सिमेन्ट उद्योगीको तेस्रो मुलुकमा उत्पादित कोइला भारतबाट पैठारी गर्न माग, ५ नाकाबाट आयात




विराटनगर।अर्घाखाँची सिमेन्टले क्षमता बढाएर तीन हजार टन उत्पादन सुरु गरेको छ।उत्पादन दोब्बर भएपछि संचालकका लागि सबैभन्दा ठूलो टाउको दुखार्इको विषय बनेको छ कोइला।


सिमेन्ट उत्पादनका लागि अत्यावश्यक कोइला तेस्रो मुलुकबाट ल्याउनुपर्छ।कोइला काठमाडौंसम्म ल्याइपुर्याउन कम्तीमा पनि ६ महिना लाग्छ।‘उत्पादन बढेपछि हामीले एक्सपान्सन गर्यौ तर हामीलार्इ अहिले सबैभन्दा ठूलो समस्या भनेको कोइलाको भइरहेको छ।६ महिनालार्इ धान्ने कोइला ल्याएर राख्नुपर्ने बाध्यता छ’ अर्घाखाँचीका संचालक पशुपति मुरारकाले बिजमाण्डूसँग भने,अहिले धेरै उद्योग कोइला अभावले पूर्ण रुपमा संचालनमा आउन सकेको छैन।‘

उनका अनुसार कोइला अभावका कारण कतिपय उद्योगले क्षमता बढाउन समेत डराइरहेका छन्।चिनियाँ लगानीको होङसी शिवम सिमेन्टले समेत अहिले आवश्यक कोइला ल्याउन थालेको छ।‘ठूला उद्योग आइरहेका छन्।हामीसँग चुनढुंगा पनि यथेष्ठ छ तर कोइला हामीसँग छैन’ मुरारकाले भने, अब आउने उद्योग कोइलाकै कारण समस्यामा पर्ने देखिएको छ।सरकारले बेलमै यो समस्या समाधान गर्नुपर्छ।‘

कसमस सिमेन्टका संचालक प्रवलजंग पाण्डे कोइलाका कारण सिमेन्ट उत्पादननै महँगो भएको बताए।‘कोइलाकै कारण नेपालको सिमेन्ट उत्पादन महँगो भएको छ।कोइलाका लागि ६ महिना पैसा फसाउनुपर्छ यसको ब्याज लगायत जोड्दा हाम्रो उत्पादन महँगो भएको छ’उनले बिजमाण्डूसँग भने।यो समस्या समाधानका लागि सिमेन्ट उद्यमीले सरकारसँग हारगुहार गरेका छन्।सिमेन्ट उद्योगीले तेस्रो मुलुकमा उत्पादित कोइला भारतमा खरिद गरेर नेपाल आयात गर्न पाउनुपर्ने माग राखेका छन्। सिमेन्ट उद्योगले दक्षिण अफ्रिका र इन्डोनेसिया लगायतका तेस्रो मुलुकबाट कोइलाको आयात गरिरहेका छन्। तेस्रो मुलुकको यही कोइला भारतका व्यवसायीबाट नेपालमा आयात गर्न पाउनुपर्ने माग सिमेन्टका उद्यमीले गरेका हुन्।


 
नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाले सिमेन्ट उद्योगमा कोइलाको ठूलो झन्झट भइरहेको हुँदा भारतका व्यवसायीबाट पैठारी गर्न पाउनुपर्ने माग गरिएको बताए।
 
संघले अर्थ सचिव राजन खनाललाई  लिखित निवेदन दिएर नै भारतबाट तेस्रो मुलुकको कोइला खरिद गर्न पाउनुपर्ने आग्रह गरेको अध्यक्ष थापाले जानकारी दिए ।
 
वाधक सम्झौता खोल्न सकिने
समुद्रपार उत्पादित सामग्री भारतबाट नेपालमा आयात गर्न द्विपक्षीय सम्झौता वाधक छ। यसलाई अन्तरसरकारी बैठकमा छलफल गरेर मन्त्रीस्तरीय निर्णयले खोल्न सकिन्छ।
 
