१०० दिनमा ९५% काम सकेको पर्यटनमन्त्री रबिन्द्र अधिकारीको दाबी, अब के काम छन् बाँकी

बिजमाण्डू
२०७५ जेठ ११ गते १८:१३ | May 25, 2018

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले १०० दिने कार्य योजना मध्ये अधिकांश पूरा गरेका छन्। ९५ प्रतिशत काम सम्पन्न भएको उनको दाबी छ। बाँकी ५ प्रतिशत काम पनि केही हप्ताभित्रै सकिने उनले दावी गरेका छन्। मन्त्री अधिकारीले आगामी दिनमा चौमासिक रुपमा कार्यविवरण पेश गर्ने पनि बताए।

Tata
GBIME
Nepal Life

मन्त्रालय अन्तर्गत राष्ट्रिय गौरवका आयोजना, भुकम्प प्रभावित प्रमुख सम्पदाको पुनर्निर्माण, हवाई सुरक्षा, पर्यटन पूर्वाधार विकास तथा प्रवर्द्धन तथा नीतिगत तथा कानुनी सुधारकालागि मन्त्री अधिकारीले १०० दिनको कार्ययोजना बनाएका थिए।

मन्त्रालय अन्तर्गतका सबै कर्मचारीलाई धन्यवाद दिँदै उनले भने,' हामीसँग सिमित स्रोत र साधनहरु छन्। भएका स्रोत र साधनलाई प्रयोग गर्ने क्षमता कम छ। बढी निर्माण गरेर प्रयोग गर्ने कुरा त टाढाको कुरा हो। हाम्रा योजनाहरु वस्तुनिष्ठ छैनन्। लागत र  आवश्यक्ता अनुसारको कार्य भइरहेको छैन। कार्यान्ययन र प्राविधीक क्षमता कमजोर छ। चुनौतीहरुको सामना गर्दै मन्त्रालयसँग सम्बन्धित निकाय र कर्मचारीहरुको सहयोगले काम गर्न सकिएको हो।'

प्रति व्यक्ति आय बढाउनु  आफ्नो मूल उद्देश्य रहेको मन्त्री अधिकारीले कार्यक्रममा बताए।  सय दिने कार्ययोजनामा त्रिभुवन विमानस्थल २१ घण्टे संचालन, सेन्ट्रल एसिको र चारैवटा ब्यागेज बेल्टको संचालन. एयरकन्जेसन न्यून गर्नका लागि सम्भावित क्षेत्रीय विमानस्थल (नागी डाँडा)को अध्ययन गरि प्रारम्भीक कार्य सुरु गरिसकेको योजना शाखाका सहसचिव डुन्डुराज घिमिरेले बताए।

घिमिरेका अनुसार राष्ट्रिय गौरवका आयोजना अन्तर्गत निजगढ विमानस्थल निर्माणकालागि वातावरण मूल्याङ्कन स्वीकृति भइसकेको र निर्माता कोरियन कम्पनी एलएमडब्लुसँग दायित्व भुक्तानीका लागि मन्त्रालयले समन्वय गरिरहेको छ। दुई वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक तयारी सकिने मन्त्री अधिकारीले कार्यक्रममा बताए।  

गौतम बुद्ध  अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, टर्मिनल भवन लगायत  निर्माण कार्य ३८ प्रतिशत सम्पन्न भइ मुआब्जा वितरण भइरहेको घिमिरेले बताए।

यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको डिजाइन रिभ्यू गरी सुपरीवेक्षक विज्ञ नियुक्त भइ काम सुरु भइसकेको मन्त्रालयले तयार पारेको विवरणमा उल्लेख छ। तीन वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार गर्नेबारे मन्त्री अधिकारीले कार्यक्रममा बताए।

'बाहिरबाट विज्ञ परामर्शदाता ल्याएर एयरट्राफिक कम गर्ने योजना बनाएका छौँ। अबको तीन महिनामा प्राय अन्तर्राष्ट्रिय उडान रात्रीकालीन समयमा हुनेछ। अब डोमेस्टिक जहाजले काठमाडौंमा मात्रै स्टेशन बनाएर बस्ने अवस्था रहँदैन। उपत्यका बाहिरका विमानस्थलमा जहाज राख्नुपर्ने प्रावधान आइसकेको छ।' मन्त्री अधिकारीले भने।          

पशुपति क्षेत्र  ‘बेगर्स फ्री जोन’ घोषित भएको छ भने दर्शनार्थीको माग अनुसार सूचना प्रविधीको माध्यमबाट ' इ पुजा' गर्ने प्रणाली बनाउने तयारी भइरहेको विवरणमा उल्लेख छ। विवरणका अनुसार पशुपति परिसरमा रहेका भस्मेश्वर सत्तल, बनकाली सत्तल, शंकाराचार्य मन्दिर, १५ शिवालय सत्तल, अमर कान्तेश्वर लगायत छ वटा सम्पदा नसर्माण भइसकेको छ।

लुम्बिनीको बाटो, ब्रिक पेभिङ, सिम्बोलिक पेभिलियन, वाटर सप्लाइ सिस्टम लगायत पूर्वाधार निर्माण कार्य भइरहेकोबारे विवरणमा उल्लेख छ। २५६२औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा तीनहजार मानिस अट्ने अस्थायी सभा हल बनाइएको थियो।

