रमपम चाउचाउ अमेरिकामा वार्षिक ७५ लाख प्याकेट निकासी, विदेशमा लगानीको वातावरण बनाउन माग

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ जेठ १३ गते २०:५३ | May 27, 2018
विराटनगर । रमपम तयारी चाउचाउका उत्पादक महेश जाजूले नेपालका उद्यमीले विदेशमा लगानी गर्न पाउने ऐन तत्काल ल्याउन माग गरेका छन्।

Tata
GBIME
Nepal Life


 


आफ्नो चाउचाउको माग समुद्रपारका देशमा प्रशस्त भइरहेको उल्लेख गर्दै उनले यसका लागि आफूले कानुनी रूपमा विदेशमा लगानी गर्न पाउनुपर्ने माग गरेका हुन् ।धेरैजसो मुलुकमा भन्सार महसुलको उच्च दर निर्यातका लागि वाधक भएको उनको अनुभव छ । ती देशमा प्रत्यक्ष लगानी लगेर उद्योग खोलेर उत्पादन गर्नु नै उत्तम विकल्प रहेको जाजूको धारणा छ ।
 
‘नजिकको बङ्गलादेशमा हाम्रो चाउचाउको प्रशस्त माग छ’, जाजुले बिजमाण्डूसँग भने, ‘तर तयारी चाउचाउको आयातमा बङ्गलादेशले १ सय ५ प्रतिशत भन्सार महसुल तोकेको छ । सामान्य खाद्य पदार्थलाई कुनै विलासी वस्तुसरह भन्सार महसुल तोकिएको छ । त्यसैले बङ्गलादेश निर्यात हुन गाह्रो भइरहेको छ ।’
 
बङ्गलादेशका व्यवसायी रमपम त्यहाँ आयात गर्न उत्सुक भएको उनले बताए । ‘सरकार बजेट प्रस्तुतिको सङ्घारमा छ’, जाजुले भने, ‘बजेटमा नेपालका उद्यमीले विदेशी भूमिमा लगानी गर्न पाउनु पर्ने कानुन बनाउने नीति आउनु आवश्यक छ ।’नेपालका धेरै व्यवसायी विदेशमा लगानी गर्न सक्षम रहेको उनको दाबी थियो । उनले प्रत्यक्ष वैदेशिक लगानी नेपालमा आउनसक्ने कानुन भएको बताउँदै नेपालका लगानीकर्ता विदेशी भूमि जान पाउने कानुन किन नबनाउने भन्ने प्रश्न गरे ।
 
जाजूले भने, ‘कानुनी रूपमा नेपालका लगानीकर्ता विदेशी भूमिमा लगानी गर्न जान्छन् भने देशका लागि गौरव र प्रतिष्ठाको विषय हो । यसले स्वदेशको गरिमा र महत्त्वलाई नै उच्च बनाउने हो ।’उनले अरुले गरेजस्तो आफ्नो नागरिकता त्यागेर विदेशी भूमीमा लगानी नगर्ने बताए।तयारी चाउचाउको निकासीपैठारीमा साफ्टा सम्झौता प्रभावकारी नहुने हुँदा भन्सार महसुलमा पनि छुट नहुने जाजूले बताए ।
 
तयारी चाउचाउको निर्यातमा सरकारले २–४ प्रतिशतमात्र प्रोत्साहन दिएको र यो अपुग भएको उनको गुनासो छ । यसबाट उत्पादनको ब्रान्डिङ गर्न नसकिने जाजूको भनाइ थियो । उद्योगले निर्यातमा कम्तीमा १५ प्रतिशत प्रोत्साहन पाउनुपर्ने उनले माग गरे । जाजूका अनुसार बङ्गलादेश सरकारले निर्यातमा २० प्रतिशत प्रोत्साहन दिएको छ । निर्यात बढे व्यापार घाटा कम हुने तर्क गर्दै उनले प्रोत्साहनको प्रतिशतमा वृद्धि गर्न माग गरे ।उनले रमपम चाउचाउको निर्यात विगत ४ वर्षदेखि अमेरिकामा वार्षिक ७५ लाख पाकेट भइरहेको जानकारी दिए । यसबाहेक अस्ट्रेलिया, मलेसिया, कतार, दुबई र भारतमा पनि रमपमको आकर्षक बजार रहेको उनले बताए ।