असारदेखि राजबिराजबाट प्लेन उड्दै, मन्त्रीले भने- प्यासेन्जर होस् नहोस् नियमित उडाउनु

बिजमाण्डू
२०७५ जेठ १० गते १६:५८ | May 24, 2018

काठमाडौं। राजविराज विमानस्थल बिहीबारदेखि  जहाज उडानका लागि खुला गरिएको छ। विमानस्थलको  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरे। कार्यक्रममा पूर्व पर्यटन मन्त्री जितेन्द्र नारायण देब, पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादव लगायत पनि उपस्थित थिए।   

Tata
GBIME
Nepal Life

उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रीले भने,'राजविराज एयरपोर्ट असारदेखि नियमित चल्नेछ। हामीले श्री एयरलाइन्ससँग पेसेन्जर होस् नहोस् दैनिक एउटा फ्लाइट गर्न सम्झौता गरेका छौँ। चार पाँच महिनापछि उडानकालागि यात्रुको कमी हुनेछैन।'

राजविराजमा पनि जहाज पार्किङको व्यवस्था  राखिनेछ- उनले भने। छ महिनाभित्र रिफ्युलीङ फ्यासिलीटीको व्यवस्थाका लागि नेपाल आयल निगमसँग छलफल प्रकृया सुरु भइसकेको छ। हवाईमार्गबाट राजविराज काठमाडौंबाट नजिकको गन्तब्य भएको कारण यहाँ छिटै कार्गो हब बनाउछौँ।

श्री एयरलाइन्सले असार १ गतेभित्र नियमित उडान भर्ने कम्पनीका महाप्रवन्धक सुधीर मीत्तलले जानकारी दिए।पचास सिट क्षमता रहेको जेट इन्जिनयुक्त सिआर २०० जहाजले काठमाडौंदेखि राजविराज उडान भर्ने छ।  राजविराज विमानस्थलबाट पशुपति दर्शन तथा काठमाडौं जाने स्वदेशी तथा भारतीय तिर्थयात्रुलाई समेत सहज हुने बताइएको छ।  

एयरलाइन्सले बुधबार तीन बजे बिराटनगर देखि राजविराज र पुन राजविराज देखि विराटनगरसम्मको उडान परिक्षण गरेको थियो।प्राधिकरणका अनुसार केही दिनमै तालिका बनाइसकेपछि भाडादर कायम गरिनेछ। राजबिराज उडानका लागि बुद्ध एयरले पनि इच्छा देखाएको छ।

तीस करोड तीस लाख रुपैयाँको लागतमा राजविराज विमानस्थल तयार पारिएको प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले जानकारी दिए । प्राधिकरणका अनुसार विमानस्थलको टर्मिनल भवन र टावर निर्माण आउँदो आर्थिक वर्षको बजेट निर्धारण भएपछि  गरिने छ।

विमानस्थलमा सिआरजे ८०० मोडलसम्मका जहाज संचालन गर्न सकिने प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार फ्लाइट सेड्युल तयार भएपछि स्थायी एयर ट्राफिक सर्भिस र प्रशासनका कर्मचारी राखिनेछ ।

राजबिराज विमानस्थल तत्कालिन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा शिलान्यास गरेका थिए। यस अघि विमानस्थलमा आक्कलझुक्कल १९ सिटे ट्विनअटर जहाजले उडान भर्ने गरेको थियो।