भन्सारमा सन्दर्भ मूल्यसूची कार्यान्वयन: नखाएको विषले पोल्यो भन्दै व्यवसायीको हारगुहार

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ जेठ ११ गते २१:३९ | May 25, 2018
विराटनगर । भन्सार जाँचपास परीक्षण कार्यालय (पिसिए)ले पनि कारोबार मूल्यलाई मान्यता नदिएको र सन्दर्भ मूल्यसूचीका आधारमा व्यवसायीलाई जरिवाना गरिएको भन्दै पूर्वका व्यवसायीले विरोध गरेका छन्।

Tata
GBIME
Nepal Life


परीक्षण कार्यालयको प्रायोजन र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को आयोजनामा भएको अन्तरक्रियाका सहभागीले सन्दर्भ मूल्यसूचीलाई भन्सार प्रक्रियाको सन्दर्भबाटै हटाउन माग गर्दै कारोबार मूल्यलाई मान्यता दिन आग्रह गरे।‘परीक्षण कार्यालयको स्थापना नै कारोबार मूल्यलाई स्थापित गर्न भएको हो’, प्रदेशका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले भने, ‘आयातमुखी व्यापारमा भर परेको हाम्रो देशमा विश्व व्यापार सङ्गठन लगायतका अन्तर्राष्ट्रिय सङ्गठनले निर्दिष्ट गरेका सिद्धान्तलाई लागु गर्न नसक्नु दुखद र दुर्भाग्यपूर्ण छ ।’
 
डब्लुटिओको मर्मले सन्दर्भ मूल्यसूचीलाई मान्यता नदिएको र कारोबार मूल्यलाई स्थापित गर्नुपर्ने सिद्धान्त प्रतिपादन गरेको उल्लेख गर्दै उनले पिसिएले यसको कार्यान्वयन गर्नुपर्ने आग्रह गरे ।महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले पिसिएको सिद्धान्त र उद्देश्य भन्सार विन्दुमा कारोबार मूल्यलाई घोषणा र स्थापित गर्नु रहेको बताए।
 
उनले भने ‘केही समययता देशभरिका भन्सार कार्यालयले कारोबार मूल्यलाई मान्यता नदिएर सन्दर्भ मूल्यसूचीलाई शिरोपर गरेका छन् । परीक्षण कार्यालयले पनि यही बाटो अँगाल्ने हो भने व्यवसायीले कहिल्यै न्याय पाउने छैनन् । व्यापार सहजीकरण हुने छैन । समृद्धिको सपना केवल सपना हुने छ ।’मोटरपार्टस् विक्रेता प्रेम खड्काले परीक्षण कार्यालयले पिसिएका नाममा आफूलाई प्रशस्त दुःख दिएको गुनासो गर्दै आग्रह राखेर परीक्षण हुने गरेको बताए ।
 
‘सन्दर्भ मूल्यसूचीमै भनेअनुसार १८ प्रतिशतकै मूल्याङ्कनमा हामीले एक पटक एउटा सामान छुटायौँ’, उनले भने, ‘तर परीक्षण कार्यालयले ३५ प्रतिशत निर्धारण गर्यो । कार्यालयले भनेजति सबै कागजात हामीले उपलब्ध गरायौँ तर पनि ३५ प्रतिशत छाडेन । पिसिए कार्यालय धेरै धायौँ केही उपाय लागेन । अन्तमा भन्सार विभागमा हारगुहार गरेपछि १८ प्रतिशत नै कायम भयो ।’
 
खड्काले भने, ‘यति गर्दा पनि पिसिएका हाकिमले भन्नुभयो– हामीले तपाईंमाथि अनुसन्धान गरिहाल्यौँ, हाम्रो पनि इज्जत राखिदिनूस् ।जरिवानास्वरूप केही रकम तिरिदिनूस्, हाम्रो इज्जत जोगिन्छ । मैले उहाँको आग्रह नकार्न सकिन ।’ नखाएको विषले पोल्यो । मैले जरिवाना तिरेँ । यस्तो छ परीक्षण कार्यालयको गतिविधि ।’ 
 
‘पिसिएमा हाउगुजी छ, त्यहाँ हामीलाई तर्साइन्छ’, उनले भने, ‘ब्रान्डेड र बहुराष्ट्रिय कम्पनीले पठाएको मालसामानको मूल्याङ्कन पनि आफूखुशी गरिन्छ । विश्वव्यापी एउटा मूल्य हुन्छ भन्सार र पिसिए कार्यालयमा अर्कै हुन्छ । यस्तो अवस्थामा हामी सरकारी निकायको विश्वास कसरी गर्न सक्छौँ ?’
 
महासंघ प्रदेश नम्बर १ समितिका राजस्व समितिका संयोजक देवकीनन्दन अग्रवालले भन्सार विन्दुमा मालवस्तु जाँचपास भइसकेपछि ४ वर्षसम्म पिसिए गर्न पाउने अवधिलाई छोट्याएर २ वर्ष गर्न माग गरे ।परीक्षण कार्यालयका उपसचिव शान्तिराम निरौलाले सन्दर्भ मूल्यलाई आधार मानेर पिसिए नगरिएको दाबी गरे ।
 
‘भन्सार कार्यालयमा कतैबाट निर्देशन आयो होला र सन्दर्भ मूल्यसूची अपनाइयो होला’, उपसचिव निरौलाको जिकिर थियोे, ‘तर हामी त्यसो गर्दैनौँ । भन्सारको समस्या भनेकै घोषणा हो । व्यवसायीहरू तपाई सही घोषणा गरिदिनूस्, हाम्रा तर्फबाट कुनै समस्या छैन ।’विराटनगर भन्सारका अधिकृत फणीन्द्र खतिवडाले केही समययता देशका भन्सारमा वस्तुको मूल्याङ्कनमा एकरूपता कायम गरिएको जानकारी दिए ।
 
उनले भन्सार कार्यालय सुविधा र नियन्त्रणको मध्यमार्गबाट हिँडिरहेको उल्लेख गर्दै पिसिएले मूल्यमा आधारित अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।