नेपालमा जस्तो व्यापार गर्न अन्य देशमा कठिन छैन, सुधीर मित्तलको अन्तर्वार्ता




विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) मा जागिर छाडेर सुधीर मित्तल स्वदेशमै व्यवसाय गर्न नेपाल फर्किए। उनी फर्किए अनि श्रीएयरलाइन्स सम्हाले। उनी अहिले त्यहाँ प्रवन्ध निर्देशक छन्।
बुबा वनवारीलाल मित्तलले खडा गरेको व्यवसायिक साम्राज्यलार्इ थप विस्तार गर्ने लक्ष्यसहित दश वर्षअघि आइएफसीको डलरको तलब छाडेर उनी नेपाल फर्किएका थिए। बुबाले गरिरहेको हेलिकोप्टरको बिजनेशलार्इ फिक्सविङमा सिफ्ट गर्न चाहे। उनले फिक्सविङमा सिफ्ट गर्दा धेरै हण्डर खानुपर्यो। कुनै समय आइएफसीमा जागीर खाँदा नीतिगत परिवर्तनका लागि लबिङ गर्ने मित्तल त्यही सरकारी नीतिका कारण मारमा परे। विभिन्न वहानामा फिक्सविङ चलाउनका लागि जहाज ल्याएको चार महिनासम्म उड्न दिइएन। नेपाल र भारत लगायतका सयभन्दा बढी देशमा आइएफसीमा काम गरेका मित्तललार्इ बिजमाण्डूका सम्पादक विज्ञान अधिकारीले सोधे- वाहिरको विजनेश र हावापानी बुझेर आएको मान्छेलार्इ यहाँ आफ्नै किसिमको सोच छ। कठिन भएन तपार्इँलार्इ?


 
एउटा जनरल प्रस्पेक्टिभ छ, एयरलाइन्स विजनेश भनेको वाघको सवारी हो।झर्न नमिल्ने तर उसको स्पीडमा दौडिन परिरहने। कस्तो फिल भइरहेको तपार्इँलार्इ?
म झर्नुपर्ने आवश्यकता देख्दिन। वाघको सवारी भन्नुभयो त्यो एक हदसम्म ठीकै पनि हो। वाघलार्इ दौडिनका लागि जंगल पनि त्यही हिसाबले हुनुपर्यो।त्यो हिसाबको वातावरण पनि हुनुपर्यो। हामीकहाँ सम्भावना नभएको होइन। यहाँ सम्भावना धेरै छन् र गर्नसकिने धेरै छन्। तर यहाँ सबैभन्दा ठूलो दूर्भाग्य के भयो भने काम गर्ने वातावरण चाँही भएन। यहाँको सोचार्इ अहिलेपनि १९७०को दशकमा अड्किएको छ। हाम्रो नीतिनिर्माताहरुले, देश निर्माताहरुले यसलार्इ गहन सोच गरेर कसरी परिवर्तन गर्न सकिन्छ भन्नेतिर लाग्नुपर्छ। यो सोचार्इ परिवर्तन हुनेवितिकै नेपालमा धेरै सम्भावना छ।नेपालमा सबैभन्दा ठूलो सम्भावना भनेको पर्यटन हो। हवार्इ सेवा भनेको पर्यटनसँग जोडिएको व्यवसाय हो। त्यसमा नेपालजस्तो भौगोलिक विकटता भएको ठाउँमा हवार्इ सेवाको सम्भावना बढी रहन्छ। अहिले धेरै ठाउँमा बाटो पुगेपनि हवार्इसेवाको सम्भावना छ र रहिरहनुपर्ने हो।
 
तर यो 'क्यास वर्निङ' विजनेश हो नी?
विल्कुल हो। ‘क्यास वर्निङ’ विजनेश हो त्यसैले क्षमता भएकोले गर्नुपर्यो। जसले आँट गर्नसक्छ त्यसले गर्नुपर्छ। सेनामा सिपार्इँहरु लडार्इका लागि जान्छन् उनीहरुलार्इ हामी वेवकुफ भन्दैनौनी। किन गोली खाने भनेर बस्दैनन्। सबैको आफ्नो/आफ्नो सोचार्इ हुन्छ। सेना आफ्नो देशका लागि लड्छु भनेर गएको होला। त्यस्तै एयरलाइन्समा सम्भावना पनि छ र चार्मिङ पनि छ। यो अनौठो काम सबैले गर्न नसक्ने काम पनि हो।
 
