बीमा समिति ५० वर्षमा, ५० वर्षको उपलब्धी जम्मा ७% को कभरेज, नियमन बलियो बनाउँदै




काठमाडौं। बीमा व्यवसायलार्इ व्यवस्थित, नियमित, विकासित तथा नियन्त्रित गर्नकालागि ५० वर्ष अघि बीमा समितिको स्थापना भएको थियो। बीमा कम्पनीलार्इ नियमन गर्न समितिको स्थापना भए पनि नेपालमा बीमा व्यवसायको विकास भने हुन सकेको छैन।



देशको अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान भयो त्यति धेरै मजवुत हुने बीमा विज्ञ रविन्द्र घिमिरे बताउँछन्। अहिलेको अवस्थामा नेपालको कुल ग्राहस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान जम्मा २.०३ प्रतिशत रहेको छ। जबकी विदेशी मुलकमा यसको योगदान १६ प्रतिशतसम्म रहेको पाइन्छ। ताइवानमा १६ प्रतिशत, दक्षिण कोरियामा १३ प्रतिशत, भारतमा ४ प्रतिशत, चीनमा ५ प्रतिशतसम्मको योगदान रहेको पाइन्छ।

नेपालमा बीमा क्षेत्रको योगदान कम हुनुमा बीमा समिति जस्तो नियमनकारी निकाय बलियो नहुनु पनि एक कारण भएको विज्ञ घिमिरे बताउँछन्। बीमा समितिले नियमन मात्रै गर्ने भन्दापनि बीमा क्षेत्रकै प्रवर्द्धनकालागि काम गर्नुपर्छ। बीमा क्षेत्र आफैँमा ‘फाइनान्सियल इन्स्ट्रुमेन्ट’ भएको हुँदा यसमा काम गर्ने तथा बीमाको पोलिसी बिक्री गर्ने नै दक्ष नहुँदा बीमाको बजार विकास हुन नसकेको घिमिरे बताउँछन्।

‘बीमा क्षेत्रको विकास नहुनुमा बीमा क्षेत्रका कानुनमै समस्या छ’- उनी भन्छन्- ‘आइएलओले सामाजिक क्षेत्रका ९ वटा बीमाको वारेमा सिफारिस गरेको छ तर त्यसलार्इ कानुनमा समावेश गरेर कार्यान्वयन गर्नै सकिएको छैन।’

सामाजिक सुरक्षा कोष भनेर १५ अर्ब रुपैयाँ भन्दा ठूलो कोष तयार पारिएको छ तर यसलार्इ समेटेर एउटा पनि वीमा योजना ल्याउन नसक्दा बीमा क्षेत्रको विकास हुन सकेको छैन। घिमिरेका अनुसार सरकारले बीमा सम्बन्धी एकीकृत नीति ल्याउनु पर्छ र सबैलार्इ बीमाको दायरामा प्रवेश गराउनु पर्छ।  
सरकारले पछिल्ला दिनमा स्वास्थ्य बीमाको कार्यक्रम अगाडि बढाएको छ तर पनि यसको गति धेरै नै सुस्त छ।

बीमा समिति आफैँमा कमजोर हुनुमा बीमा समितिमा हुने विज्ञ तथा संचालकहरुको कारण पनि हो भन्छन् घिमिरे। समितिमा बिज्ञ तथा संचालकहरु पदेन विज्ञका रुपमा रहेका छन्। तर बीमा क्षेत्र प्राविधिक विषय भएकाले प्रशासनबाट आएका संचालक तथा विज्ञले बीमाको बजारलार्इ विकास तथा नियमन गर्नै नसक्ने उनको ठम्याई छ।  भारतमा नै हेर्ने हो भने काउन्सिलको अवधारणा छ जसले विज्ञलार्इ राखेर नियमन तथा अनुसन्धानका काम गर्छन्। नेपालमा पनि यसलार्इ सुधार गर्नुपर्ने घिमिरेको तर्क छ।

बीमा कम्पनीले पनि बैंक तथा वित्तीय क्षेत्रले जस्तो सामाजिक उत्तरदायित्वका काम गर्न सकेका छैनन्। बीमा कम्पनीले आफ्नो नाफाको केही प्रतिशत बीमाको अध्ययन अनुसन्धानमा खर्चिनुपर्ने घिमिरे सुझाव दिन्छन्।

यस्तो छ समितिको योजना

नेपालमा ५० वर्षमा जम्मा बीमा क्षेत्रको कभरेज ७ प्रतिशतमा मात्रै सिमित भएपछि १० वटा जीवन तथा तीन वटा निर्जीवन बीमा कम्पनीलार्इ अनुमति प्रदान गरिएको बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागार्इले बताए।

