कर्मचारीलाई अर्थमन्त्रीको जवाफ: म पनि कर्मचारी नै हुँ, मर्का बुझ्छु, तलब बढ्छ भन्न सक्दिनँ

बिजमाण्डू
२०७५ जेठ ९ गते १९:०६ | May 23, 2018
कर्मचारीलाई अर्थमन्त्रीको जवाफ: म पनि कर्मचारी नै हुँ, मर्का बुझ्छु, तलब बढ्छ भन्न सक्दिनँ
काठमाडौं। निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनले मुख्यसचिवको तलब मासिक डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ हुनुपर्ने माग गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडासँगको भेटमा ट्रेड युनियनले कर्मचारीको तलब वृद्धिको माग गरेको हो। 
 
कार्यालय सहयोगीको भन्दा मुख्य सचिवको तलब पाँच गुणा माथि हुने गरी युनियनले तलब वृद्धिको प्रस्ताव गरेको छ। अर्थमन्त्री खतिवडालाई १८ बुँदे ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियनले कर्मचारीको भारी तलब वृद्धिको माग गरेको हो। 

Tata
GBIME
Nepal Life


 

अहिले कार्यालय सहयोगीको तलब करिब २० हजार र मुख्य सचिवको मासिक ६० हजार रुपैयाँको हाराहारीमा छ। उनीहरुले त्यसलाई वृद्धि गर्न माग गरेका हुन्। 
 
आधिकारिक ट्रेड युनियनले सरकारले वार्षिक सात हजार रुपैयाँका दरले उपलब्ध गराउँदै आएको पोशाक भत्ता १५ हजार रुपैयाँ पुर्‍याउन पनि माग गरेको छ। कर्मचारी युनियनले निजामती कर्मचारीलाई वर्षको अन्त्यमा १५ दिन आन्तरिक पर्यटन काजको व्यवस्था मिलाउन पनि माग गरेको छ।
 
आउँदो आर्थिक वर्षको बजेटको तयारीमा सरकार रहेकाले आफूहरुले आफ्ना मागबारे अर्थमन्त्रीलाई जानकारी गराएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले बताए। 'हामीले मौद्रिक र गैर मौद्रिक मागहरु प्रस्तुत गरेका छौँ,' उनले भने। 
 
जवाफमा अर्थमन्त्री खतिवडाले कर्मचारीको मागप्रति आफू सकारात्मक रहेको बताएका छन्। उनले आफू पनि कर्मचारीकै पृष्ठभूमिबाट आएको र कर्मचारीका समस्या थाहा भएकाले सकेसम्म हल गर्ने बचन दिएका छन्। 
 
'मेरो पनि तपाईंहरुकै जस्तो पृष्ठभूमि हो, समस्या बुझेको छु। सकेसम्म हल गर्ने प्रयास गर्नछौँ,' अर्थमन्त्रीको भनाई उधृत गर्दै उनका स्वकीय सचिव तुलसी मैनालीले भने, 'अहिलेको परिस्थिती पनि तपाईंहरुलाई थाहै छ। यस्तै हुन्छ भनेर मैले भन्न सक्ने अवस्था छैन। यो बुझिदिनुस्।'

खतिवडाले अहिले सरकारी ढुकुटीको अवस्था कमजोर रहेको भन्दै घुमाउरो भाषामा तलब बढाउन नसकिने जवाफ दिएका छन्। उनले 'ट्रेजरी पोजिसन' हेरेर आफूले निर्णय लिने जवाफ कर्मचारीलाई दिएका छन्।