भैरहवा विशेष आर्थिक क्षेत्रमा माग भन्दा बढी आवेदन, एकाएक कसरी आकर्षित भए उद्योगी?

बिजमाण्डू
२०७५ जेठ १ गते २१:१५ | May 15, 2018
भैरहवा विशेष आर्थिक क्षेत्रमा माग भन्दा बढी आवेदन, एकाएक कसरी आकर्षित भए उद्योगी?


काठमाडौं।भैरहवा विशेष आर्थिक क्षेत्र(सेज)मा प्लट भन्दा बढी उद्योग राख्न आवेदन परेको छ।

Tata
GBIME
Nepal Life

विशेष आर्थिक क्षेत्र प्राधिकरणले ३१ वटा प्लटका लागि गरेको आवेदनमा ३८ उद्योग स्थापनका लागि आवेदन परेको हो।विगतमा प्लट भाडाका लागि टेण्डर गर्दा कम आवेदन पर्थ्यो।प्राधिकरणका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले विशेष आर्थिक क्षेत्रमा उद्योगीको आकर्षण देखिएको बताए।

‘विजुली लगायतको सबै पूर्वाधार पुगेपछि उद्योगीहरु विशेष आर्थिक क्षेत्रमा आकर्षित भएका छन्।सबै पूर्वाधार भएकाले समेत उद्योगीहरु आकर्षित भएका हुन्’उनले बिजमाण्डूसँग भने,हामी सबै उद्योगको मूल्यांकन गरेर प्लट दिनेछौं।‘उनका अनुसार अहिले आवेदन दिनेमा सबैभन्दा बढी फूटवेयर उद्योग छन्।त्यसपछि स्टील,पाइप फिटिङका उद्योग छ।

स्टीलका लागि कच्चा पदार्थ प्रोसेसिङ गर्ने उद्योगले मात्रै १० वटा प्लट लिएको छ।उनका अनुसार एक वर्षभित्र उद्योग स्थापना गरिसक्नुपर्नेछ।भट्टले विजुली आइसकेकोले आवेदन गरेका उद्योगसँग सम्झौता १५ दिनभित्रै गर्ने बताउँदै तत्कालै उद्योगको पूर्वाधार तयार पार्ने प्रतिवद्धता जनाएको बताए। भट्टका अनुसार सेजमा ८ अर्ब लगानीका उद्योग स्थापना हुनेछन्।  उद्योगमा पाँच हजारले रोजगारी पाउनेछन्।यो प्लट तीस वर्षका लागि उद्योगीले पाउँछन्।

 
भैरहवा सेजमा ६९ प्लट छन्।ती मध्ये ३८ प्लट यसअघिनै आवेदन खुला गरेर दिइसकिएको छ।उद्योग मन्त्रालयका अनुसार सेजमा स्थापना भएका उद्योगले ७० प्रतिशत निकासी गर्नुपर्ने प्रावधान संशोधन हुने भएकाले समेत उद्योगी आर्कषित भएका हुन्।‘सेजमा स्थापना भएका उद्योगले ७० प्रतिशतनै निकासी गर्नुपर्ने प्रावधान अव्यवहारिक छ।यो हामीले संशोधन गर्दैछौं’ उद्योग मन्त्रालयका एक उच्च अधिकारीले भने,यसलार्इ संशोधन गरेर ३० प्रतिशतमा झार्ने र विस्तारै बढाउँदै लिएर जाने पक्षमा छौं।‘

उनका अनुसार एकै पटक ७० प्रतिशत निकासीको प्रावधान राख्दा उद्योग नआउने र औद्योगिकरणका लागि राखिएको लक्ष्य समेत पूरा हुँदैन।सेजको उदेश्य भनेको औद्योगिकरण हो।तर यसले उद्योग स्थापनका लागि कडा प्रावधान राखेपछि को आउँछ’ती अधिकारीले भने,त्यही प्रावधान संशोधन गर्ने भएपछि उद्योगीको चाप बढेको हो।‘सुरुवातको आवेदनमा पञ्चकन्या समूह, गोल्डस्टार जुत्ता, जगदम्बा समूह, वैद्य समूहले आवेदन हालेका छन् । ती उद्योगसँग सम्झौता समेत भइसकेको छ। 

  
भैरहवा सेजमा उद्योग, कम्पनी रजिष्ट्रारको कार्यालय, बैंक, राजस्व कार्यालय लगायतका सबै सरकारी निकाय हुनेछ । भैरहवा सेजमा ६९ वटा प्लट रहेका छन् । एउटा प्लटमा दुई हजारदेखि चार हजार वर्गमिटर जग्गा रहेका छन् । 
 
सेज कानुनमा के छ
विशेष आर्थिक क्षेत्रमा गरिने व्यापारिक कारोबार, सो क्षेत्रबाट उत्पादन भएको वस्तु वा सेवामा लाग्ने महसुल, शुल्क वा कर प्रयोजनको लागि त्यस्तो क्षेत्रलाई करको क्षेत्राधिकार भन्दा बाहिर रहेको इलाका मानी विशेष व्यवहार गरिनेछ ।
 