‘भारतका व्यापारी यसका लागि तयार छन्, सरकारी अनुमति भएका खण्डमा नेपालमा समुद्रपारको कोइला बेच्न उनीहरू राजी छन्’, अध्यक्ष थापाले भने, ‘नेपालबाट समुद्रपारका मालवस्तु भारत जान नदिने तर भारतबाट नेपालमा आपूर्ति गर्न दिने कुरामा भारत सरकारका उच्च अधिकारी पनि सकारात्मक देखिएका छन्। समस्या नेपाल सरकारतर्फ नै छ। नेपाल सरकारले औद्योगिक समस्या बुझिदिएर यहाँको औद्योगिक वातावरणलाई सहज बनाइदिनु पर्छ।’
 
अध्यक्ष ध्रुवका अनुसार औद्योगिक कच्चा पदार्थ र सहायक कच्चा पदार्थका लागि तेस्रो मुलुकमा उत्पादित कुनै पनि सामग्री भारतबाट नेपालमा पैठारी गर्न पाउने व्यवस्था हुनुपर्छ।
 
‘क्लिङ्कर उत्पादन गर्ने सिमेन्ट उद्योगका लागि चुनढुङ्गापछिको मुख्य सहायक कच्चा पदार्थ कोइला नै हो’, ध्रुवले भने, ‘सबाल कोइलाको मात्र होइन। उद्योगमा एउटा सानो पार्टपुर्जा बिग्रियो र समुद्रपारको मुलुकबाट मगाउनु पर्यो भने यहाँ ल्याइपुर्याउन कम्तीमा २ महिना लाग्छ। भारतीय बजारमा खरिद गरेको २ दिनपछि नेपालको कुनै पनि पनि कुनामा पुर्याउन सकिन्छ। त्यसैले कोइलामात्र होइन, उद्योगलाई आवश्यक पर्ने समुद्रपारका मुलुकमा उत्पादित कच्चा र सहायक कच्चा पदार्थ भारतीय बजारबाट नेपालमा ल्याउनपाउने प्रावधानको निर्माण गरिनु आवश्यक छ।’
 
बढ्यो लागत, खस्कियो गुणस्तर 
नेपालका सिमेन्ट उद्योगले कोइलाको भयावह अवस्था भोगिरहेको उल्लेख गर्दै उनले कोइलामा मात्र २० र यसका कारणले सिमेन्ट उत्पादनमा १० प्रतिशतले लागत खर्च वृद्धि भएको जानकारी दिए।
 
दक्षिण अफ्रिका र इन्डोनेसियाबाट नेपालमा पैठारी गरिने कोइला हल्दिया बन्दरगाहबाट रेल मार्गको प्रयोग गरी रक्सौल नाका हुँदै नेपालको वीरगञ्जबाट ल्याउनु पर्ने द्विपक्षीय सम्झौता छ।
 
तर बन्दरगाहमा रेलको र्याक समयमा नपाइने हुँदा नेपाल ल्याउन लागिएको कोइला हल्दियामै छ महिनासम्म थुपार्नुपर्ने समस्या रहेको मारुती सिमेन्टका नन्दकिशोर राठीको गुनासो छ।
 
‘पैठारी गरिएको कोइला हल्दियामा छ महिना राख्नुपर्छ’, मारुतीका सञ्चालक राठीले भने, ‘यता उद्योग परिसरमा छ महिनाका लागि कोइलाको मौज्दात नराखे कुन बेला अभाव हुन्छ र उद्योग नै बन्द गनुपर्ने अवस्था हुन्छ भन्न सकिन्न। यसरी उता छ महिना र यता छ महिना कोइला थन्किँदा यसको गुणस्तर खस्किसकेको हुन्छ। अनावश्यक रूपमा कोइला थुपारेर राख्नुपर्दा बैङ्कको ब्याज अनुत्पादक रूपमा खर्च भइरहेको छ।’
 
हल्दिया बन्दरगाहमा नेपालका सिमेन्ट उद्योगले मगाएको ५ देखि ६ अर्ब रुपैयाँको कोइला अहिले पनि थन्किरहेको अध्यक्ष थापाको दाबी थियो।
 