विलेनियरबाट मिलेनियर बन्न धेरै समय नलाग्ने विजनेश पनि हो। त्यो क्यापासिटी नेपालका विजनेश कम्युनिटीसँग डेभलप भइसकेको हो?
यो तपार्इँले भन्नुभएको धेरै पूरानो उखान हो। बिलेनियरबाट मिलेनियर बन्न एयरलाइन्स सुरु गर्नु भन्ने उखान ठीकै हो। मिलेनियरबाट बिलेनियर बन्न एयरलाइन्सबाट त्यति सजिलो भने छैन। एउटा व्यापार हो एकहिसाबले चलिरहने हो। कुनैपनि व्यापार गर्दा त्यसमा विग्रिनसक्ने सम्भावना के के छन्? त्यसलार्इ हटाएर हामीले कसरी अगाडी बढ्न सक्छौं भन्ने हेर्नुपर्छ। ‘रिक्स’का बारेमा हेरेर मात्रै नयाँ व्यवसाय अघि बढाउनुपर्छ। त्यसमा आफूले सोचेको जस्तो भएन।
 
प्राकृतिक,सरकारको नीति वा चाहे अरु कुनै कृत्रिम कारणले होस् त्यो भयो भने मार परिहाल्छ। ठूलो लगानी, ठूलो ‘क्यास वर्निङ’ हुने व्यवसाय भएकाले छिट्टै विग्रिने सम्भावना पनि बढी हुन्छ। त्यही भएर गर्नसक्ने मान्छेले यतिचाँही आँट गर्छु भन्ने हो। मेरै उदाहरणको कुरा गर्नुहुन्छ भने जहाज आएर चार/चार महिना थन्किएर बस्नुपर्यो। विभिन्न कारणहरुले उड्न दिएनन। त्यसको ब्याजको मात्रै हिसाब गर्ने हो भने टाउको दुख्छ र रिंगटानै लाग्छ।होइन हामीले यो व्यवसायनै बन्द गर्नुपर्यो भनेर बैंकमा गयो भने केही हुने थिएन। मैले क्षमता छ भनेको होइन यहाँ सम्भावना छ भनेर डटिरहनुपर्छ, लडिरहनुपर्छ भनेर गरिएको हो।


 
हाम्रोमा आन्तरिक उडानका लागि जरा गाडेर बसेका दुर्इवटा एयरलाइन्स अपरेटरका बीचबाट नयाँ अपरेटर आएर प्रतिस्पर्धा गर्नु कठिननै काम हो नी?
पक्कै पनि कठिन छ। तर हवार्इ सेवा मेरो पिताजीले २० वर्षअघि सुरु गर्नुभएको हो।हेलिकोप्टरमा सबैभन्दा ठूलो पनि भइयो। नेपालमा कसैले नगरेको धेरै काम पनि गरियो। संयुक्त राष्ट्रसँगमा गएर अफ्रिकाजस्तो ठाउँमा सेवा पनि दिइयो। ठूलो हेलिकोप्टर एमआर्इमा अरु कसैले नसकेर बन्द गरे तर हामीले चालु  गरिरह्यौं। अहिले पनि संचालनमा छ। त्यसले धेरै सहयोग पनि भएको छ। भूकम्प गएपछि हरेक ६/६ महिनामा गोरखामा हामीले हेलिकोप्टर पठाइदिन्छौं। हामीले लगभग लागतमै उडान गरिरहेका छौं। किनभने गोरखामा धेरै जनताले दुख पाएका छन्।विभिन्न ठाउँमा निर्माण सामाग्री लैजाने काममा सहयोग गरिरहेका छौं।
 
