नेप्सेले जेठबाटै अनलाइन प्रणालीमा कारोबार गर्ने, केहीदिन पुरानो प्रविधिबाट पनि कारोबार

बिजमाण्डू
२०७५ जेठ ४ गते १३:०२ | May 18, 2018

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणालीबाट कारोबार गर्नकालागि सफ्टवेयर प्रणालीको काम अन्तिम चरणमा पुर्याएको छ। सफ्टवेयर निर्माण सकिएसँगै नेप्सेले हालको सफ्टवेयरमा भएको डाटा 'माइग्रेट'को काम गरिरहेको छ। नयाँ सफ्टवेयरमा 'डाटा माइग्रेट' पूरा भएसँगै टेस्ट कारोबार सुरु गर्ने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

डाटा माइग्रेटको क्रममा कुनै पनि समस्या नदेखिएमा नेप्सेले टेस्ट कारोबार सुरु गर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए। अनलाइन प्रणालीको विकास भएसँगै नेप्सेले सुरुका केही समय अहिले भैरहेको कारोबार प्रणालीलार्इ पनि निरन्तरता दिने तयारी गरेको छ।

नयाँ प्रणाली आउँदा कारोबारमा रोकावट नहोस् भनेर नेप्सेले दुवै प्रणालीलार्इ निरन्तरता दिने भएको हो। नयाँ प्रणाली आउँदै गर्दा सबैजना सुरुमै कारोबार गर्न  अभ्यस्त हुँदैनन् । त्यसैले पुरानो सिस्टमलार्इ पनि केहि समय निरन्तरता दिने पराजुलीले बताए।

अहिले भैरहेको सफ्टवेयरमा लगानीकर्ताको कुनै पनि पहुँच हुँदैन। ब्रोकरको निर्देशन तथा सल्लाहमा लगानीकर्ताले शेयर कारोबार गर्दै आएकोमा अबदेखि लगानीकर्ताले आफैँले कारोबार गर्न पाउने छन्।

अनलाइन प्रणालीबाट कारोबार गर्नकालागि लगानीकर्ताले ब्रोकर कार्यालयमा थप एउटा फारम भरेर ग्राहक बन्नु पर्नेछ। ब्रोकरले लगानीकर्ताको विवरण मार्फत क्लाइन्ट आइडी तयार पार्नेछन्। उक्त क्लाइन्ट आइडी र पासवर्ड लगानीकर्ताले पाउने छन्।

जस्तो अहिले पनि ब्रोकरले आफ्ना ग्राहकको क्लाइन्ट आइडी बनाएका हुन्छ। यस क्लाइन्ट आइडीबाट लगानीकर्ताको निर्देशनमा ब्रोकरले खरिद बिक्री गरिदिन्थे। अबका दिनमा यस्तो क्लाइन्ट आइडी र पासर्वड स्वयम् लगानीकर्तासँग हुनेछ र आफैँले कारोबार गर्न पाउने छन्। नेप्सेले तयार पारेको सफ्टवेयर मोबाइलमै खुल्ने गरी बनाइएको हुँदा मोबाइल फ्रेण्डली समेत रहेको बताइएको छ।

लगानीकर्ताले ब्रोकरकोमा आफ्नो बैंक खाता नम्बर, डिम्याट नम्बर, तथा व्यक्तिगत विवरण बुझाउनु पर्नेछ। यसबाट लगानीकर्ताले आइडी पाउछन्। उक्त आइडीलार्इ एप्लिकेसनमा इन्ट्री गर्नुपर्छ। यस सँगै लगानीकर्ताले मार्केट डेप्थदेखि लिएर नेप्सेले पठाएका सम्पूर्ण सूचना हेर्न पाउँछन्। मार्केट वाचबाट कुन कम्पनीको मूल्य कति छ हेर्न पाउने व्यवस्था गरिएको हुन्छ।

क्लाइन्ट आइडीबाट लगानीकर्ताले अहिलेसम्म कुन कुन कम्पनीको कारोबार गरेका थिए तथा उसको पोर्टफोलियोको विवरण पनि हेर्न पाउँछ। अहिलेसम्म ब्रोकरले अर्डर टिप्दै आएकोमा यसमा लगानीकर्ताले अनलाइन प्रणालीबाट किन्ने या बेच्ने छान्नु पर्नेछ। किन्ने र बेच्ने अर्डर दिँदा छुट्टाछुट्टै कलर देखिनेछ।

अहिलेको अनलाइन प्रणालीमा स्टक डिलर र व्यक्तिगत दुर्इ किसिमका लगानीकर्ता रहने व्यवस्था गरिएको छ। यस भन्दा अगाडि नागरिक लगानी कोषलार्इ स्टक डिलरको रुपमा अनुमति दिने भन्दै गर्दा नेप्सेमा प्रणाली नभएको भनिएको थियो। अनलाइन कार्यान्वयनमा आएसँगै यो पनि सम्भव हुने देखिएको छ।

लगानी गर्दा शेयर, बण्ड, म्युचुअल फण्ड र डिवेन्चर भनेर छुट्टाइएको छ। यि मध्ये कुनमा लगानी गर्ने लगानीकर्ताले छुट्टाउनु पर्नेछ। यस भन्दा अगाडि म्यानुअल रुपमा कारोबार हुँदै आएको बण्ड तथा डिवेन्चरको कारोबार पनि अनलाइनबाटै गर्न मिल्नेछ। यि चार क्षेत्रमध्ये एक छानेसँगै सम्बन्धित सेक्टरका कम्पनी छान्नुपर्छ।

