शिवम् सिमेन्टले साधारण शेयर जारी गर्ने प्रकृया सुरु गर्यो, प्रिमियम मूल्य तोक्न कसरत

बिजमाण्डू
२०७५ बैशाख ३० गते १०:४१ | May 13, 2018
शिवम् सिमेन्टले साधारण शेयर जारी गर्ने प्रकृया सुरु गर्यो, प्रिमियम मूल्य तोक्न कसरत
काठमाडौँ। शिवम् सिमेन्टले साधारण शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको छ। कम्पनीका शेयर सदस्य तथा लक्की ग्रुपका अध्यक्ष सतिश मोरले प्रिमियम मूल्यमा शेयर निष्कासनको प्रक्रिया अघि बढाएको बताए। कति प्रिमियममा शेयर निष्कासन गर्ने भन्ने अन्तिम टुङ्गो भने लागिसकेको छैन। 
 
कम्पनीको वित्तीय विवरण अनुसार सर्वसाधारण र कम्पनी दुवैलाई फाइदा हुने गरी प्रिमियम मूल्य बोर्डको सहमतिमा तय गरिने मोरले बताए। 
 
वास्तविक क्षेत्रका कम्पनीलाई सर्वसाधारणमा लैजान सरकारले गरेको प्रोत्साहन र सर्वसाधारणलाई पनि साझेदार बनाउँदै उद्योग प्रभावित क्षेत्रका सर्वसाधारणलाई कम्पनीको हिस्सेदार बनाउन कम्पनीले शेयर निष्कासन गर्न लागेको मोरले बताए। 
 
शेयर निष्कासन पछि प्राप्त हुने पूँजीले कम्पनीको क्षमता बढाउने योजना कम्पनीले बनाएको छ।
 
उनका अनुसार, कम्पनीलाई नेपाल धितोपत्र बोर्डले शेयर निष्कासन प्रक्रियाअन्तर्गत ‘फस्ट कमेन्ट’ गरिसकेको छ। बोर्डले दिएको ‘मेजर कमेन्ट’ मा कम्पनीलाई तेस्रो त्रैमासको वित्तीय विवरण पेस गर्ने भनिएको छ। 
 
बोर्डले दिएको सुझाव अनुसार, हाल कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण तयार गरी रहेको छ। वित्तीय विवरण तयार भएलगत्तै बोर्डले मागेका अन्य कागजात सहित फेरि आवेदन दिइने छ। बोर्डमा कागजात पेस भएपछि शेयर निष्कासनको मिति तय हुने मोरले बताए। 
 
पहिलो कमेन्ट अन्तर्गत बुझाएको कागजातबाटै बोर्डले अन्तिम स्वीकृति दिए कम्पनीले शेयर निष्कासन प्रक्रिया तत्कालै अघि बढाउने छ। नत्र बोर्डको सुझाव अन्तर्गतनै कम्पनीले थप प्रक्रिया पूरा गर्दै अगाडि बढ्ने योजना बनाएको छ। 
 
कम्पनीले गत पुस २५ गते १३औ साधारणसभाबाट १० प्रतिशत शेयर सर्वसाधारणलाई दिने विशेष प्रस्ताव पारित गरेको थियो। त्यही प्रस्ताव अनुसार २०७४ चैत ६ गते उद्योग प्रभावित क्षेत्र र सर्वसाधारणका लागि शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो।
 
कम्पनीले उद्योग प्रभावित क्षेत्रका लागि दुई प्रतिशत हुन आउने आठ करोड ८० लाख रुपैयाँ बराबरको आठ लाख ८० हजार कित्ता र सर्बसाधारणलाई  १० प्रतिशत हुन आउने ४४ करोड रुपैयाँ बराबरको ४४ लाख कित्ता शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो। 
 
सात वर्षअघि चार अर्ब लगानीमा स्थापना भएको शिवम् सिमेन्टले ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। दैनिक १९ सय टन क्लिंकर उत्पादन क्षमता भएको यो उद्योग हेटौंडाको हटियामा सञ्चालित छ। 
 
उद्योगको दैनिक उत्पादन क्षमता ३ हजार टन सिमेन्ट छ। आफ्नै क्लिंकर खानी रहेको यो उद्योग सर्वसाधारणमा जान दुई वर्षअघि नै पब्लिकमा कम्पनीमा रूपान्तरण भएको हो। 
 
कस्तो छ कम्पनीको वित्तीय अबस्था ?
कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५४ करोड ६८ लाख ७९ हजार ४८२ रुपैयाँ (नेट प्रोफिट) नाफा गरेको छ। गत आर्थिक वर्षभरी ८१ करोड १३ लाख ७२ हजार ८७७ रुपैयाँ नाफा कमाएको थियो। 
 
गत वर्ष कम्पनीले सात अर्ब ३६ करोड ३६ लाख ८३ हजार ७५५ रुपैयाँ बराबरको उत्पादन गरेको थियो। यो वर्ष पुस मसान्तसम्म उत्पादन चार आर्ब सात करोड २५ लाख ९३ हजार ७१ रुपैयाँमा गरेको छ।
 
दोस्रो त्रैमासमा कम्पनीको चार अर्ब ४६ करोड २६ लाख  बराबरका सम्पत्ति संयन्त्र र उपकरण रहेका छन्। कम्पनीको शेयर पूँजी तीन अर्ब ८७ करोड रुपैयाँ रहेको छ। 

Tata
GBIME
Nepal Life