लक्ष्मी बैंकले एभरेष्ट बैकको १०० रुपैयाँ बराबर आफ्नो ६५ रुपैयाँ हुनु पर्ने माग गरिरहेको स्रोतको दाबी छ। यता एभरेष्ट बैंक भने ३०/३५ रुपैयाँसम्म दिन सकिने अडानमा छ। 
 
‘जसको जे अडान भएपनि डिडिएमा जे आउँछ त्यसमा कुनै मोलमोलाइ नगरी मर्जरमा जाने भन्ने आधारभुत समझदारी भएको छ’ स्रोतहरुको दावी छ, ‘यसो हुँदा डिडिएको प्रतिवेदन आउनुअघि स्वाप रेसियो अनुमान गर्न गाह्रो छ।’
 
'स्वाप रेसियोका बारेमा अडानै त होइन तर डिडिएको प्रतिवेदनपछि मात्र त्यस बारेमा छलफल हुन सक्छ' एभरेष्ट बैंकका ती अधिकारीले भने।