तरलताको समस्याले विकास बैंकहरु भन्दा बाणिज्य बैंकहरु धेरै अफ्ठेरोमा परे

बिजमाण्डू
२०७५ जेठ २० गते १३:०३ | Jun 3, 2018
तरलताको समस्याले विकास बैंकहरु भन्दा बाणिज्य बैंकहरु धेरै अफ्ठेरोमा परे

बाणिज्य बैंकहरुमा जुनस्तरको तरलता समस्या देखियो, त्यो विकास बैंकहरुमा खासै देखिएन। दोस्रो त्रैमासपछि अलिअलि तरलता अभाव देखियो, तर बाणिज्य बैंकहरुले महशुस गरेजस्तो विकास बैंकलाई भएन।

Tata
GBIME
Nepal Life

बाणिज्य बैंकहरुले १३ प्रतिशतसम्म ब्याज तिरेर पैसा उठाए। यसअघि महँगो ब्याजमा विकास बैंक र फाइनान्स कम्पनीले महँगोमा पैसा उठाउँथे। यसपाली विकास बैंक र फाइनान्सले महँगोमा पैसा उठाउन गएनन्। हामीलाई जितेर बाणिज्य बैंकहरुले महँगोमा पैसा उठाए।

अन्धाधुन्ध लगानी गर्दा बैंकहरुलाई तत्कालका तत्काल पैसा आवश्यक भएकाले उनीहरुले जतिजतिमा पैसा पाउँछ त्यतित्यति तिरेर पैसा उठाउँदा समस्या आएको हो।
 
विकास बैंकमरुमा बढिमा ७७ प्रतिशत छ कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो)। विकास बैंकहरुसँग संस्थागत निक्षेप न्यून मात्र छ।

त्यो भएको भए हामीलाई पनि गाह्रो हुन्थ्यो होला। यसपालीको समस्या जसरी बाणिज्य बैंकहरुले भोग्नु पर्यो त्यसरी विकास बैंकहरुले भोग्नु नपरेको कारणमध्ये संस्थागत निक्षेप पनि हो।

हामी विकास बैंकहरुबीच छलफल हुँदा कसैलाई समस्या देखिएन। विगतको बर्षहरुभन्दा पनि सहज अवस्था देखियो यसपाली।
 
निक्षेप तानातान पनि भएन यसपाली विकास बैंकमा। बाणिज्य बैंकहरुले बढाएपछि विकास बैंकले पनि सामान्य पुनरावलोकन गरे। तर ठूलो अन्तरमा चलेन। बाणिज्य बैंकको केही ग्राहक विकास बैंकमा आउँछन्। तर विकास बैंकको ग्राहक बाणिज्य बैंकमा जाने कम हुने रहेछ। त्यसले पनि हामीलाई फाइदा गर्यो।
 
सरकारी खाता बाणिज्य बैंकले चलाउँछन्। त्यही भएर उनीहरुको पैसा चाँडो बढ्छ। हामीमा त्यसको असर विस्तारै देखिन्छ। त्यसैगरी अभाव पनि हामीमा कम हुन्छ। 
 
विगतमा ४/५ बर्ष अगाडि विकास बैंक र वाणिज्य बैंकबीच भिन्नता देखाइन्थ्यो। अहिले बाणिज्य बैंकमा समस्या धेरै देखियो। आज लिएको ऋणको ब्याज भोली बढ्न थाल्यो। तर विकास बैंकमा त्यस्तो बढेन। किनभने यतातिर तरलता अभाव खासै भएन। यसले गर्दा विकास बैंकहरु बाणिज्य बैंक भन्दा पनि राम्रा हुन् भन्ने सन्देश प्रवाह भएको छ। विकास बैंकले हत्तपत्त ब्याज बढाउँदा रैनछन् भन्ने सन्देश यसपालीको तरलता अभावले दिएको छ। त्यही भएर विकास बैंकमा पैसा राख्ने पनि बढेका छन्।
 
केही समयदेखि ऋणको ब्याज दर आधार दरमा प्रिमियम थपेर कायम हुन्छ। बैंकहरुले ब्याज बढाएका कारण हामीले पनि ब्याजमा केही पुनरावलोकन गरेका छौं। अलिकति नाफामा पनि राख्नु पर्यो। यसले गर्दा अलिकति ब्याज दर बढेको छ। तर स्प्रेड रेटलाई घटाएका कारण विकास बैंकका ग्राहकले धेरै ब्याज तिर्नु परेको अवस्था भने छैन। स्प्रेड खुम्च्याउँदा विकास बैंकहरुको नाफामा सङ्कुचन आएको छ तर, ब्याज वेस्सरी बढाएका छैनौं।
 
