नेपाल बैंकले प्रस्ताव गर्यो एफपिओ मूल्य, १८० प्रिमियमसहित २८० रुपैयाँ, सरकार खुम्चियो

बिजमाण्डू
२०७५ जेठ ११ गते १४:१९ | May 25, 2018
नेपाल बैंकले प्रस्ताव गर्यो एफपिओ मूल्य, १८० प्रिमियमसहित २८० रुपैयाँ, सरकार खुम्चियो
काठमाडौं। नेपाल बैंक लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको शेयरमा १८० रुपैयाँ प्रमियम थपेर एफपिओ निस्कासन गर्ने भएको छ। सर्बसाधारणले एक कित्ता शेयरका लागि २८० रुपैयाँ खर्चिनु पर्छ। बैंक संचालक समितिले प्रस्ताव गरेको प्रिमियम मूल्य धितोपत्र बोर्डबाट स्वीकृत हुन बाँकी छ। 


 
नेपाल बैंकले निष्काशन गर्न लागेको एफपिओको बिक्री प्रवन्धकको जिम्मा सिद्धार्थ क्यापिटलले पाइसकेको छ। साधारणसभाबाट एक करोड ७६ लाख कित्ता एफपिओ निष्काशन गर्ने अनुमति पाएसँगै बैंकले प्रकृया अगाडि बढाएको हो। 
 
बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेकोमा नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व रहेको छ।
 
अहिले बजारमा बैंकको शेयर प्रति कत्ता ३३६ रुपैयाँमा खरीद बिक्री भइरहेको छ। अहिले बैंकमा सरकारको ६२ प्रतिशत र बाँकीको ३८ प्रतिशत शेयर हिस्सा छ।
 
एफपिओ निस्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२ बाट घटेर ५१ प्रतिशतमा आउने छ। ३८ प्रतिशत हिस्सा बोकेर बसेकाहरुको स्वामित्व ३१ प्रतिशतमा झर्ने छ। एफपिओपछि भित्रिने नयाँ लगानीकर्ताको हिस्सा १७ प्रतिशत हुने छ।
 
एफपिओ निस्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ। प्रिमियममा आएको रकम जगेडा कोषमा बस्ने छ।

Tata
GBIME
Nepal Life