रेनल्ट र सुजुकीको नयाँ मोडल नेपालमा सार्वजनिक हुँदै, रेनल्टले ५ हजारमै प्रि-बुकिङ थाल्यो

बिजमाण्डू
२०७५ जेठ ८ गते १५:११ | May 22, 2018
रेनल्ट र सुजुकीको नयाँ मोडल नेपालमा सार्वजनिक हुँदै, रेनल्टले ५ हजारमै प्रि-बुकिङ थाल्यो

काठमाडौं। नेपाली अटो बजारमा यसै महिना दुई नयाँ गाडीका मोडल सार्वजनिक हुने भएका छन्।  रेनल्टको अधिकृत विक्रेता एड्भान्स अटो मोवाइल्स र सिजी मोटोकर्पले नयाँ गाडी भित्र्याउन लागेका हुन्।  

Tata
GBIME
Nepal Life

एड्भान्स अटोमोवाइल्सले रेनल्ट क्याप्चर ल्याउन लागेको कम्पनीका बजार प्रवन्धक सन्दीप क्षेत्रीले बताए। उनका अनुसार 'क्याप्चर' का पेट्रोल र डिजल भर्सन लगायत दुवै सिरिजका गाडी ल्याउन लागिएको छ। क्षेत्रीका अनुसार गाडीको प्रि-बुकिङ खुलिसकेको छ।

हालसम्म १५ वटा 'क्याप्चर' बुकिङ भइसकेको पनि उनले जानकारी दिए। कम्पनीका अनुसार प्रि बुकिङका लागि ग्राहकले पाँच हजार रुपैयाँ तिर्नुपर्छ।   
क्षेत्रीका अनुसार क्याप्चरको बजार मूल्य ४५ लाख देखि ६५ लाखसम्म पर्ने छ। 'क्याप्चर' हुण्डाइको क्रेटा, सुजुकीको भिटारा ब्रिजा लगायतका गाडीसँग प्रतिस्पर्धा गर्ने गरी क्याप्चरलाई बजारमा ल्याइएको कम्पनीले बताएको छ।

यस्तो छ क्याप्चर

१५ सय सीसीको क्याप्चर पेट्रोल र डिजल भेरियन्टमा रहेको छ। यो गाडीले प्रतिलिटर १३.८७ किलोमीटर माइलेज दिने कम्पनीले दावी गरेको छ। म्यानुअल ट्रान्समिसनयुक्त गाडीमा पाँचवटा स्पिड गियर रहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार क्यापचरमा ५० लिटरको फ्युल ट्याङ्क रहेको छ। ह्विल क्याप सहितको स्टिल ह्विल जडित गाडीको ग्राउण्ड क्लियरेन्स २१० एमएम रहेको छ। कम्पनीका अनुसार गाडीमा सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, पावर डोर लक, रियर वाइपर लगायतका सुविधा छन्।

गाडीमा सिटबेल्ट वार्निङ, लो फ्युल वार्निङ, डोर ओपन वार्निङ लगायतका सिस्टम छन् जसले गर्दा चालकले अगाडि नै सजिलै सावधानी अपनाउन सक्नेछन्।

कम्पनीका  अनुसार गाडीमा ग्राहकले म्युजिक सिस्टम, सीडी/डिभीडी प्लेयर, रेडियो, ब्लुटुथ कनेक्सन लगायतका सुविधा लिन सक्नेछन्। गाडीमा सुरक्षाको लागि एयरब्याग जडान गरिएको कम्पनीले बताएको छ।   

यसैगरी सिजी मोटोकर्पले स्विफ्ट को 'स्विफ्ट थर्ड जेनेरेसन' ल्याउन लागेको बजार प्रवन्धक करुण शाक्यले जानकारी दिए। स्विफ्ट थर्ड जेनेरेसनकालागि पाँच दिन अघि देखि  बुकिङ सुरु भएको बताइएको छ। ग्राहकले २५ हजार रुपैयाँमा प्रि-बुकिङ गर्न सक्ने उनले जानकारी दिए।  अहिलेसम्म एकसय ५० जनाभन्दा बढीले 'स्विफ्ट थर्ड जेनरेशन' बुकिङ गरेको शाक्यले बताए।

हुण्डाइको ग्रयाण्ड आइ १० र फोर्डको फ्री स्टाइलसँग प्रतिस्पर्धाकालागि स्विफ्ट थर्ड जेनेरेशन ल्याउन लागिएको उनले बिजमाण्डूसँग भने।

यस्तो छ सुजुकीको स्विफ्ट जेनेरेशन

अटोमेटेड म्यानुअल ट्रान्समिसन युक्त थर्ड जेनरेशन १.२ लिटर प्ट्रोल र १.३ लिटर डिजल भेरियन्टमा रहेको कम्पनीले बताएको छ। गाडीमा पाँच वटा गियरबक्स रहेको छ। कम्पनीका अनुसार गाडीमा  प्रोजेक्टर हेड ल्याम्प र डे टाइ म रनिङ एलइडी बत्ति जडान गरिएको छ।

गाडीको भित्री भाग पुनः आकर्षक ढंगले डिजाइन गरिएको कम्पनीले बताएको छ। सात इन्चको टचस्क्रिनयुक्त इन्फोटेनमेन्ट सिस्टममार्फत चालकले कार प्ले, एण्ड्रोइड अटो र  मिरर लिंक प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ।

थर्ड जेनमा इन्स्ट्रुमेन्टल प्यानल, स्टेरिङ व्हिल, डोर र ड्यासबोर्ड जडान गरिएको कम्पनीले बताएको छ। कम्पनीका अनुसार गाडीमा इन्जिन स्टार्ट/स्टप बटन, रिभर्स पार्किङ क्यामरा र अटोमेटिक क्लाइमेट कन्ट्रोलको सुविधा रहेको छ।