पहिलो त्रैमासमा पनि ऋण धेरै गएन। दोस्रोमा धेरै ऋण गयो। तेस्रो त्रैमासमा ऋण बढाउने टार्गेट थियो, तर बैंकहरुमा तरलता अभाव देखिन थालेपछि हामीले संयमता अपनायौं। टार्गेट राख्दा राख्दै र त्यसलाई भेट्टाउने पैसा हुँदाहुँदै पनि हामीले ऋण धेरै बढाएनौं। सचेतना अपनायौं। नाफा आजको भोली खोजेर हुँदैन संयमित हुनु पर्छ भन्ने नै भयो। त्यही संयमताले विकास बैंकहरुलाई तरलता अभावले खासै छुन सकेन।
 
यसपाली ब्याज बृद्धिमा नौलो खालको प्रबृत्ति देखियो। यसपाली मुद्दतिसँगै बचत खाताको ब्याज पनि ह्वात्तै बढ्यो। पहिले पहिले मुद्दतिको अनुपातमा बचतको ब्याज बृद्धि हुँदैन थियो। मुद्दतिको ब्याज बढायो भने जुन बेला तरलता सहज हुन्छ त्यो बेला पनि पूँजी लागत महँगै हुन्छ। त्यही भएर यसपाली विगतको तुलनामा बचतको ब्याज धेरै बढ्यो।
 
बचतको ब्याज कम हुँदा त्यो पैसा मुद्धतिमा गयो। त्यही भएर बचतमै बढाइएको हो। बचतको ब्याज भोली सहज हुँदा घटाउन सकिन्छ। घटाउँदाखेरी लागत कम हुन्छ बैंकको। बचतको ब्याज बढ्दा निक्षेपकर्तालाई फाइदा पनि भएको छ। तर ऋणीलाई भने गाह्रो भएको छ। समृद्धिको कुरा गरिरहँदा उद्यम गर्नेहरुलाई महँगो ब्याजले अप्ठेरो पारेको छ। यसले गर्दा उद्यमशिलतालाई कमजोर बनाउँछ। सहजै कर्जा जाने अवस्था हुँदैन। पैसा छैन बैंकसँग। ऋण जाँदा पनि ब्याज महँगो हुँदा उनीहरु सर्भाइव नहुन सक्छन्। त्यसैले ऋणको ब्याज धेरै बढ्नु राम्रो होइन। मान्छेहरु पर्ख र हेरको अवस्था छन्। 
 
यसपाली बचतको दर पनि चल्यो मुद्दति निक्षेपको पनि चल्यो। विगतको मुद्दति बर्ष दिनको हुन्थ्यो अहिले ४/५ बर्षकै पनि पुग्यो। यसले पक्कै पनि अप्ठेरो पार्छ। केही बैंकहरुले यस्तो अभ्यास गरे। धेरैले भने यो अभ्यास गरेनन्। लामो अवधिको फन्ड महँगोमा उठाउँदा त्यसले पूँजी लागत कम हुन दिँदैन। आधार दर उच्च नै रहन्छ र बैंकहरुलाई सस्तो ब्याजमा लगानी गर्न गाह्रो हुन्छ। कुनै बेला त फण्ड सस्तो होला। त्यो बेला लगानी बढाउन अवशर बैंकलाई नहुन सक्छ। 
 
अबको ब्याज दर त्रैमासमा जस्तै स्थिर हुन्छ। न घट्छ न बढ्छ। विकास बैंकले जस्तै बाणिज्य बैंकहरुले पनि पछिल्लो समय संयमता अपनाउन थालेका छन्। 
 
तरलता अभावको रुप पनि ठाउँ अनुसार फरक हुने रहेछ। काठमाडौंमा एक खालको टेण्डेन्सी छ। पोखरामा अर्कै वुटवलमा अर्कै। काठमाडौंमा अहिलेको अहिले ब्याज बढ्दा त्यसको असर देखिन्छ निक्षेपमा। पोखरामा तत्कालै छुँदैन। चितवन र बुटबवलमा एउटाले बढाए अर्कोले पनि बढाइहाल्नु पर्छ। ठाउँ अनुसार निक्षेप मुभमेन्ट पनि फरक परेको देखिएको छ। 
 
विकास बैंकहरु अलिक वढि क्षेत्रीय भएर पनि निक्षेपको मुभमेन्ट धेरै नदेखिएको हो। हामीले ५/६ बर्षअघिको तरलता अभावबाट धेरै सिक्यौं। नाफा कमाउने हो तर, नाफा भनेजति कमाउन सकिएन भने बैंकलाई सुरक्षित तवरले अगाडि बढाउने हो। मौका नमिल्दा पनि नाफा खोज्दा बैंकहरु अप्ठेरोमा परे। तर विकास बैंकहरुलाई त्यसले छोएन। विकास बैंकहरुले सेफ साइडमा जाने बाटोलाई रोजे। लगानी विस्तारमा एग्रेसिभ भएनन्। 
 
(थापा, गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्)