हेलिकोप्टरबाट यही क्षेत्रलार्इ निरन्तरता दिन अरु के व्यवसाय सुरु गर्नुपर्छ भनेर योजना बनाउन थाल्यौं। हामीले फिक्सविङमा जाने टुंगोमा पुग्यौं।फिक्सविङ गर्दा पनि तीनवटा क्याटागोरी छन्। मुलुकभित्र साना जहाज (जुन पहाडी इलाकामा उडान भर्छन्), भरतपुर, पोखरा तथा सिमराजस्ता साना विमानस्थलमा चल्ने हवार्इजहाज र यात्रुको चाप धेरै भएको तथा ठूला एयरपोर्ट भएका ठाउँ (ट्रंक रुट) मा चल्ने तीन प्रकारका छन्। हामीले के विचार गर्यौ भने दुर्गम भेगमा राम्रो गर्ने कम्पनीहरु छन्। तारा,गोमा लगायतका एयरलाइन्सले राम्रो गरिरहेका छन्। त्यो भन्दा पनि हामीले अलग्गै किसिमको जेट विमान ल्याएर ट्रंक रुटमा उडान गर्ने र विस्तारै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालबाट उडान गर्ने योजना अनुसार आयौं। तपार्इँले भनेको जस्तै यति र बुद्ध एकदमै राम्रो काम पनि गरिरहेका छन्। उनीहरुले दुख पनि पाएका छन्। विभिन्न प्राकृतिक प्रकोपहरु पनि खेप्दै उनीहरुले सेवा दिँदै आएका छन्। यो बीचमा हामी पनि आयौं।

हामी आएर उड्ययन क्षेत्रलार्इनै फाइदा भएको छ। दुर्इवटा मात्रै बस्दा एउटा कम्प्लेसन चाँही आउँछ त्यो बेलामा नयाँ कम्पनी आयो भने पूराना कम्पनी पनि जागरुक हुन्छन्। हाम्रो कारणले होइन होला तर हामी आएपछि यतिले पनि एटिआर ल्यायो। यसमा मैले कुनै जश लिन खोजेको होइन उहाँहरुको पहिलेदेखिकै योजना थियो होला। जनताले पहिला जेटस्ट्रीम चढिरहेका थिए अब एटिआर चढ्न पाएका छन्। त्यस्तै गरेर बुद्धको पनि जहाजहरु थपिइरहेका छन्। उनीहरुको सेवा पनि अझ राम्रो भइरहेको छ। पहिला पनि राम्रो थियो। हामी आउँदा कसैलार्इ पनि नोक्सान भन्ने भएको छैन। नेपालको उड्ययन क्षेत्रको विकास भइरहेको छ। यसमा हामीले सानो हिस्सा मात्रै लिएको हो।यो क्षेत्रमा गाह्रो नभएको होइन तर सम्भावना देखेरनै हामीले फिक्सविङ सुरु गरेका हौं।
 
तर हाम्रो नेपालको विजनेश गर्ने शैली,संरचना अलि फरक छ। तपार्इँ वाहिर काम गर्नुभयो। वाहिरको विजनेश र हावापानी बुझेर आएको मान्छेलार्इ यहाँ आफ्नै किसिमको सोच छ। कठिन भएन तपार्इँलार्इ?
हो, धेरै कठिन भयो। कठिनका लागि एउटा नयाँ शब्दनै खोज्नुपर्ला। म धेरै निराश पनि भए बेलाबेलामा। कतिपटक बेकारमा व्यवसाय सुरु गरिएछ जस्तो पनि लाग्यो। तर हाम्रो जन्मभूमी र कर्मभूमी यही हो। मैले सय वटा भन्दा बढी मुलुक देखेर काम पनि गरे। यहाँजस्तो कठिन अन्यत्र कतै देखेको छैन। त्यस्ता मुलुकहरु छन् होला तर मैले देखेको छैन। यसलार्इ कठिन भन्दा पनि फरक भन्नुपर्ला। यहाँको काम गर्ने शैली, विचार धेरै फरक छ।विस्तारै/ विस्तारै सिक्दैछु। मेरो दुर्भाग्य मैले बुबासँग सिक्न पाउँला भन्ने लागेको थियो तर अकस्मात बुबाको देहावहासन भयो। सिक्ने अवसर धेरै भएन। तर मैले गल्ती के गरे भने दुर्इ/तीन वर्ष जानेर/सिकेर त्यसपछि एक्सपान्सनमा लाग्नुपर्ने थियो। तर मैले तत्कालै गरिहाले। जे भयो/भयो अब विस्तारै सिक्दैछु। तर यहाँ धेरै फरक छ।

