एडीबी हेडक्वाटरका एक नेपाली अर्थशास्त्री, आफूले जानेका कुरा नेपालमा प्रयोग गर्न चाहन्छन्

बिजमाण्डू
२०७५ जेठ ७ गते ०९:२६ | May 21, 2018
एडीबी हेडक्वाटरका एक नेपाली अर्थशास्त्री, आफूले जानेका कुरा नेपालमा प्रयोग गर्न चाहन्छन्


काठमाडौं। एसियाली विकास बैंक (एडीबी) को हेडक्वाटर मनिलाको छैठौ फ्लोरमा आर्थिक अध्ययन तथा क्षेत्रीय सहयोग विभाग छ। त्यो विभागमा अर्थशास्त्रीको रुपमा कार्यरत छन् डा. समीर खतिवडा। 

'नेपालमा जन्मिएर हामीले केही कुरा दिन सकेनौँ भने त्यसको अर्थ रहँदैन। यहाँ नाम र कमार्इ दुबै छ। तर आफूले जानेका कुरा मुलुकलार्इ दिएर केही भएपनि सहयोग पुर्याउन सकियो भने त्यो नाम र कमार्इभन्दा बढी सन्तुष्टी मिल्छ'
८ महिनाअघि खतिवडा एडीबीमा अर्थशास्त्रीको रुपमा छिरेका हुन्। एडीबी छिर्ने वित्तिकै उनको काँधमा रिसर्चको जिम्मेवारी आयो । उनले को-अर्थर भएर प्रविधि तथा रोजगार सम्वन्धि गरेको अध्ययन सार्वजनिक समेत भइसकेको छ। एडीबीको ५१औं वार्षिक साधारणसभामा समेत उनको अध्ययनका बारेमा ठूलै बहस भएको थियो। 
खतिवडाले नेपालको भानुभक्त स्कुलबाट एसएलसी दिए हुन्। पढार्इमा अब्बल रहेका खतिवडाले बुढानिलकण्ठबाट ए लेभल गरे। त्यसपछि डेढ वर्षजति काठमाण्डू पोष्टमा पत्रकारिता गरे। 
 
खतिवडा त्यसपछि अध्ययनका लागि अमेरिका गए। उनले ब्याचलर राजनीतिक शास्त्र, अर्थशास्त्र र गणितमा गरे। अर्थशास्त्रमा एक वर्षे मास्टर्स समेत गरे। उनले स्नातकोत्तर पब्लिक पोलिसीमा जोन अफ केनेडी स्कुल अफ गभर्मेन्ट हार्वडबाट गरेका छन्। यही कलेजबाट राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले समेत अध्ययन गरेका हुन्।
 
पढाइलाई निरन्तरता दिएका उनले त्यसपछि इन्टरनेशनल इकोनोमिक्समा ग्र्याजुएट इन्स्टिच्युट अफ इन्टरनेशनल एण्ड डेभलपमेन्ट स्टडिज जेनेभाबाट पिएचडी गरे। पब्लिक पोलिसीमा स्नातकोत्तर गर्ने वित्तिकै खतिवडाले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) मा जागीर पाए। 
 
सन् २००८ को आर्थिक मन्दीका समयमा उनले जागिर सुरु गरेका थिए। त्यही बेलामा खतिवडाले पिएचडी गरे हुन्, मौद्रिक नीतिमा। उनले अमेरिकाको क्वान्टिटेटिभ इजिङले इमर्जिक मार्केटमा पारेको प्रभाव सम्वन्धि विषयमा पिएचडी गरेका हुन्। 
 
पिएचडीपछि उनको पोर्टफोलियो फेरियो।
 
उनी अर्थशास्त्रीको रुपमा बैंककको क्षेत्रीय कार्यालयमा सरुवा भए। आइएलओको  क्षेत्रीय कार्यालयमा उनको काम थियो इन्डोनेशिया, फिलिपिन्स लगायतका मुलुकका श्रम मन्त्रालयमा रोजगारी बढाउने नीतिगत कार्यक्रमका बारेमा सुझाब दिने। 
 
उनका लागि यो कार्यक्रम करियर अपग्रेडका लागि सहयोगी माध्यम बन्यो। एक वर्षअघि फिलिपिन्सको मनिलामा एउटा कार्यक्रममा सहभागी हुँदा एडीबीका अधिकारीहरु खतिवडाको प्रिजेन्टेशनबाट प्रभावित भए। उनीहरुले एडीबीमै अर्थशास्त्रीको रुपमा आवेदन दिन आग्रह गरे। आइएलओ हुँदै अहिले उनी एडीबीको हेडक्वाटरमा अर्थशास्त्रीको रुपमा कार्यरत छन्।  
….
अहिले उनी विश्वका चुनिन्दा युनिभर्सिटीमा अध्ययन गरेका अर्थशास्त्रीसँग प्रतिस्पर्धा गरिरहेका छन्। प्रतिस्पर्धामा खतिवडा पश्चिमा देशमा पढेकासँग खरो रुपमा उत्रिरहेका छन्। अल्पविकसित मुलुकबाट एडीबीको मूख्यालयमा अर्थशास्त्रीको रुपमा प्रतिस्पर्धा गर्दा खासै चुनौती भोगेका छैनन्। तर केही यूरोपेली मुलुकका उच्च तहमै पुगेका व्यक्तिले हेप्न भने नखोजेका होइनन्।
 
