होङसी शिवम सिमेन्टले भोलीबाट व्यवसायिक उत्पादन थाल्ने, दैनिक ६ हजार टन उत्पादन

बिजमाण्डू
२०७५ जेठ ३ गते १३:३२ | May 17, 2018
होङसी शिवम सिमेन्टले भोलीबाट व्यवसायिक उत्पादन थाल्ने, दैनिक ६ हजार टन उत्पादन
काठमाडौं। नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङसी शिवम सिमेन्टले शुक्रबारदेखि व्यवसायिक उत्पादन थाल्ने भएको छ। नेपालको शिवम् सिमेन्ट र चीनको होङसी सिमेन्ट कम्पनीको संयुक्त लगानीमा स्थापना भएको उद्योगको शुक्रबार चिनियाँ र नेपाली लगानीकर्ताले व्यवसायिक उत्पादनको औपचारिक उद्घाटन गर्दैछन्।


 
उद्योगबाट पहिलो चरणमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुनेछ। पूर्ण क्षमता १२ हजार टन हो। उत्पादनको नाम ‘होङसी’ हुने छ।
 
अहिलेसम्म नेपालमा सबैभन्दा बढी तीन हजार टन सिमेन्ट उत्पादन हुँदै आएको छ। अर्घाखाँची सिमेन्टले तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ। 
 
‘उद्योगको भोली औपचारिक उद्घाटन गर्दैछौं। केही दिनमै बजारमा हाम्रो सिमेन्ट आउँछ’ होङसी शिवम सिमेन्टका संचालक सतिश मोरले बिजमाण्डूसँग भने। उनले विभिन्न कठिनार्इका बाबजुद तोकिएको समयमा सिमेन्ट उत्पादन हुन लागेको बताउँदै दृढ इच्छाशक्ति भएमा असम्भव केही नभएको बताए।
 
‘दृढ इच्छाशक्ति भएमा असम्भव केही रहिनछ भन्ने सिद्ध भएको छ। हामीले परियोजना सुरु गर्दा प्राकृतिक विपत्तिदेखि अरु ठूला कारणहरु पनि आएका थिए। तर हामीले ती सबै कठिनार्इलार्इ पन्छाएर काम गर्यौ र सफल पनि बन्यौं’ मोरले भने, ‘यसले हामीलार्इ राम्रो शिक्षा दिएको छ।‘ 
 
उनका अनुसार ठूलो क्षमताको सिमेन्टले उत्पादन थालेपछि बजार भाइब्रेन्ट बनाउनेछ। 
 
‘ठूलो क्षमताको सिमेन्ट उद्योग आउँदा उपभोक्तालार्इ पक्कै पनि फाइदा पुग्छ’ उनले भने, सिमेन्ट बजारमा पनि प्रतिस्पर्धा सुरु हुन्छ।‘ 
 
मोरले सिमेन्टको मूल्य भने तय भइनसकेको बताए। ‘मूल्य तय भइनसके पनि सिमेन्ट मूल्यमा हस्तक्षेप भने गर्छ’ उनले भने। कम्पनीले गुणस्तर चिन्हका लागि नापतौल विभागमा एक महिना अगाडि नै आवेदन दिइसकेको छ। विभागले दुई पटक उत्पादन गुणस्तरको अनुगमनसमेत गरिसकेको छ। ‘कम्पनीको उत्पादन गुणस्तर चिन्ह पाउन योग्य देखिएको छ,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘केही दिनमै दिन्छौं।’
 
संयुक्त लगानीको उद्योग तीन वर्षअघि स्थापना सुरु भएको थियो। लगानी बोर्डको सम्झौंतामा तीन वर्षभित्र उत्पादन थाल्ने उल्लेख थियो। लामो प्रकृयागत झण्झटसँगै आउने विभिन्न राजनीतिक अवरोध छिचोलेर उद्योगले उत्पादन थाल्दैछ।


 
छोटो समयमा यसरी सुरु भयो उत्पादन
नवलपरासीको वेनिमनिपुरमा रहेको उद्योगमा दैनिक ६ सय कामदारले अहोरात्र काम गरिरहेका छन्। साढे तीन सय चिनियाँ र २ सय ५० जना नेपाली कामदारहरु निरन्तर खटेकै कारण तीन वर्षमा उद्योगको पूर्वाधार तयार भएको हो। 
 
उद्योग निर्माण सुरु भएपछि  कामदारले २४सै घण्टा काम गरिरहेका छन्। चिनियाँहरुले सरकारी प्रकृया ढिलो हुँदा पनि काम नरोकी अहोरात्र खटेका थिए। प्रारम्भिक वातावरणीय मूल्यांकन लगायतका प्रकृया अड्किए पनि निर्माणको काम उनीहरुले नरोकेले तोकिएकै मितिमा उत्पादन सुरु हुन लागेको हो।
 
उद्योगको पाल्पामा क्लिङकर खानी किनेको छ। तर अहिले उद्योगमा आवश्यक चुनढुंगा भने शिवमबाट ल्याएको छ। खानीसम्म बाटो नपुगेकोले अन्यत्रबाट चुनढुंगा लिएको हो। दुई सय बिगाहा क्षेत्रफलमा फैलिएको होङशी शिवम सिमेन्ट उद्योगमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी छ। 
 
उद्योगबाट ओपिसी सिमेन्ट नौलाख २० हजार टन र पिपिसी सिमेन्ट १३ लाख ८० हजार टन उत्पादन हुनेछ। उद्योगमा एक हजार ५० जनाले रोजगारी पाउनेछन्। उद्योगका लागि ५० मेगावाट विजुली आवश्यक पर्छ।


 
कन्भेयरमार्फत चुनढुंगा
होङसी शिवम् सिमेन्टले चुनढुंगा ल्याउन कन्भेयरको प्रयोग गर्दैछ। व्यवसायिक उत्पादन थालेको केही समयपछि नै कन्भेयर निर्माण थालिने स्रोतले बतायो। कन्भेयरमार्फत चुनढुंगा ल्याउन थालेपछि सिमेन्टको क्षमता १२ हजार टन पुर्याइनेछ। कन्भेयरमार्फत चुनढुंगा ल्याउँदा सिमेन्टको लागत समेत सस्तो हुनेछ।सिमेन्टको लागतमा ‘ट्रान्सपोर्टेशन कस्ट’ सबैभन्दा ठूलो हो।
 
कोइलाको मार
सिमेन्ट उत्पादनका लागि कोइला सबैभन्दा ठूलो बाधाको रुपमा उद्योगलार्इ पर्ने देखिएको छ। संचालक मोरले कोइलाकै कारण सिमेन्ट उत्पादनमा समस्या पर्ने देखिएको बताउँदै कोइलाको सहज आयातका लागि सरकारलार्इ आग्रह गरिसकेको बताए।
 
‘कोइला सबै उद्योगको समस्या थियो। हाम्रो क्षमता नै ठूलो भएकाले त्यसबाट वाहिर रहने कुरै भएन। कोइलाको सहज आयातका लागि नेपाल सरकारले भारतसँग तत्कालै पहल गर्न आवश्यक छ’ उनले भने, नेपालले पनि केही सहजीकरण गरिदिएमा कोइलाको समस्या समाधान हुन्छ।‘

Tata
GBIME
Nepal Life