नेपाल चेम्बरमा राजेशकाजी फेरी अध्यक्ष, सबैलाई समेटेर लैजाने प्रतिवद्धता, फुट्नबाट जोगियो

बिजमाण्डू
२०७१ असार २६ गते ००:०० | Jul 10, 2014
नेपाल चेम्बरमा राजेशकाजी फेरी अध्यक्ष, सबैलाई समेटेर लैजाने प्रतिवद्धता, फुट्नबाट जोगियो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नयाँ नेतृत्व चयन गरेको छ । ६० ‍औँ साधारणसभाले राजेश काजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। सर्वसम्मतिबाट ३४ सदस्यीय कार्यसमिति सदस्य चुनिएका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सुरेश कुमार बस्नेत, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा प्रथम उपाध्यक्षमा ज्ञानेन्द्ररत्न तुलाधर द्वितीय उपाध्यक्षमा राजेन्द्र मल्ल छन् ।

यसैगरी नयाँ कार्यसमितिको महासचिवमा कमलेशकुमार अग्रवाल चुनिएका छन् भने चार जना सचिवमा निलकष्ठ चौलागाई देवेन्द्रभक्त श्रेष्ठ सन्तोष कुमार पाण्डे र पर्शुराम दाहाल छन् ।  राजधानीको जमलस्थित चेम्बरको आफ्नै भवनमा बिहीबार आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई निवर्तमान अध्यक्ष बस्नेतले पद तथा दायित्व हस्तान्तरण गरे ।

Tata
GBIME
Nepal Life

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अब सबै व्यापारीहरु मिलेर अगाडि बढ्ने बताए । उनले नेपालमा भएका व्यापारीहरु एक आपसमा नमिलेर आफ्नो अनुकुल संस्था खोल्दै चलनले व्यवसाय नै धराशयी बनेको बताए । उनले भने , ‘हामीले अब सबैसँगै मिलेर एउटा गोल लिएर हाम्रो कुरा सरकारसमक्ष राख्नुपर्छ ।’ श्रेष्ठले आफ्नो कार्यकालमा उद्योग व्यापार र आर्थिक प्रगतिको लागि प्रयास गर्ने वाचा गरे।

यसैगरी निवर्तमान अध्यक्ष बस्नेतले नयाँ कार्यसमितिलाई शुभकामना दै चेम्बर सदस्यहरुले असमझदारीलाई समझदारीमा परिणत गरेकोमा खुशी व्क्त गरे। उनले भने, ‘हामी फुट्नै लागेका थियो तर समझदारी सहमति र सहकार्य र एकता नितान्त आवश्यक छ भनेर फेरि एकजुट भएका छौं ।’

आन्तरिक विवादका कारण चेम्बर १ वर्षदेखि २ खेमामा बाँडिएको थियो । दुवै पक्षबीच सहमति भएसँगै ६० औँ साधारण सभाले निर्विरोध नयाँ कार्यसमिति चयन गर्न सफल भएको थियो। नयाँ कार्यसमिति आएसँगै सुस्ताएको चेम्बरका गतिविधि फेरि सुचारु हुने भएका छन् । 

गएको चैत पहिलो साता साधारणसभा नजिकिँदै गर्दा नयाँ सदस्यता थप्ने/नथप्ने विषयमा चेम्बरमा २ पक्षबीच विवाद सुरु भएको थियो । यो विवाद पदाधिकारीमा मात्र सीमित नरही अदालतसम्म पुगेपछि चेम्बर निष्क्रिय बनेको थियो । चेम्बर निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था हो ।

चेम्बरस्रोतका अनुसार नयाँ सदस्यता नथप्ने, सर्वसम्मत नेतृत्व चयन गर्ने तथा अहिलेकै कार्यसमितिलाई साधारणसभासम्म काम गर्न दिने सहमति भएको थियो । यसै अनुसार ६० औँ साधारणसभासम्म बस्नेतकै कार्यसमितिले काम गर्दै आएको थियो ।

पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई नयाँ अध्यक्ष बनाउने र असार १५ भित्र ६० औं साधारणसभा गर्न सहमति भएअनुसार श्रेष्ठ सहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ, निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत, पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकार र कार्यसमितिका पदाधिकारीले आफूहरूबीच सहमति भएको र अब विवादको तुष बाँकी नरहेको बताए ।
 
नयाँ सदस्यता थप्ने पक्षमा देखिएका निवर्तमान अध्यक्ष बस्नेत र नथप्ने पक्षमा रहेका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, पूर्वअध्यक्ष मालाकारसहितका पदाधिकारीले एउटै मञ्चमा उभिएर अब चेम्बर बलियो भएर जानेमा आशावादी रहेको बताए ।
विशुद्ध व्यवसायिक संस्था भएपनि चेम्बरलाई राजनीतिकरणतर्फ उन्मुख हुँदा संस्थामा समस्या आएको भन्दै बस्नेतले आगामी कार्यकालमा सबैले हातेमालो गर्दै जाने बताए ।
 
सदस्यता प्रदान गर्ने विषयमा विवाद वढेपछि नीजि क्षेत्रको सबैभन्दा पुरानो संस्था चेम्बरको सचिवालय गत चैतमा २२ दिनसम्म बन्द नै गर्नुपरेको थियो । यसअघि दुई तिहाई कार्यसमिति सदस्यहरुले वर्तमान कार्यसमिति भंग भएको घोषणा गर्दै छिटो अर्को निर्वाचन गराईदिन प्रशासन समक्ष माग गरेका थिए ।
चेम्बरमा बहुमत कार्यसमिति सदस्यले अपदस्त गरेका विवादित अध्यक्ष सुरेशकुमार बस्नेत विरुद्धको मोर्चा थप बलियो बन्दै गएको थियो।
बस्नेतले चेम्बरलाई लथालिङ्ग बनाएको आरोप प्रजातान्त्रिक व्यापारिक समूहले लगाएको थियो ।
विधानअनुसार कार्यसमितिको कार्यकाल २ वर्ष मात्रै हुने र सो अवधिमा साधारणसभा सम्पन्न गर्न नसके कार्यसमिति स्वत भंग हुने व्यवस्था छ । दुई वर्षमा मौजुदा कार्यसमितिले साधारणसभा गराउन नसके  प्रशासनिक प्रमुखले ३५ दिनभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था छ ।