पुराना बीमा कम्पनी यथास्थितीमा बसेपछि कम्पनीको पूँजी पनि बढाउन निर्देशन दिएको चापागार्इले बताए। नयाँलार्इ अनुमति तथा पुरानाको पूँजी बढाएसँगै यस वर्ष आर्थिक वर्ष भरीमा बीमा क्षेत्रको पेनिट्रेसन ११ प्रतिशत पुग्ने चापागार्इले बताए। त्यस्तै यस वर्ष नेपालको अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान २.५ प्रतिशत पुग्ने अनुमान गरिएको उनले बताए।

बीमा समितिलार्इ बलियो बनाएर नियमन तथा सुपरिवेक्षणको कामलार्इ आगामी दिनमा अझ प्रभावकारी बनाउने चापागार्इको योजना छ। आफ्नो कार्यकालमा आफु आउदा ७ प्रतिशतको पेनिट्रेसनलार्इ दोब्बर बनाउने उनले दावी गरे। उनी भन्छन्-‘अबको चार वर्षमा १४ प्रतिशत नघाउन सक्छु जस्तो लाग्छ।’

सुस्त अवस्थामा रहेको बीमा बजारलार्इ चुस्त बनाउन नै धेरै लामो समय देखि पेण्डिङमा रहेका कम्पनीलार्इ अनुमतिको प्रकृया अगाडि बढाएको चापागाईले बताए। पुरानालार्इ पनि बलियो र चुस्त बनाउन पूँजी बृद्धि योजना ल्याइएको उनले प्रष्ट पारे।

नयाँ कम्पनी आएसँगै कर्मचारी तथा दक्ष जनशक्तिको अभावलार्इ व्यवस्थापन गर्न बीमा समिति आफैँले बीमा कम्पनीको सहभागितामा ट्रेनिङ इन्स्टिच्युट खोल्न लागेको चापागाईले जानकारी दिए।  

‘अन्तर्राष्ट्रिय स्तरमा नै बीमा बजारलार्इ मापन गर्ने सूचकको रुपमा बीमाको पेनिट्रेसनलार्इ हेर्ने गरिन्छ त्यसैले मेरो फोकस नै बीमाको दायरा बढाएर धेरै भन्दा धेरै मानिसलार्इ बीमा गराउने हो’- उनले भने।

एक वर्ष अगाडि बीमाको प्रिमियम ३३ अर्ब रुपैयाँको थियो भने यहि आर्थिक वर्षमा ६० अर्ब रुपैयाँ पुग्ने उनले बताए। निर्जीवन बीमा कोष तर्फ भने एक वर्ष अगाडि १३ अर्ब रुपैयाँ रहेकोमा यस आर्थिक वर्ष भरीमा २२ अर्ब रुपैयाँ पुग्ने अपेक्षा गरिएको उनले जानकारी दिए।

आफ्नो कार्यप्रणालीले बीमा क्षेत्रलार्इ गुणात्मक रुपमा बढाउन सफल भएको चापागाईले दावी गरे। चापागार्इ अध्यक्ष भएर आएसँगै समितिले नयाँ जीवन तथा निर्जीवन बीमा कम्पनीलार्इ लाइसेन्स दियो, जीवन तथा निर्जीवन बीमा कम्पनीको पूँजी बृद्धि योजना, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, बीमक दर्ता तथा बीमा व्यवसाय संचालन सम्बन्धी निर्देशिका, बाली तथा पशु धन निर्देशिका, मोटर बीमा दर सम्बन्धी निर्देशिका, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन जारी गरेको छ।

लामो समयदेखि आन्दोलनमा रहेका अभिकर्ताको समस्या समाधान गरेर जीवन बीमा व्यवसाय अझै बढाउन सकिएको चापागार्इ बताउँछन्। बीमा कम्पनीले बीमाको बारेमा प्रचार प्रसार नगर्दा धेरै बजार सुस्त भएको भन्दै समितिले व्यवस्थापन खर्च मध्ये २५ प्रतिशत खर्च गर्नुपर्ने वाध्यकारी नियमले धरै भन्दा धेरै जनताले बीमा बजारको वारेमा जानकारी पाउन सक्ने अवस्था सिर्जना भएको उनले बताए।

बीमा समितिले पनि बीमा बजारको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले स्थानीय निकायसँग मिलेर काम गर्न सुरु गरेको उनले बताए। आगामी दिनमा अझै नीतिगत सुधार तथा अनुगमनको कामलार्इ प्राथमिकताका साथ अगाडि बढाउने समितिको योजना छ।
 

Share this Story

   

बीमा समिति ५० वर्षमा, ५० वर्षको उपलब्धी जम्मा ७% को कभरेज, नियमन बलियो बनाउँदै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.