बोसो विज्ञापनले साबुन बजारमा ल्याएको तरङ्ग, फेरियो लुगाधुने साबुन, नाङ्गामा खोल र मनमोहक बास्ना

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ जेठ ४ गते ०९:५४ | May 18, 2018

विराटनगर। कुनै कम्पनीले १५ महिनाअघि, खोल नभएका नाङ्गा साबुनमा बोसो रहको भन्दै आक्रामक विज्ञापन गर्यो।विज्ञापनले उपभोक्तामा तरङ्ग छायो।

Tata
GBIME
Nepal Life

यो विज्ञापनसँगै नाङ्गा साबुन उत्पादक समेत प्रतिउत्तरमा उत्रिए।नाङ्गा साबुनका संचालक आफैंले गुणस्तर तथा नापतौल विभागमा स्याम्पल दिएर परीक्षण गर्न लगायो।त्यो स्याम्पलको परीक्षण नाङ्गा साबुन उत्पादकको पक्षमा गयो।विभागलेनै आपूर्ति व्यवस्थापन विभागलार्इ भ्रामक प्रचार गर्ने कम्पनीलार्इ कारवाहीका लागि पत्र पठायो।विज्ञापन बन्द भयो।

तर त्यो आक्रामक विज्ञापनको असर कसरी उल्टो देखियो।त्यो विज्ञापन नाङ्गा साबुन उत्पादकका लागि बजार विस्तारको टुल्स बन्यो।‘हामीमाथि आक्रमण शैलीको विज्ञापन सुनेपछि इख र इगो पलायो’, विराटनगरको हिमगिरि सोप एन्ड केमिकल इन्डस्ट्रिजका सञ्चालक महेश जाजूले भने, ‘संसारभरि नै साबुनमा कच्चा पदार्थका रूपमा बोसोको प्रशोधित अंश हाल्ने चलन छ । जसले विज्ञापन बजाएको हो उसले पनि साबुनमा बोसोको प्रयोग गरेको छ ।’

जाजूले भने, ‘यसपछि मैले तत्कालै बिना बोसोको साबुन उत्पादन गरेर बजार कब्जा गर्छु भन्ने दृढ सोच बनाएँ । साबुनको नाम मैले नै जुराएँ– एक्स्ट्रा । नभन्दै नेपाली साबुनको बजारमा अहिले अत्यधिक माग भएको साबुन भएको छ एक्स्ट्रा । हामी केही समयमै उद्योगको क्षमता विस्तार गरेर एक्स्ट्राको उत्पादनलाई दोब्बर बनाउने तयारी गरिरहेका छौँ ।’

‘नेपालीको क्रयशक्ति बढेको छ’, उनले भने, ‘गुणस्तरीय र आकर्षक सामानमा खर्च गर्न नेपाली उपभोक्ता अब हिच्किचाउँदैनन् । त्यसैले २ सय २० ग्राम साबुनको खुद्रा मूल्य ४० र २ सय ८० ग्रामको ५० रुपैयाँ निर्धारण गर्यौ । छ महिना भयो उत्पादन सुरु भएको, साबुनको आपूर्ति गर्न सकिरहेका छैनौँ ।’
उनका अनुसार दुबै तौलका गरी उद्योगले हाल मासिक १२ लाख थान साबुनको उत्पादन गरिरहेको र यसको मुख्य बजार नेपालका सबै भूभाग भएको जानकारी दिए ।

‘एक्स्ट्रा साबुनको स्याम्पुल हामीले भारत, बङ्गलादेश, अमेरिका र मलेसियामा पठाएका छौँ’, उनले भने, ‘चारै मुलुकबाट अर्डर आउने विश्वास हामीले गरेका छौँ ।’एक्स्ट्रा साबुनमा तैलीय पदार्थको मात्रा पर्याप्त भएकाले जति लुगा धोए पनि हात फुस्रो नहुने र यसमा प्रयोग गरिएको बास्नाका कारण यसले नुहाउन पनि सकिने जाजूको दाबी छ ।नेपालमा एक्स्ट्रा साबुनले नुहाउनेको सङ्ख्या पनि उल्लेखनीय रहेको उनले दाबा गरे ।

जाजुले आफूले पहिले ठूलै रिस्क लिएको अनुभव गरे पनि थोरै समयमा साबुनको ब्रान्डिङ गर्न सकेको र बजारमा स्थापित गराएको प्रतिक्रिया दिए ।
ब्रान्डिङ र विज्ञापनका लागि छापा र विद्युतीय माध्यमका साथ होडिङ बोर्ड, पम्प्लेटिङ, माइकिङ लगायत सबै प्रकारका उपाय अपनाइएको उनले स्पष्ट पारे ।खोलसहितको र बोसोको प्रयोग नगरिएको एक्स्ट्रा साबुनमा साबुनको एमआरपी, तौल र उत्पादन मितिसमेत लेखिएको उनले उल्लेख गरे ।
 
एक्स्ट्राको पनि नक्कली
हिमगिरि सोपले खोलसहितको र बोसोरहित एक्स्ट्रा लुगा धुने साबुन निकालेको ३ महिनापछि नै सुनसरीको एक उद्योगले एक्स्ट्रा ब्रान्डमै लुगा धुने साबुन उत्पादन गरिरहेको जाजूको आरोप छ ।

‘देशमा ट्रेड मार्क ऐन फितलो छ’, उनले भने, ‘तैपनि हामी कानुनी कारबाहीमा गइसकेका छौँ । तत्काल जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छौँ । उद्योग विभागमा पनि उजुरी दर्ता गर्ने प्रक्रियामा छौँ ।’

अरू उद्योग पनि
हिमगिरिले बोसोरहित र खोलसहितको साबुन निकालेपछि अरू उद्योगले पनि यस्तै प्रकारका साबुनको नमुना बजारमा ल्याएका छन् ।मोरङको क्वालिटी केमले प्युरेक्स ब्रान्डमा बोसोरहित साबुन ल्याउने तयारी गरिरहेको छ ।

‘हामीले नमुना उत्पादन गरेर बजारको सर्वेक्षण गरिसक्यौँ’, क्वालिटी केमका सञ्चालक विपीन काबराले भने, ‘अब बजारमा आक्रामक रूपमा प्रस्तुत हुँदैछौँ । बजारको प्रतिक्रिया उत्साहजनक छ ।’