वास्तवमा नेपालले ठूलो आर्थिक वृद्धिदर गर्ने हो भने सोचार्इ परिवर्तन नभर्इ हुँदैन। म अहिले धेरै आशावादी  प्रधानमन्त्री केपीशर्मा ओलीज्यूसँग छु। उहाँ बहुमतसहित सरकारमा आउनुभएको छ। उहाँको कुरा सुन्दा र भेटे्दाखेरि धेरै आशा राख्ने ठाउँहरु छन्। अहिले अर्थमन्त्रीमा आउनुभएको डा युवराज खतिवडालार्इ पनि म चिन्छु। उहाँ गहन अध्ययन भएको, क्षमता भएको र केही गर्नसक्ने व्यक्ति पनि हो। उहाँ अरुको नचाहिँदो कुरा सुन्नुपनि हुन्न।पहिला म अलि निराशै भइसकेको थिए। तर अहिले आशा पलाएको छ। उहाँहरुले राखेका चाहना कार्यान्वयनमा आयो र विभिन्न शक्तिकेन्द्रहरुले घुमाइदिएनन् भने नेपालमा सम्भावना भने देखेको छु।


 
हाम्रो आन्तरिक उडानमा प्रतिस्पर्धा बढ्दै गएको छ।बुद्ध र यति आफ्नै गतिमा दौडिरहेका छन्।तपार्इहरु थपिनुभयो र सौर्य पनि छ। अरु एयरलाइन्सहरु पनि आइरहेका छन्।यो प्रतिस्पर्धाले हवाइ उड्ययन क्षेत्रलार्इ कहाँ लैजान्छ? यसले विकृती त ल्याउँदैन्?
यसले विकृती त ल्याउँदैन्। तपार्इँले भनेको जस्तै प्रतिस्पर्धा भने बढेको छ। प्रतिस्पर्धाको सबैभन्दा बढी फाइदा जनताले पाएका छन्। हवाइ भाडा घटेका छन् भने उडानहरु बढेका छन्। जनताले छनौंट गर्न पाएका छन्। पहिला दुर्इवटा थियो भने अब चार वटा भयो। जहाँसम्म लाग्छ लागतभन्दा कममा उडाउने काम भएको छैन। तर भोली नहोला भन्ने छैन। प्रतिस्पर्धा वास्तवमै बढ्दै गयो भने यात्रुहरुको संख्या सोच अनुसार बढेन भने भाडा घटाउनुपर्ने भइहाल्यो। त्यो भयो भने क्षमता अनुसार घट्दै जान्छ।

म अर्थशास्त्रको विद्यार्थी होइन तर सामान्य अर्थशास्त्रको सिद्धान्त अनुसार सक्ने अगाडि बढ्छन् नसक्ने हट्दै जान्छन्। लागत बढ्दै गयो तर आम्दानी घट्दै गयो भने खर्च कटौतीका लागि सुरक्षामा सम्झौंता भने हुनुभएन। सुरक्षामै सम्झौंता भयो भने हवार्इ उड्ययन क्षेत्रमै नकारात्मक असर पर्न सक्छ। यसमा नागरिक उड्ययन प्राधिकरण चनाखो हुनुपर्छ। पूराना बुद्ध र यति सेफ्टीमा धेरैनै कन्सियस छन्। उनीहरुले सेफ्टीमा कम्प्रमाइज गर्दैनन्। हाम्रो पनि २० वर्षदेखि हेलिकोप्टरमा संलग्न भएकाले सेफ्टीमा कम्प्रोमाइज हुँदैन। बरु सकिएन भने उडाननै बन्द हुन्छ।
 
