३३ किलो सुन प्रकरण : काठमाडौंबाट गएका २५ वकिलको बहस सकियो, अब के हुन्छ?

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ जेठ २ गते १६:५७ | May 16, 2018
काठमाडौं। साढे ३३ किलो सुन र सनम शाक्यको हत्यामा पक्राउ परेका अभियुक्तको पक्षमा वरिष्ठ अधिवक्ता सहित २५ कानुन व्यवसायीले बहस गरेका छन्।
 
‘अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दामा मङ्गलबारसम्म २५ कानुन व्यवसायीले बहस–पैरवी गरेका हुन्।
 
प्रहरीले दाबी गरेका ६३ अभियुक्तमध्ये ३२ पक्राउ परेका छन्। जसमा पहिलो चरणका ३० प्रतिवादीका तर्फबाट आइतबारदेखि बहस सुरु भएको हो।
 
पछिल्लोपटक पक्राउ परेका झापाका विनोद अधिकारी र भीमेश्वर नगरपालिकाका मोतिराम श्रेष्ठलाई सोही प्रकृतिको छुट्टै मुद्दा लगाइने जिल्ला प्रहरीले जनाएको छ। 
 
जिल्ला अदालत मोरङका अनुसार कुल १ सय १३ कानुन व्यवसायीले वकालतनामा भरेका छन्।
 
मङ्गलबार वरिष्ठ अधिवक्ता सुशील पन्तसहित अधिवक्ताद्वय रामचन्द्र सुवेदी र देवेन्द्र कोइरालाले प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीका पक्षमा बहस गरे।
 
वरिष्ठ अधिवक्ता टंक उप्रेती सहित अधिवक्ताहरू नारायण वस्ती, राजेन्द्र खनाल र केदार भण्डारीले निलम्बित प्रहरी नायव निरीक्षक बालकृष्ण सन्जेलका पक्षमा बहस गरे। 
 
टेकराज मल्ल ठकुरी र राजन थापाका पक्षमा अधिवक्ता नारायण दाहालले तथा लालबहादुर मगर र राजन थापाका पक्षमा अधिवक्ता जयबहादुर भुजेलले पैरबी गरे।
 
चार वरिष्ठ अधिवक्ता शम्भु थापा, रमनकुमार श्रेष्ठ, राजु बस्नेत र यदुनाथ खनाल ११ प्रतिवादीका पक्षमा उभिए।
 
वरिष्ठ अधिवक्ता थापाले सुनका लगानीकर्ता भुजुङ गुरुङ र प्रहरी उपरीक्षक विकासराज खनालको बचाउ गरे।
 
पूर्व महान्यायधिवक्ता समेत रहेका रमनकुमारले भुजुङ गुरुङ, पूर्व डिआइजी गोविन्द निरौला र प्रहरी उपरीक्षक विकासराज खनालका पक्षमा उभिए ।
 
प्रहरी उपरीक्षक खनालकै पक्षमा अर्का वरिष्ठ अधिवक्ता यदुनाथ खनालले बहस गरे। वरिष्ठ अधिवक्ता बस्नेतले विमानस्थलका कर्मचारीहरू बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, दोराम खत्री, गोपालकुमार श्रेष्ठ, पुण्यप्रसाद लामा र हेमन्त गौतमका पक्षमा प्रतिरक्षात्मक बहस गरे।
 
बरिष्ठ अधिवक्ता माधवराज आचार्य र राजेन्द्र भट्टराईसहित अधिवक्ता सुरेशलाल श्रेष्ठ, योगेन्द्र न्यौपाने तथा अधिवक्ताहरू रामबहादुर राउत, अमर राउत, जगनप्रसाद फुयाँल, रमिता महर्जन, सुनिलकुमार सिंह, हरिनारायण चौधरीले प्रतिवादीका तर्फबाट बहस गरेका छन्।
 
वरिष्ठ अधिवक्ता आचार्य र भट्टराई तथा अधिवक्ता श्रेष्ठले निलम्बित प्रहरी नायव उपरीक्षक प्रजित केसीका पक्षमा प्रतिरक्षात्मक बहस गरे। श्रेष्ठले केसीसँगै अमरमान डंगोलका पक्षमा बहस गर्दै साधारण तारेख आदेशको माग गरे। 
 
अधिवक्ताद्वय रामबहादुर राउत र अमर राउतले निलम्बित प्रहरी नायव उपरीक्षक सञ्जय राउतका पक्षमा बहस गरे।
 
सुनका मुख्य लगानीकर्तामध्ये एक मानिएका चाचाजी भन्ने महावीर गोल्यान अग्रवालका पक्षमा वरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपाने र अधिवक्ता जगनप्रसाद फुयाँलले बहस पैरवी गरे।
 
अधिवक्ता रमिता महर्जनले सम्बिरमान तोलाङ्गे, अमरबहादुर थापा र वीरेन्द्रमान श्रेष्ठलाई बचाउ गर्दै साधारण तारेख आदेशको माग गरिन्।
 
महर्जनले प्रहरी हवल्दार अमर बहादुर थापाका हकमा पनि त्यही माग राखे।
 
प्रतिवादी तोलाङ्गे र वीरेन्द्रमानका पक्षमा अधिवक्ता सुनिलकुमार सिंह पनि बहसमा सहभागी थिए। प्रतिवादी पुण्यप्रसाद लामाका पक्षमा अधिवक्ता हरिनारायण चौधरीले बहस गरे। बहस गर्ने बिराटनगर पुगेका वरिष्ठ अधिवक्ता मंगलवार नै राजधानी फर्किसकेका छन्।

Tata
GBIME
Nepal Life