भन्सार महसुल पनि बढी
कोइलाको मूल्य केही समययता अन्तर्राष्ट्रिय रूपमै वृद्धि भएको चर्चा गर्दै उनले भन्सार नाकामा कोइला आइपुग्दा यसको लागत प्रति मेट्रिक टन १६ देखि १७ सय रुपैयाँ पर्ने बताए।
 
नेपालमा कोइलाको भन्सार महसुल पनि भारतको भन्दा दोब्बर भएकाले यसलाई आधा पारिनुपर्ने उनको माग थियो।
 
‘भारतमा कोइलाको भन्सार महसुल पाँच प्रतिशतमात्र छ, औद्योगिक कच्चा पदार्थ भएकाले भारत सरकारले सहुलियत दिएको छ’, उनको गुनासो थियो, ‘तर नेपालमा १० प्रतिशत छ। त्यसै पनि माल ल्याउन नसकेर लागत खर्च बढिरहेका बेला भन्सार महसुलले पनि ढाड सेकेको छ।’
 
एउटा भारतीय उद्योगले आफ्नो उद्योगसम्म तेस्रो मुलकबाट कोइला ल्याउँदा प्रति मेट्रिक टन नेरु १० हजार पर्ने उनको दाबा थियो।
 
पाँच नाकाबाट पैठारी गर्न देऊ
वीरगञ्ज नाकाबाट मात्र आइरहेको कोइला अब मुलुकका पाँच नाकाबाट ल्याउन पाउनुपर्ने माग सङ्घले गरेको छ।
 
‘अब एउटा वीरगञ्ज नाकाले मात्र हामीलाई पुग्दैन, नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ र उद्योगहरू अझै थपिने क्रममा छन्’, अध्यक्ष थापाको माग थियो, ‘अब रक्सौलसहित विराटनगर, नेपालगञ्ज, जनकपुर र भैरहवाका नाका प्रयोग गरेर पनि रेलबाट कोइला पैठारी गर्न पाउनु पर्छ। यसका लागि नेपाल सरकारले भारतीय पक्षसित पहल थालिहाल्नु पर्छ।’
 
रक्सौल नाकाबाट मात्र कोइला पैठारी गर्दा पूर्व र पश्चिमका सिमेन्ट उद्योगलाई ढुवानी खर्चको थप व्ययभार पर्ने हुँदा पूर्वका उद्योगले जनकपुर र विराटनगर अनि पश्चिमकाले नेपालगञ्ज नाका प्रयोग गर्न पाउनुपर्ने उनको अडान थियो।
 
यसरी पाँच वटा नाका प्रयोग गर्न पाउने हो भने पनि हल्दिया बन्दरगाहको कन्जेसनमा कमी आउने थापाको निष्कर्ष छ।
 
सम्झौता वाधक, सरकार निष्क्रिय
‘रक्सौलबाहेक अन्य नाका प्रयोग गरेर कोइला ल्याउन पनि द्विपक्षीय सम्झौता वाधक छ’, अध्यक्ष ध्रुवको भनाइ थियो, ‘तर नेपाल सरकारले पहल पनि त गरेको छैन। पहल गर्ने हो भने भारतले कोइलाका लागि पाँचै नाका दिन सक्ने कुरामा हामी आशावादी छौँ।’
 
जोगबनी–विराटनगर नाकाबाट रेलमार्ग हुँदै कोइला ल्याउने विषयमा मारुतीका सञ्चालक राठीको नमिठो अनुभव छ।
 
‘जोगबनी नाकाबाट कोइला ल्याउन हामीले भारतको परराष्ट्र र वाणिज्य मन्त्रालयको स्वीकृति पनि लियौँ’, उद्यमी नन्दले सुनाए, ‘तर भारतीय रेल विभागले मानेन। फेरि ब्याक टु रक्सौल हुन बाध्य भयौँ।’


Share this Story

   

सिमेन्ट उद्योगीको तेस्रो मुलुकमा उत्पादित कोइला भारतबाट पैठारी गर्न माग, ५ नाकाबाट आयात को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.