सडक निर्माणको ‘बोटलनेक’ले त्यसको प्रेसर हवार्इ उड्ययन क्षेत्रमा सिफ्ट भएको छ। बाटो निर्माण भएपछि पनि त्यतिनै यात्रुहरु फेला पर्लान्?
नपर्न सक्छन्। यसमा दुर्इवटा सोच छ। एउटा भनेको एक पटक हवार्इ जहाज चढेर जाने र छिटो पुग्ने बानी परिसकेपछि भाडा अकस्मात निकैनै बढेन भने सकेसम्म बाटोबाट जानुभन्दा हवार्इ जहाजबाटै चढेर जान रुचाउँछन्। अर्को भनेको देशमा आर्थिक उन्नति भयो भने जनताको क्रयशक्ति समेत बढ्छ।त्यही भएर यात्रुहरुको संख्या बढ्नेनै भयो। सडक पूर्वाधार बनेपनि हवार्इ जहाजबाट धेरै नघट्ला की।
 
जुन सडकको ‘बोटलनेक’ छ अहिले आएर विमानस्थलमा देखिन थालिसकेको छ नी?
विल्कुल सही हो। अस्ति हाम्रै जहाज भैरहवाबाट आउँदा १ घण्टा ८ मिनेट लाग्यो।यो फ्लाइट जम्मा २४ मिनेटको हो। ट्राफिकको समस्या त्यस्तै छ।पार्किङको पनि समस्या छ। यो मैले दोष दिनका लागि भनेको होइन। यस्तो समस्या आउँछ भनेर  पहिलादेखिनै सोच्नुपर्ने थियो होला। विगतलार्इ सम्झेर मात्रै भएन। अब के गर्ने? योजनाहरु पनि छन्।नागरिक उड्ययन प्राधिकरण र पर्यटन मन्त्रालयले गरिरहेका छन्। तर अब ती योजनालार्इ जतिसक्दो छिटो अगाडि बढाउन आवश्यक छ।
 
एभिएयसन कन्जेशन छ। यो कन्जेशनलार्इ कसै कसैले विद्युतको लोडसेडिङको जस्तै रुपमा पनि हेर्छन् नी?
त्यो चाँही मैले अहिले देखेको छैन। म्यानेजमेन्ट स्कील भन्दा पनि दूरदर्शिता नपुगेको चाँही हो। प्लानिङ नपुगेको हो। हामीले फोरकाष्टनै गर्न सकेनौ।गरेपनि फोरकाष्ट अनुसार प्लानिङनै गर्न सकेनौ। हामीले निजगढको कुरा गरेको पनि २० वर्ष भइसकेको छ। हाम्रो धेरैजसो प्रोजेक्ट ढिला हुन्छन्। भैरहवा पनि अहिलेसम्म सुरु भइसक्नुपर्ने हो। अर्को वर्ष हुन्छ भनिएको छ। त्यो भयो भने अलिअलि चाप घटाउँछ।पोखराको पनि कुरा भइरहेको छ त्यसमा पनि दुर्इ/तीन वर्ष लाग्छ। तैपनि अहिलेसम्म पनि नेपाल भनेको काठमाडौं केन्द्रितनै हो।सबै काठमाडौं आउन खोज्छन् त्यही भएर निजगढ विमानस्थल र फाष्ट ट्रयाक नबनि यसमा उल्लेख्य सुधार हुँदैन।
 
