दैनिक ६००० टन सिमेन्ट बनाउने होङसी शिवमले व्यावसायिक उत्पादन थाल्यो, होङसी ब्राण्डमा सिमेन्ट

बिजमाण्डू
२०७५ जेठ ६ गते १०:२७ | May 20, 2018

काठमाडौं।नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी शिवम सिमेन्टको शुक्रबारदेखि व्यावसायिक उत्पादन थालेको छ।

Tata
GBIME
Nepal Life

नेपालको शिवम् सिमेन्ट र चीनको होङसी सिमेन्ट कम्पनीको संयुक्त लगानीमा स्थापना भएको उद्योगको शुक्रबार चिनियाँ र नेपाली लगानीकर्ताले व्यावसायिक उत्पादनको औपचारिक  उद्घाटन गरे।उद्योगबाट पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुनेछ। पूर्ण क्षमता १२ हजार टन हो। उत्पादनको नाम ‘होङसी’ हुने छ।
 
अहिलेसम्म नेपालमा सबैभन्दा बढी तीन हजार टन सिमेन्ट उत्पादन हुँदै आएको छ। अर्घाखाँची सिमेन्टले तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ। ‘उद्योगको शुक्रबार औपचारिक उद्घाटन भएको छ। नेपाल गुणस्तर चिन्ह पाएपछि बिक्री सुरु हुनेछ, होङसी शिवम सिमेन्टका संचालक सतिश मोरले बिजमाण्डूसँग भने। गुणस्तर तथा नापतौल विभागले केही दिनभित्रै नेपाल गुणस्तर दिँदैछ।विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले दुर्इ पटक उद्योगमा पुगेर सिमेन्टको गुणस्तर हेरिसकेको बताउँदै केही दिनभित्रै गुणस्तर चिन्ह दिने बताए।

नवलपरासीको वेनिमनिपुरमा उद्योग स्थापनाका क्रममा दैनिक ६ सय कामदारले अहोरात्र काम गरिरहेका कारण तोकिएको समयमा उद्योगको पूर्वाधार बन्यो। साढे तीन सय चिनियाँ र २ सय ५० जना नेपाली कामदारहरु निरन्तर खटेकै कारण तीन वर्षमा उद्योगको पूर्वाधार तयार भएको हो।
 
उद्योग निर्माण सुरु भएपछि  कामदारले २४सै घण्टा काम गरिरहेका छन्। चिनियाँहरुले सरकारी प्रकृया ढिलो हुँदा पनि काम नरोकी अहोरात्र खटेका थिए। प्रारम्भिक वातावरणीय मूल्यांकन लगायतका प्रकृया अड्किए पनि निर्माणको काम उनीहरुले नरोकेले तोकिएकै मितिमा उत्पादन सुरु हुन लागेको हो।
 
उद्योगको पाल्पामा क्लिङकर खानी किनेको छ। तर अहिले उद्योगमा आवश्यक चुनढुंगा भने शिवमबाट ल्याएको छ। खानीसम्म बाटो नपुगेकोले अन्यत्रबाट चुनढुंगा लिएको हो। दुई सय बिगाहा क्षेत्रफलमा फैलिएको होङशी शिवम सिमेन्ट उद्योगमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी छ।
 
उद्योगबाट ओपिसी सिमेन्ट नौलाख २० हजार टन र पिपिसी सिमेन्ट १३ लाख ८० हजार टन उत्पादन हुनेछ। उद्योगमा एक हजार ५० जनाले रोजगारी पाउनेछन्। उद्योगका लागि ५० मेगावाट विजुली आवश्यक पर्छ।

होङसी शिवम् सिमेन्टले चुनढुंगा ल्याउन कन्भेयरको प्रयोग गर्दैछ। व्यावसायिक उत्पादन थालेको केही समयपछि नै कन्भेयर निर्माण थालिने स्रोतले बतायो। कन्भेयरमार्फत चुनढुंगा ल्याउन थालेपछि सिमेन्टको क्षमता १२ हजार टन पुर्याइनेछ। कन्भेयरमार्फत चुनढुंगा ल्याउँदा सिमेन्टको लागत समेत सस्तो हुनेछ।सिमेन्टको लागतमा ‘ट्रान्सपोर्टेशन कस्ट’ सबैभन्दा ठूलो हो।