विशेष आर्थिक क्षेत्रभित्र स्थापना भई सञ्चालनमा रहेका कुनै पनि उद्योगलाई राष्ट्रियकरण गरिने छैन।
 
उद्योगले प्रयोग गरेको जग्गा वा भवनको बहाल वा लिज वापत बुझाउनुपर्ने रकममा उद्योग स्थापना भएको पहिलो, दोस्रो र तेस्रो वर्षको लागि क्रमशः पचास, चालीस र पच्चीस प्रतिशतका दरले छूट पाउनेछ ।
 
आयकर छूटः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि पूर्वाधार संरचनामा लगानी गर्ने लगानीकर्ताले पूर्वाधार संरचना संचालन गरेको वा इजाजतपत्रवालाले उत्पादनको व्यापारिक कारोबार शुरु गरेको मितिबाट प्रचलित कानून बमोजिम लाग्ने आयकरमा पहिलो पाँच वर्षसम्म शतप्रतिशत र साठी प्रतिशतसम्म स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योग भए त्यसपछिका दश वर्षसम्म पचास प्रतिशत र अन्य उद्योग भए पाँच वर्षसम्म पचास प्रतिशत छूट पाउनेछ ।
 
(२) उपदफा (१) मा जुनुसुकै कुरा लेखिएको भए तापनि हिमाली जिल्ला वा नेपाल सरकारले तोकेको पहाडी जिल्लामा रहेको विशेष आर्थिक क्षेत्रको उद्योगले आफ्नो उत्पादनको व्यापारिक कारोबार शुरु गरेको मितिबाट प्रचलित कानून बमोजिम लाग्ने आयकरमा पहिलो दश वर्षसम्म शतप्रतिशत र त्यसपछिका दश वर्षसम्म पचास प्रतिशत छूट पाउनेछ ।
 
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको आयमा लाग्ने आयकरमा उद्योगले देहाय बमोजिम छूट पाउने छः–
 
उद्योगले उत्पादनको व्यापारिक कारोबार शुरु गरेको मितिबाट पहिलो पाँच वर्षसम्म उद्योगले वितरण गर्ने लाभांश रकममा लाग्ने आयकर शतप्रतिशत,
(ख) खण्ड (क) बमोजिमको आयमा लाग्ने आयकरमा सो अवधि भुक्तानी पछि त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशत,
(ग) विदेशी लगानीकर्ताले विदेशी प्रविधि, बौद्धिक सम्पत्ति वा व्यवस्थापन सेवा शुल्क तथा रोयल्टीबाट आर्जन हुने आयमा लाग्ने आयकर पचास प्रतिशत ।
 
यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७ को उपदफा (१०) बमोजिम विशेष आर्थिक क्षेत्रमा स्थानान्तरण भएको उद्योगले यस दफा बमोजिमको आयकर छुट पाउने छैन ।
 
मूल्य अभिवृद्धि कर नलाग्नेः (१) इजाजतपत्रवालाले उद्योगको लागि आवश्यक पर्ने मेसिनरी उपकरण, मेसिनका पाटपूर्जा, कच्चा पदार्थ वा मालसामान ओसार पसार गर्ने प्रयोजनार्थ एक उद्योगको लागि त्यस्तो उद्योगको स्तर हेरी बढिमा तीन वटासम्म सवारी साधन पैठारी गर्दा लाग्ने मूल्य अभिवृद्धि करमा शतप्रतिशत छूट पाउनेछ ।
 
विशेष आर्थिक क्षेत्रभित्रका उद्योग व्यवसायी बीच हुने वस्तु वा सेवाको व्यापारमा मूल्य अभिवृद्धि कर लाग्ने छैन ।
 
इजाजतपत्रवालाले उद्योगको लागि आवश्यक पर्ने वस्तु वा सेवा आन्तरिक बजारबाट खरिद गर्दा त्यस्तो वस्तु वा सेवामा मूल्य अभिवृद्धि कर लाग्ने छैन ।
 
अन्तः शुल्क नलाग्नेः उद्योगले उत्पादन गर्ने वस्तुमा अन्तःशुल्क लाग्ने छैन ।
 
भन्सार महसुल छूटः (१) इजाजतपत्रवालाले उद्योगको लागि पैठारी गर्ने देहायको मालबस्तुमा भन्सार महसुल छुट पाउनेछः–
 
मालबस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ्ग सामग्री एवं उत्पादनमा प्रयोग हुने अन्य पदार्थको लागि बैङ्क जमानतको आधारमा,
 