त्रिभुवन विमानस्थल सुधार गरेर कन्जेशन घटाउन सक्ने अवस्था छ कि छैन?
छ। त्यहाँ केही न केही गर्न सकिने अवस्था नभएको होइन। धेरै गर्नसकिने ठाउँ छैन। अर्को रनवे बनाउनका लागि ठाउँ छैन। तर मैले विभिन्न प्रस्ताव सुनिरहेको छु। दुर्गम जाने विमानलार्इ क्षेत्रीय विमानस्थलमा सार्ने योजना सुनिरहेको छु। जस्तो लुक्ला जाने विमानहरु रामेछापमा सारिदिने वा अरु कुनै उपाय गर्न सकियो भने ठूलो कन्जेशन घट्छ। पर्यटकीय सिजनमा सयभन्दा बढी फ्लाइट लुक्ला हुन्छ। यो काठमाडौंबाट जाने घटाउने र ती जहाजको पार्किङ यहाँ नगर्ने वित्तिकै त्यसलेे धेरै ठूलो फाइदा गर्छ। अर्को ठूलो समस्या भनेको अन्तर्राष्ट्रिय जहाजका लागि पार्किङको ठाउँ छैन। त्यो पनि राम्रोसँग प्लानिङ गरेमा हुनसक्छ। विमानस्थलको पारिपट्टी बनाउने योजना समेत भइरहेको छ। त्यो योजनाहरु राम्रा विशेषज्ञ ल्याएर छिटो कार्यान्वयनमा जानुपर्यो। हामीकहाँ कुराहरु धेरै भयो अब कार्यान्वयनमा जानुपर्यो।


 
हाम्रो हवार्इ उड्ययन क्षेत्र काठमाडौं केन्द्रित देखियो।यसलार्इ क्षेत्रीय स्तरमा सिफ्ट गर्नसक्ने अवस्था रहन्छ की रहँदैन?जस्तो उदाहरणका लागि विराटनगरबाट भैरहवा, सिमराबाट पोखरा उडान गर्ने बारेमा हाम्रो सोच नपुगेको हो?
अहिलेसम्म हेर्दाखेरि विराटनगरबाट भैरहवासम्म जस्ता योजना अहिलेसम्म बनेका छैनन्। बसकै कुरा गर्दा पनि विराटनगर- काठमाडौ, भैरहवा-काठमाडौं मात्रै छन्। विराटनगरबाट भैरहवा बस चलेको होला तर दिनको एउटा मात्रै होला। त्यो पनि उसले विराटनगरबाट नेपालगञ्जसम्म जाने बीचमा भैरहवा हुँदै जाने मात्रै होला। किनभने यात्रुहरु धेरै छैनन्। मुलुकनै हाम्रो काठमाडौं केन्द्रित हो। प्रदेशहरु भएपछि अलि फरक होला। तर समय अलि लाग्छ। तुरुन्तै यसमा परिवर्तन आउँला भन्ने देखेको छैन। गौतम बुद्ध विमानस्थललार्इ जतिनै प्रवर्द्धन गरेपनि धेरैजसो पर्यटक काठमाडौं आउन खोजिहाल्छन्। चाँहे उनीहरु काठमाडौं आएर त्यहाँ जाउन वा त्यहाँबाट काठमाडौं आउन।काठमाडौं,पोखरा छिट्टै बदलिनेवाला छैन।
 
श्री एयरलाइन्स आन्तरिक वाहेक अन्तर्राष्ट्रिय उडानमा समेत जाने योजना बनाइरहेको छ। अन्तर्राष्ट्रिय उडानका लागि समेत आवेदन दिइसकेको छ। अन्तर्राष्ट्रिय उडानमा जाने सोच पछाडिको कारण के हो?
सोच पछाडिको कारण धेरै साधारण छ। नेपाल आउने पर्यटक र नेपालबाट वाहिर जाने वैदेशिक रोजगारी वा अरु कुनै कारणले जाने नेपालीहरुमध्ये ८५ प्रतिशत भन्दा बढी यात्रु विदेशी वायुसेवा प्रदायकले बोकिरहेका छन्। यो लाजमर्दो हो।
 
