५ नम्बर प्रदेशको मोतिपुर औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु

रासस
२०७५ जेठ ११ गते १७:१५ | May 25, 2018

रुपन्देही। प्रदेश नं ५ को बहुप्रतिक्षित मोतिपुर औद्योगिक क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन (इआए) को काम सुरु भएको छ।

Tata
GBIME
Nepal Life


 
डिपिआरको पूरै प्रतिवेदन सार्वजनिक नभएपनि वातावरणीय प्रभाव मूल्यांकनका लागि प्रक्रिया अगाडि बढेको उक्त आयोजनाका फोकल पर्सन तथा बुटवल औद्योगिक क्षेत्रका प्रमुख तुलबहादुर रानाले जानकारी दिए।
 
मोतिपुर औद्योगिक क्षेत्रको ५५० दशमलव ४९ हेक्टर क्षेत्रफलमा शुरु भएको वातावरणीय प्रभाव मूल्यांकनको काम, बुटवल उपमहानगरपालिकाको  १७ र १८ नम्बर वडामा पर्छ। यसअघिको सरकारले सातैवटा प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेअनुरुप यहाँ नयाँ औद्योगिक क्षेत्र बन्न लागेको हो। 
 
एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बनेका बेलामा औद्योगिक क्षेत्रको डिपिआरका लागि बजेट विनियोजन गरेपछि निर्माण कार्यले गति लिएको थियो।
 
स्थानीयवासीको असन्तुष्टिसमेत आएपछि निर्माण कार्य केही सुस्त भएको थियो। मोतिपुर, तिलोत्तमा र शुद्धोधन क्षेत्रमा ८१४ बिगाह क्षेत्रफलमा पहिलो चरणको नापजाँच भएको थियो। सो क्षेत्रभित्र परेका स्थानीयवासीको भोगचलनको जग्गा छुट्याएर औद्योगिक क्षेत्रको डिपिआर बनेको र त्यसमै वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु भएको हो।
 
बुटवल उपमहानगर, तिलोत्तमा नगरपालिका तथा शुद्धोधन र कञ्चन गाउँपालिकाका जनप्रतिनिधि र अगुवालाई तोकेको समयसम्ममा लिखित सुझाव उपलब्ध गराउन आयोजनाले अपिलसमेत गरेको छ। विसं २०३२ सालमा निर्माण भएको बुटवल औद्योगिक क्षेत्रमा जग्गा नपुगेको र अरु नयाँ उद्योगलाई जग्गा अभाव भएको गुनासो आएपछि यहाँ नयाँ र आधुनिकस्तरको औद्योगिक क्षेत्र निर्माणको पहल भएको हो। मोतिपुरको प्रस्तावित औद्योगिक क्षेत्रमा कम्तीमा ५०० उद्योग स्थापना गर्न सकिने छन्।
 
यसका लागि यहाँका निजी क्षेत्रहरु उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संगठनले समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएका छन्। वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ अनुसार वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) तयार पार्न अहिले कानूनी प्रावधान वारे छलफल अगाडि बढेको छ। इआइए अध्ययनको जिम्म पाएको कम्पनी नेपाल इन्भाइरलमेन्ट एण्ड साइन्टिफिक सर्भिसेज प्रालि ‘नेस’ ले गत वैशाख १४ गते नै वातावरणीय प्रभाव मूल्यांकनका लागि क्षेत्र निर्धारण गर्नेबारे सार्वजनिक सूचना जारी गरेको थियो। अहिले फेरि एक साताको समय दिएर परामर्शदाता कम्पनीले सुझाव उपलब्ध गराउन अपिल गरेको छ।
 
परामर्शदाता कम्पनी ‘नेस’ की वातावरण विज्ञ रमिता श्रेष्ठसहितको टोलीले प्रस्तावित क्षेत्रको हालै अवलोकन गरेर स्थानीयवासीको राय सुझाव लिएको छ। मोतिपुर औद्योगिक क्षेत्रको प्रस्तावित स्थानको बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि तथा अगुवालाई भेटेर लिखित सुझावसमेत मागिएको छ। यसका लागि एक साताको समयावधि छुट्याइएको बताउँदै विज्ञ श्रेष्ठले त्यतिञ्जेल स्थानीय अगुवा र जनप्रतिनिधिसँगको भेटघाट जारी राखिने जानकारी दिइन्।
 
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मौतिपुर औद्योगिक क्षेत्र आयोजनाले मोतिपुर र बुटवलको मात्रै नभएर प्रदेशकै मुहार फेर्न सक्नुपर्नेमा जोड दिए। वातावरणीय प्रभाव मूल्यांकन गर्दा त्यहाँको जैविक, भौतिक र सामाजिक पक्षलाई आधार मानेर मूल्यांकन गर्ने बताइएको छ ।  वातावरण विज्ञ श्रेष्ठले स्थानीय क्षेत्रको भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक प्रणालीमा पर्न सक्ने प्रभावबारे अध्ययन शुरु गरिएको बताइन्।
 
नेपाल इन्भाइरलमेन्ट एण्ड साइन्टिफिक सर्भिसेज प्रालि (नेस) नामक परामर्शदाताको अगुवाइमा बिडिए नेपाल र एडिएमसिजेभी जितजंगमार्ग र थापाथली काठमाडौँले संयुक्त रुपमा वातावरणीय प्रभाव मूल्यांकनका काम सुरु गरेका हुन्।