पार्टी एकतामा ‘वर्क इन प्रोग्रेस’: दुवै दलको आकस्मिक बैठक, एमाले केन्द्रीय कमिटी भंग तयारी

बिजमाण्डू
२०७५ जेठ २ गते १६:४४ | May 16, 2018
काठमाडौं। पार्टी एकताको अन्तिम निर्णयका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आकस्मिक बैठक बोलाएका छन्। 


 
आज बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको दुई चरणको वार्तापछि पार्टी एकता संयोजन समितिको बैठक भोलि बिहीवार १० बजे बोलाइएको छ। त्यस अगाडि दुवै दल आन्तिरिक रूपमा छलफल गर्ने भएका छन्। 
 
दुवै दलले आ–आफ्नो पार्टीको आकस्मिक बैठक बोलाएका छन्। एमालेले एकताको विषयमा छलफल गर्नकै लागि आज साँझ पार्टीको स्थायी समितिको बैठक आह्वान गरेको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए। 
 
त्यस्तै एमालेले भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कमिटीको आकस्मिक बैठक समेत बोलाएको छ। बैठकमा पार्टी एकताको विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। 
 
पार्टी एकतालाई अन्तिम टुंगोमा लगाउनका लागि एमालेले पार्टी केन्द्रीय कमिटी भंग गर्ने तयारी समेत थालेको एमालेका एक नेताले जानकारी दिए। 
 
त्यस्तै, माओवादी केन्द्रले आज नै कार्यालयको विस्तारित बैठक आह्वान गरेको प्रचण्डको सचिवालयले जनाएको छ। पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा दिउँसो ४ बजे कार्यालयको बैठक बस्दैछ। 
 
त्यस्तै माओवादीले उपलब्ध तथा पार्टी अध्यक्ष निकटका सचिवालय सदस्यहरूसँग समेत पार्टी एकताको विषयमा छलफल गर्ने तयारी थालेको छ। माओवादी नेता देवेन्द्र पौडेलका अनुसार आज कार्यालयको बैठक बस्ने छ। त्यस्तै सचिवालयका सदस्यहरूसँग समेत छलफलको तयारी भइरहेको जानकारी उनले दिए। 
 
कार्यालयको बैठकले आवश्यकता अनुसार पार्टीका उपलब्ध पोलिटव्यूरो, सचिवालय तथा स्थायी समितिका सदस्यहरूसँग समेत छलफल अगाडि बढाउने बताइएको छ। 
 
यसअगाडि आज बालुवाटारमा दुई अध्यक्षबीच पहिलो चरणमा गोप्य वार्ता भएको थियो। त्यसपछि दोस्रो चरणको छलफलमा दुई पार्टीबीच एकताको सूत्रधार मानिएका एमाले नेता विष्णु पौडेल र जनार्दन शर्माकोसमेत उपस्थिति थियो।
 
छलफलपछि एमाले सहमहासचिव विष्णु पौडेलले दुई अध्यक्षबीचको वार्ता सकारात्मक रूपमा अगाडि बढेको जानकारी दिए। ‘हामीलाई उहाँहरूले दिएको जानकारी अनुसार वर्क इन प्रोग्रेस भन्नु भएको छ,’ उनले भने।
 
त्यस्तै माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी एकता संयोजन समितिको बैठक भोलि बस्ने र त्यही बैठकमा आज भएको छलफलको विषयमा जानकारी हुने बताए। ‘भित्र के भयो हामीलाई थाहा छैन, भोलि बैठकमा उहाँहरूले आजको विषयमा कुरा राख्नुहुनेछ,’ शर्माले भने। 
 
पछिल्लो समय दुई पार्टीबीच सरकार सञ्चालन, भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीको अघिल्लो साता सोमबार आएको ट्वीटले दुरी बढाएको थियो। 
 
आजको दुई पार्टीको बैठकले पार्टी एकतालाई अन्तिम टुंगोमा पुर्‍याउने विषयमा अगाडि बढेको बताइएको छ। 
 
दुवै पार्टीबीच जेठ ६ गते पार्टी एकताको घोषणा गर्ने गृहकार्य अगाडि बढेको स्रोतले बताएको छ। पार्टी एकता घोषणाका लागि सहज रूपमा अगाडि बढाउनका लागि एमालेले केन्द्रीय कमिटी भंग गर्ने समेत तयारी गरेको स्रोतले बतायो। 
 
पार्टी एकता संयोजन समितिको गत वैशाख ४ गते बसेको बैठकले पार्टी एकता विवादित विषयमा अन्तिम टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिएको थियो। 
 
सोही अनुरूप दुई पार्टीका अध्यक्षबीच पटक पटक गोप्य वार्ता भएको थियो। गत वैशाख २० गते बसेको दुई अध्यक्षबीचको गोप्य वार्ताले पार्टी एकताका विवादित विषयलाई टुंगोमा पुर्‍याएको बताइएको थियो। 
 
त्यसको दुई दिन अगाडि प्रचण्डले वैशाख २२ गते मार्क्स द्वीसत्वार्षिकीको दिन पार्टी एकताको मिति घोषणा गर्ने बताएका थिए। 

Tata
GBIME
Nepal Life