धेरैजसो मुलुकहरुले ५० प्रतिशत भन्दा बढी नाघ्नै दिँदैन। कुनै एयरलाइन्सको नाम  नलिउ तर त्यो एयरलाइन्सले दैनिक चारवटा फ्लाइट गरिरहेको छ।तर हामीले राष्ट्रिय सेवा प्रदायकलार्इ अघि बढाएनौं। हाम्रो ७० को दशकको सोचकै कारण विदेशी एयरलाइन्सको बोलवाला भएको हो। लाइसेन्स कन्ट्रोल गरेर यसलार्इ/उसलार्इ दिन्छु भन्नु सबैभन्दा ठूलो वाधक पक्ष हो। यो लाइसेन्स रोक्नुपर्ने कारण केही पनि छैन। विश्वमा जति पनि अध्ययन गर्नुस जहाँ आर्थिक गतिविधी बढिरहेको छ त्यसमा लाइसेन्स हटेकाले मात्रै सम्भव भएको छ। भारतमा पनि सन् १९९०मा आर्थिक उदारीकरण सुरु गरेपछि प्रगति सुरु भएको हो। त्यो भन्दा पहिला त्यहाँ एम्ब्यासडर कार मात्रै थियो। तर अहिले हेर्नुस भारतमा धेरै कम्पनीको हबनै बनिसकेको छ।
 
भारतमा पनि अन्तर्राष्ट्रिय उडानका लागि कसिलै प्रावधानहरु छन् नी?
भारतमा पनि छ तर हामीकहाँ जस्तो छैन। केही प्रावधान नभएका होइनन्। ती प्रावधान पूरा गरेपछि चलाउन कुनै समस्या छैंन। हामीकहाँ त्यस्तो छैन। हामीकहाँ पूरानाले समेत अन्तर्राष्ट्रिय उडानका लागि नयाँ प्रकृया अनुसार अघि बढ्नुपर्छ। आजभोलीको जमाना जहाँ लिजमा जहाज ल्याइन्छ भने तपार्इँले अथाहा पूँजी हुनुपर्छ भनेर राख्नु जायज होला। पचास करोड/एक अर्ब रुपैयाँ पूँजी राख्नुहुन्छ भने कसरी काम गर्ने? त्यत्रो पूँजी जुटाउनलार्इ तपार्इँले कृत्रिम बाधा खडा गरिदिनुभयो। त्यो पूँजी जुटाएपछि जहाज किन्न बाध्य पारिदिनुभयो। जहाज लिजमा ल्याउँदा त्यो पूँजी के गरेर राख्ने? त्यो पूँजीबाट आम्दानी बढाउनुपर्यो। जहाज किन्न भन्दा धेरै कुराले लिजमा लिन फाइदाजनक हुन्छ।
 
तर पूँजीको बोझ थपिदिनुहुन्छ। यो सबै सोच पूरानो भयो। तपार्इँले व्यापार गर्दा कति पूँजी चाहिन्छ त्यो सरकारले निर्णय गर्ने होइन। त्यो व्यापारीले निर्णय गर्ने हो। त्यो व्यापारीले पाँच लाख रुपैयाँ पूँजी राखेर जहाज ल्याउँछु भन्यो भने जसले जहाज दिने हो जुन बैंकले लगानी गर्ने हो उनीहरुले पो पूँजी पुगेन थप भन्ने हो। सरकारले यति पूँजी राख्नुपर्छ भनेर भन्छर। यो कहिँ पनि हुँदैन वेकुफी हो। कस्तो विडम्बना छ भने नयाँले आज कम्पनी दर्ता गरेर विभिन्न निकायमा निवेदन दिनसक्नुहुन्छ।
 
अन्तर्राष्ट्रिय उडान गर्छु भनेर आवेदन सहज रुपमा दिनसक्छ। तर यहाँ २० वर्ष काम गरिसकेको हामीले दिनुपर्यो भने त्यही फलो गर्नुपर्यो। त्यही प्रकृयामा जानुपर्यो। थप उसले पाँच वर्ष यस्तो काम गरेको हुनुपर्ने भन्ने प्रावधान पनि छ। नयाँलार्इ कम्पनी दर्तादेखिको प्रकृया तर अझ पूरानोलार्इ थप प्रावधान राखेर बोझ थप्ने काम भएको छ।हामीले संयुक्त राष्ट्र संघका लागि अन्तर्राष्ट्रिय उडान गरिसकेका छौं। अफ्रिकाजस्तो ठाउँमा गएर उडान गरिसकेका छौं। त्यसको कुनै मतलबनै छैन। यो उडाएर कहाँ हुन्छ भन्ने जवाफ आउँछ। यो सोचार्इ परिवर्तन नभएसम्म प्रधानमन्त्रीले लगानी सुरक्षा हुन्छ लगानी बढाउनुपर्यो भनिरहनुभएको छ। तर यही अवस्थामा लगानी बढ्ने सम्भावना छैन। कुनैपनि लगानी आउँदा त्यसले चौतर्फी प्रभाव पार्छ। स्वदेशी वा विदेशी लगानी गर्दा मल्टिप्लाएर इभेक्ट हेर्छन्।