काठमाडौंमा रहेका रानीपोखरी, काष्ठमाण्डप, धरहरा लगायतका सम्पदा पुनर्निर्माण गर्न सुरु गरिएकोबारे कार्यक्रममा बताइएको छ।
पाटनको कृष्ण मन्दिर, हनुमानढोकाको प्रताप मल्लको शालिक, लक्ष्मीनारायण मन्दिर, मणिमण्डप, कागेश्वर सरस्वती र महादेबको मन्दिर पुनर्निर्माण भइसकेको विवरणमा उल्लेख छ।

विवरणका अनुसार स्वयम्भुस्थित अनन्तपुर र किमडोल गुम्बा, चाँगुनारायणको छिन्नमस्ता मन्दिर, महामञ्जुश्री सत्तल, सूर्यविनायक गणेश मन्दिर पुनर्निर्माण भएको सम्पन्न भएको छ भने तलेजु भवानीको मन्दिरको पुनर्निर्माण कार्य अन्तिम चरणमा रहेको छ।

देवघाट, बराह क्षेत्र, नुवाकोट, शालीनदी लगायत क्षेत्रमा लाग्ने मेला सम्वनिधी डकुमेन्ट्री निर्माण गरिसकेको विवरणमा उल्लेख छ। विवरण अनुसार ५९ वटा जनजातिहरुको वार्षिक चाडपर्वको क्यालेण्डर सहितको प्रतिवेदन तयार भएको छ भने कुशवाडिया किसान र राजवंशी जातीको सांस्कृतिक सम्पदाको विवरण तयार भइसकेको छ।

पाल्पाको रानीमहल, इन्द्र भक्तेश्वर सत्तल, सुनसरीको रामधुरी पोखरी, चतराघाटको निर्माण कार्य सम्पन्न भएको कार्यक्रममा बताइएको छ। विवरण अनुसार सर्लाहीको शिव मन्दीर, नवलपरासीको कैलाश आश्रम, दाङको अम्बीकेश्वरी मन्दिर लगायत १४ वटा आयोजना ठेक्का सम्झौता भइ काम अगाडि बढिसकेको छ।

अभिलेखको डिजिटाइजेशन र सुदृढीकरण अन्तर्गत ३१ हजार विविध विषयका हस्तलिखित ग्रन्थहरु ११ हजार पाँच सय ५० हस्त लिखित ग्रन्थको छ लाख ५५ हजार इमेजको क्याटलगिङ अपलोड गर्न सुरु भइसकेको विवरणमा उल्लेख छ। मोरङको मदन भण्डारी संग्राहलय, स्याङ्जाको गुराङ संग्रहालय, सुनसरीको माझी संग्रहालयको निर्माण कार्य सम्पन्न भइसकेको बारे विवरणमा उल्लेख छ।

यसैगरि विभीन्न पर्यटकीय गन्तब्यस्थलको नयाँ पदयात्रामार्ग निर्माणकालागि आगामी बजेटमा प्रस्ताव गरिने बताइएको छ। सातैवटा प्रदेशमा एकएकवटा नमुना पर्यटकीय गन्तब्यस्थल बनाइने पनि विवरणमा उल्लेख छ।

मुक्तिनाथ र स्वर्गद्वारी क्षेत्रको गुरुयोजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। मन्त्री अधिकारीले भने, 'मुक्तिनाथबाट कोरलासम्मको मार्ग ७० प्रतिशत ग्राभेल भइसकेको छ। कन्ट्रयाक्टर राम्रो भएका कारण कतिपय कार्ययोजनाहरु धमाधम सम्पन्न हुँदै गएका छन्।'

सन् २०१० देखि १७ सम्म भएका वायुयान दुर्घटना जाँच प्रतिवेदन सिफारिस कार्यान्वयन सुरु हुने क्रम जारी रहेको छ। ड्रोन उडान अनुमतिलाई सरलीकृत गरी समन्वयात्मक ढंगबाट उडान संचालन गराउन कार्यविधी बनाउन कमिटी गठन भइरहेको विवरणमा उल्लेख छ।

विवरणमा  उल्लेख गरे अनुसार धनगढी बिमानस्थलमा आइएफआर (इन्सट्रेन्ट फलाइट रुल्स) लागू गरी रात्री उडान अवतरण गर्न सकिने र चन्द्रगढी विमानस्थलमा पनि भिजिबिलिटी कम भएको अवस्थामा समेत उडान गर्न सकिने गरी स्तरोन्नती गरिएको छ।   

लामो समयदेखि बन्द रहेका राजबिराज, साँफेबगर, बलेवा, सुरखेत लगायतका विमानस्थल संचालनमा ल्याइएको बताइएको छ।आन्तरिक उडानका लागि नेपाल वायुसेवा निगमको दुईवटा ट्विनअटर, एउटा एमए६०, तीनवटा वाइ१२इ संचालनमा ल्याइएको र पाइलटको पनि व्यवस्था भइसकेको विवरणमा उल्लेख छ।

वाइड बडी कम्प्याटिबल ह्याङ्गर निर्माणकालागि विकल्प सहितको प्रस्ताव संचालक समितिमा पेश गर्ने तयारी भइरहेको कार्यक्रममा जानकारी दिइयो।
एक महिनाभित्र प्रदेश सरकार, स्थानीय निर्वाचित पदाधिकारी, भाषिक अभियन्ता एवं सरोकारवालासँगको समन्वयमा भाषा आयोग गठन गरिने मन्त्री अधिकारीले बताए।

उनले भने –‘कहिलै जहाजै नचल्ने एयरपोर्ट बनाएर उद्घाटन गर्दै ताली बजाइँदैन। हामी जहाज नचल्ने एयरपोर्ट बनाउने पक्षमा छैनौँ। भएका सबै एयरपोर्टमा जहाज चलाउने अभियानमा छौँ।'