एमाले-माओवादी एक हुने : माओवादीलाई ४५%, सूर्य चुनाव चिह्न बन्ने, ‘जनयुद्ध’ विधानमा

विधुर ढकाल/बिजमाण्डू
२०७५ जेठ २ गते २१:२५ | May 16, 2018
काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार नै पार्टी एकताको तयारी भइरहेको छ। यस विषयमा छलफल गर्न दुबै दलले आकस्मिक रुपमा पार्टीका बैठक बोलाएका थिए।
 

बुधबार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो। सोही छलफलपछि एमालेले आकस्मिक रुपमा स्थायी समितिको बैठक बोलाएको थियो।
 
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बिहीबार नै पार्टी एकता गर्ने निर्णय भएको जानकारी दिएका थिए।एमाले उपाध्यक्ष वामदेव गौतमका अनुसार भोलि बिहान बस्ने एकता संयोजन समितिको बैठकले एकताको निर्णय गर्ने र सोही अनुरुप भोलि नै एकताको घोषणा गरिने छ।
 
उनले दिनभर एकताका सबै प्रक्रिया पूरा गर्ने, निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने र साँझ एकताको घोषणा गर्ने जानकारी दिए।
 
माओवादीलाई ४५ प्रतिशत 
यसैबीच एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ जसमा प्रतिशत नभने पनि ४५ प्रतिशत माओवादी केन्द्रले पाउने र बाँकी ५५ प्रतिशत एमालेले राख्नेसमेत सहमति भएको छ।
 
सहमति अनुसार २०० सदस्य माओवादीको भागमा र २४१ सदस्य एमालेको भागमा पर्ने छन्।
 
त्यस्तै पार्टीको स्थायी समितिमा ४३ सदस्य रहने सहमति जुटेको छ। सहमति अनुसार स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहने बैठकमा अध्यक्ष ओलीले जानकारी गराएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए।
 
चुनाव चिह्न सूर्य, 'जनयुद्ध' विधानमा
त्यस्तै एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य कायम रहने सहमति भएको छ। 
 
त्यस्तै पार्टीको विधानमा 'जनयुद्ध' र विभिन्न कालखण्डमा भएका आन्दोलनलाई समेट्ने विषयमा समेत सहमति जुटेको छ। यस अगाडि एमालेले 'जनयुद्ध'लाई 'सशस्त्र द्वन्द्व' भन्दै आएको थियो। 
 
त्यस्तै पार्टीका सिद्धान्त मार्क्सवाद र लेनिनवाद हुनेछ भने जनताको बहुदलीय जनवाद (जबज) र माओवादलाई थाँती राखिएको छ। जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एउटै विन्दुमा समेट्न जनताको जनवाद राख्ने गरी सहमति जुटेको छ।
 
बुधबार भएको दुई अध्यक्षबीचको बैठकका यी निर्णलाई बिहीबार बस्ने एकता संयोजन समितिको बैठकले अनुमोदन गर्नेछ। 
 
यसैबीच पार्टी एकताको विषयमा छलफल गर्नका लागि बिहीबार बिहान ११ बजे एमालेले आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। बैठकपछि एमालेले आफ्नो केन्द्रीय कमिटी विघटन गर्ने तयारी समेत गरेको छ।
 
माओवादी केन्द्र पनि एकताको अन्तिम निर्णय गर्न आन्तरिक रुपमा छलफलमा जुटेको छ।

Tata
GBIME
Nepal Life