राष्ट्र बैंकले ‘निरुत्साहित’ गरेका चार वटा ऋणको बृद्धि दर खस्कियो, ‘अटो लोन’ ७.१% ले बढ्यो

बिजमाण्डू
२०७५ जेठ १० गते १५:२१ | May 24, 2018
काठमाडौं। ऋण लगानी गर्ने पैसा अभाव र उच्च ब्याज दरका कारण ओभरड्राफ्ट, रियलस्टेटजस्ता ऋण निरुत्साहित हुँदै गएको देखिएको छ। राष्ट्र बैंकले बिहीबार चालु बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै यस्ता कर्जाको बृद्धि दर सामान्य घटेको जनाएको छ।
 
गत असारमा १८.१ प्रतिशतले बढेको ओभरड्राफ्ट चैतसम्म आउँदा घटेर बृद्धि दर १७.७ प्रतिशतमा कायम भएको छ। चैतसम्म ४ खर्ब ९ अर्ब ३० करोड रुपैयाँ ओभरड्राफ्ट कर्जा गएको छ। यो बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसमेतको तथ्यांक हो।
 
घरजग्गा कर्जा पनि १४.८ प्रतिशतको तुलनामा १४.४ प्रतिशतको बृद्धि देखिएको छ। चैतसम्म तीन खर्ब ३२ अर्ब ९० करोड रुपैयाँ यस्तो ऋण प्रवाह भएको छ। 
 
गाडी कर्जा पनि साढे सात प्रतिशतको तुलनामा ७.१ प्रतिशतले मात्र बृद्धि भएको छ। अहिलेसम्म एक खर्ब ६४ अर्ब २० करोड रुपैयाँ ऋण गएको छ। शेयर धितो कर्जा पनि २ प्रतिशतको तुलनामा १.८ प्रतिशत मात्र बृद्धि कायम भएको छ। कुल ४२ अर्ब ३० करोड लगानी भएको छ। 

Tata
GBIME
Nepal Life