उद्योगको लागि आवश्यक पर्ने प्लान्ट, मेशिनरी, यन्त्र, उपकरण, औजार तथा पाटपूर्जा र उद्योगको आकार र प्रकृतिको आधारमा तीनवटा सम्म सवारी साधनमा ।
इजाजतपत्रवालाले दफा ११ को उपदफा (२) बमोजिम नेपालको आन्तरिक बजारमा बिक्री गर्न पाउने बस्तु वा सेवामा लाग्ने भन्सार महसुल तथा अन्य कर बुझाएपछि त्यस्तो बस्तु वा सेवा बिशेष आर्थिक क्षेत्रबाहिर लैजान पाउनेछ ।
 
कुनै पैठारीकर्ताले कुनै मालबस्तु बिशेष आर्थिक क्षेत्र भित्रको उद्योगलाई बिक्री गरेमा त्यस्तो मालबस्तुमा लागेको भन्सार महसुल भन्सार कार्यालयले सम्बन्धित पैठारीकर्तालाई फिर्ता गर्नु पर्नेछ ।
 
इजाजतपत्रवालाले भन्सार छुटमा पैठारी गरेको मालबस्तुको स्वामित्व हस्तान्तरण गर्दा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको प्रकृया अवलम्बन गर्नु पर्नेछ ।
 
स्थानीय कर छूटः उद्योगले उत्पादन गर्ने बस्तु वा सेवा, पैठारी गर्ने मेसिनरी उपकरण, मेसिनका पाटपूर्जा, कच्चा पदार्थ तथा उद्योग स्थापनाको लागि आवश्यक पर्ने अन्य सामग्री र मालसामान ओसार पसार गर्ने प्रयोजनार्थ एक उद्योगको लागि त्यस्तो उद्योगको स्तर हेरी बढिमा तीन वटासम्म सवारी साधनमा प्रचलित कानून बमोजिम लाग्ने कुनै किसिमको स्थानीय कर लाग्ने छैन ।
 
निकासी सरहको सुविधा पाउनेः प्रचलित कानून बमोजिम स्थापना भएको कुनै फर्म, कम्पनी वा उद्योगले विशेष आर्थिक क्षेत्रमा स्थापना भएको उद्योगलाई आफ्नो कच्चा पदार्थ वा कुनै उत्पादन बिक्री गरेमा त्यस्तो बिक्रीलाई निकासी सरहको मानी निकासी गरेवापत प्रचलित कानून बमोजिम कुनै सुविधा पाउने भए त्यस्तो फर्म, कम्पनी वा उद्योगले पनि सो सुविधा पाउनेछ ।
 
विदेशी लगानी फिर्ता लैजान पाउनेः (१) विदेशी मुद्रामा लगानी गर्ने विदेशी लगानीकर्ताले देहाय बमोजिमको रकम विदेशी मुद्रामा नेपाल बाहिर फिर्ता लैजान पाउनेछ ः–
 
विदेशी लगानीको केही वा सबै भागको शेयर बिक्रीबाट प्राप्त रकम,
(ख) विदेशी लगानी बापत प्राप्त हुने लाभांशको रकम,
(ग) विदेशी ऋणको साँबा र ब्याजको भुक्तानीको रुपमा प्राप्त रकम ।
उपदफा (१) बमोजिम लगानी गर्ने इजाजतपत्रवालाले दफा ८ बमोजिम सम्झौता गर्दा कुनै खास मुद्रामा लगानी फिर्ता लैजाने कुरा उल्लेख गरेकोमा सोही मुद्रामा त्यस्तो लगानी नेपाल बाहिर फिर्ता लैजान पाउनेछ ।
 
विदेशी मुद्रामा खाता खोल्न र कारोबार गर्न पाउनेः (१) इजाजतपत्रवालाले प्राधिकरणको सिफारिसमा विदेशी मुद्रामा खाता खोल्न पाउनेछ ।
 
इजाजतपत्रवालाले विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगको सम्बन्धमा विदेशी मुद्रामा कारोबार गर्न पाउनेछ ।
 
भिसा सम्बन्धी व्यवस्थाः (१) उद्योगमा लगानी गर्ने उद्देश्यले अध्ययन वा अनुसन्धान गर्न नेपाल आउने विदेशी नागरिकलाई छ महिनासम्मको गैर पर्यटक भिसा दिइनेछ ।
 
विदेशी लागनीकर्ता वा त्यस्तो लगानीकर्ताको आश्रित परिवार वा अधिकृत प्रतिनिधि वा त्यस्तो अधिकृत प्रतिनिधिको आश्रित परिवारलाई उद्योगमा विदेशी लगानी कायम रहेसम्म नेपालभित्र बसोबास गर्न व्यावसायिक भिसा दिइनेछ ।
 
तर एकैपटक कम्तीमा एक करोड अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रामा लगानी गर्ने विदेशी लगानीकर्ता र निजको आश्रित परिवारलाई त्यस्तो लगानी कायम रहेसम्म आवासीय भिसा दिइनेछ ।