अर्डर तीन किसिमले दिन सकिन्छ। लिमिट प्राइस, स्टप प्लस र मार्केट प्राइस। लिमिट प्राइसमा लगानीकर्तालार्इ बढीमा र घटिमा भनेर छुट्टाएको हुन्छ त्यहि भित्र अर्डर दिनुपर्छ। त्यस्तै मार्केटमा भएको मूल्य बराबरको अर्डर दिन सक्छ जसमा अर्डर दिएको बेलामा सबैभन्दा कम कति छ त्यहि मूल्य म्याच हुन्छ। स्टक प्लसमा आफुले कति सम्म रिस्क लिन सकिन्छ त्यति नै मूल्य निर्धारण गरेर अर्डर दिन पाइन्छ।

रकम छानेसँगै कति कित्ता किन्ने हो त्यो पनि सेलेक्ट गर्नुपर्छ। कित्ता छान्दा पनि एकै पटक छान्ने कि विस्तारै विस्तारै छान्ने भन्ने व्यवस्था रहेको छ। यसमा अर्डरमा राखिएको देखिने वा नदेखिने दुर्इ किसिमको हुन्छ। डिस्क्लोजमा जति अर्डर दिइएको छ सबै देखिन्छ। अर्को तरिका भनेको आफुले चाहे बराबरको शेयर डिस्क्लोज हुने व्यवस्था गरिएको हुन्छ।

जस्तै, लगानीकर्ताले कुनै कम्पनीको १०० कित्ता शेयर बिक्री आदेश दिनु छ भने पहिला २० कित्ता मात्रै पनि देखाउन सक्छ। सो बिक्री भएपछि बाँकी आफुले चाहेको अनुपातमा डिस्क्लोज हुँदै जान्छ। यसमा लगानीकर्ताले बीच बीचमा मूल्य परिवर्तन गर्न पनि पाउँछ। अर्डरको भ्यालिडिटिमा भने अहिलेकै व्यवस्था यथावत राखिएको छ। यसमा कुनै पनि प्रणाली परिवर्तन गरिएको छैन।

मार्केट रिस्कको व्यवस्था

अहिले कुनै पनि लगानीकर्ताले जति सुकै संख्यामा शेयर खरिद तथा बिक्री आदेश दिन पाउँछन्। जसले गर्दा कुनै कुनै बेलामा बजारमा अनावश्यक उतारचढाव आउने गरेको पाइन्छ। नेपाल स्टक एक्सचेन्जले ब्रोकरलार्इ केही डिपोजिट लिएर कारोबारको लिमिटेसन दिए जस्तै ब्रोकरले पनि लगानीकर्तालार्इ दिन सक्छ भन्ने व्यवस्था रहेको छ।

नियम अनुसार क्लाइन्टले शेयर बराबरको पैसा देखाएपछि मात्रै शेयर खरिद गर्ने व्यवस्था छ। अहिले भने भ्यालु एड रिस्कको मोडेल अनलाइन प्रणालीमा रहेको छ। यसले क्षमताभन्दा बाहिर गएर शेयर खरिद गरेको छ कि के छ भन्ने बारे समेत हेर्न सक्ने व्यवस्था गरिदिएको छ। अर्डर गरे नै पिच्छे उसको भ्यालु देखाएर रिस्क कति छ भन्ने बारेमा पनि लगानीकर्ताले थाहा पाउन सक्छ।

रियल टाइम खरिद बिक्री गर्दा ब्रोकरले आफ्नो क्लाइन्टको रिस्क हेर्न सक्ने व्यवस्था गरिएको छ। सिष्टमले नै रोक्ने कि ब्रोकरलार्इ नै कतिसम्म लिमिट दिने भन्ने कुरा पनि बहसको विषय हुन सक्छ।

अप्सन मार्केट र ट्रेड ग्यारेण्टी फण्डको पनि व्यवस्था गरिएको छ। अप्सन मार्केटमा यदि कसैले शेयर बिक्री अर्डर दियो तर शेयर छैन भने यसको लागि ब्रोकरले अप्सन मार्केटमा आएर शेयर खरिद गरेर सेटल गर्न पाँउछ।

यदि कसैले शेयर खरिद आदेश दियो तर पैसा दिएन भने ट्रेड ग्यारेण्टी फण्डबाट लोन लिने अनि सेटल गराउन सक्छ। साथै उक्त शेयर बिक्री गर्न पाउँछ। यसमा नियम र टेक्नोलोजी दुबैले बाँधेको हुन्छ।

अनलाइन आउँदैमा ब्रोकर कार्यालयमा सुनसान हुन्छ भन्ने भने हुँदैन। ब्रोकर कार्यालय लगानीकर्ताको भेटघाट गर्ने तथा बजारको बारेमा सल्लाह गर्ने ठाँउ बन्छ। अनलाइनमा अभ्यस्त नभएका लगानीकर्तालार्इ शेयर खरिद बिक्रीमा ब्रोकर कार्यालयले सहयोग गर्ने  व्यवस्था भने यथावतै रहन्छ। विदेशमा पनि अनलाइन प्रणाली प्रचलनमा रहँदा ब्रोकर कार्यालय तथा स्टक एक्सचेन्जमा सुनसान भएको देखिएको छैन।