'आइएलओ यूरोपियन वेस्ड अर्गनाइजेशन हो। सुरुवातमा नेपाली भनेपछि अलिकति हेप्ने गरे। कतार, दोहा र मलेसियाका नेपालीले काम गरेको देख्ने र हाम्रै देशमा घुमेर आएपछि गरीब भनेर हेप्न खोजे' उनले भने, तर मेरो अध्ययनका कारण त्यसरी हेप्नेलार्इ मैले सहज रुपमा व्यवस्थापन गर्न सकेँ।'
 
उनले शिक्षा राम्रो भएमा सबै किसिमका भेदभाव अन्त्य गर्न सकिने बताउँदै गुणस्तरीय शिक्षातर्फ ध्यान दिनुपर्ने बताए। 'मेरो बुबाआमाले मलार्इ राम्रोसँग पढाउनुभएकोले म अहिले यो अवस्थामा आइपुगेको छु। म पनि दुर्गम भेगकै मान्छे हो। तर शिक्षा राम्रो हुँदा विश्वका अन्य नागरिकसँग प्रतिस्पर्धा गरेर यहाँसम्म आइपुगेको छु' खतिवडाले भने, ‘गुणस्तरीय शिक्षा हुन सक्यो भने सबै किसिमको भेदभाव अन्त्य हुनसक्छ।' 
 
अल्पविकसित मुलुकबाट अन्तर्राष्ट्रिय फोरममा उभिँदा वेफाइदा भन्दा फाइदा नै बढी हुने गरेको उनले बताए। 'निश्चय पनि गरीब हुनु राम्रो होइन। हामी र हाम्रो मुलुक राम्रो दिशातर्फ जाँदैछ। तर वेस्टर्न कन्ट्रीबाट आएकाहरुलार्इ अल्पविकसित मुलुकको प्रस्पेक्टिभ ज्ञान हुँदैन' उनले भने, तर हामीलार्इ त्यसको फाइदा हुन्छ र त्यसले मलार्इ फाइदा नै भएको छ।'
….
खतिवडाले झण्डै १५ वर्षभन्दा बढी विदेशमै विताइसकेका छन्। उनले आइएलओदेखि एडीबीसम्म काम गरिसकेका छन्। 
 
अब उनको गन्तब्य कहाँ हो?'
 
मलार्इ विदेश बसाइ पुगिसकेको छ। विदेशमा बसेर राम्रो आम्दानी गर्नु आफ्नो ठाउँमा छ, तर अब आफूले जानेको कुरा आफ्नै देशमा प्रयोग गर्ने सोचमा उनी छन्। भन्छन्- नेपालमा अवसर आउँदा म आउँछु भनेर मैले अर्थमन्त्री डा.युवराज खतिवडाज्यूसँग पनि भनिसकेको छु। 
 
उनले मनिला हेडक्वाटरमा नेपालका तर्फबाट गएका अर्थमन्त्री डा. खतिवडासँग नेपाल फर्किने सोचाइ सार्वजनिक गरेका हुन्।
 
‘मैले आफ्ना कुरा साथीभार्इलार्इ सुनाउँदा नेपाल गएर के गर्छस, यहीँ बस् पनि भन्छन्। तर अब आफ्नै देश गएर काम गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने, ‘मैले त्यही भएर नेपाली पासपोर्ट कहिले पनि त्यागिन्।' 
 
उनले विदेशमा नयाँ कुरा जान्नका लागि बसे पनि त्यहाँ सिकेपछि आफूले जानेका कुरा मुलुकलार्इ दिनुपर्ने बताउँछन्। 'नेपालमा जन्मिएर हामीले केही कुरा दिन सकेनौँ भने त्यसको अर्थ रहँदैन। यहाँ नाम र कमार्इ दुबै छ। तर आफूले जानेका कुरा मुलुकलार्इ दिएर केही भएपनि सहयोग पुर्याउन सकियो भने त्यो नाम र कमार्इभन्दा बढी सन्तुष्टी मिल्छ' खतिवडाले कुराकानीलार्इ विट मार्दै भने।

Tata
GBIME
Nepal Life