मैले पनि फिक्सविङमा जाँदा तीन सय कर्मचारी राख्नुपर्यो। तीन सय परिवारले रोजगारी पाए। यो प्रत्यक्ष हो। अप्रत्यक्ष रोजगारी कति छ कति? यो व्यवसाय त्यति सजिलो छैन। हामीले तीस वर्षमा कतिवटा लाइसेन्स दियौ? सरकारले धेरै लाइसेन्स दियो।कतिले गर्न चाहे गर्न सकेनन्। हाम्रा दुर्इवटा स्थापित एयरलाइन्सले पनि गरे। अन्तर्राष्ट्रिय उडान गर्न त्यति सजिलो छैन। बुद्धले गरिरहेको छ अलिअलि तर जुन स्पीडमा गर्नुपर्ने हो त्यो गरिरहेको छैन। किनभने रिस्क धेरै ठूलो छ। यसमा प्राकृतिक बाधाहरुनै यति छन् सरकारले कृत्रिम बाधा खडा गर्नुपर्ने केही कारण छैन। भन्नलार्इ जे भन्दिए पनि हुन्छ। जो पायो उसलार्इ एयरलाइन्सको लाइसेन्स किन दिने भन्ने छ। तर कुनै व्यापारी आएर गर्छु भन्यो भने गर्न दिनुस न। उसले गर्न सक्ने/नसक्ने तपार्इँको चिन्ताको विषय हो र। नागरिक उड्ययन प्राधिकरण मूल्यांकन गर्ने निकाय छदैछ। उसँग क्षमता छ की छैन, उसँग म्यानपावर छ की छैन र उसले ल्याउने जहाज ठीक होकी होइन भनेर हेर्ने प्राधिकरण छ।

प्राधिकरणले दिएपछि उदाहरणका लागि ढाका उडान गर्नका लागि बंगलादेशको उड्ययन प्राधिकरणले मेरो जहाज,म्यानपावार राम्रो नभए उडान भर्न दिन्छ। चीनबाट घटीमा पनि  दैनिक ६ वटा फ्लाइट नेपाल आउँछ। तर नेपाल वायु सेवा निगमले ग्वान्जाउ उडानका लागि निवेदन दिएको वर्षदिन भन्दा बढी भइसकेको छ। अहिलेसम्म अनुमति दिएको छैन।हाम्रो सरकारी स्तरमा प्रधानमन्त्री, पर्यटन मन्त्रालय, उड्ययन प्राधिकरणले तिम्रो जहाज आउन दिने तर हाम्रो जहाज जान नदिने भनेर प्रश्न गर्नुपर्दैन्। यो रेसिप्रोकल हुनुपर्दैन्।

नेपाल वायुसेवा निगमको जहाज ठीक छैन भने स्पस्ट रुपमा भन्नुपर्यो। नेपाल वायुसेवा निगम जसले पचास वर्षदेखि उडान गरिरहेको छ उसलार्इ त गाह्रो छ भने अरुले कसरी उडान गर्छन्? यहाँ कृत्रिम बाधा खडा गरेर के हुन्छ? यस्तो कृत्रिम बाधा कायम राखिरहने हो भने प्रधानमन्त्री केपीशर्मा ओलीको सपना पनि पूरा हुनसक्दैन। उच्च आर्थिक वृद्धिका लागि सरकारले मन पनि फुकाउनुपर्छ। गलत गरेकोलार्इ सजाय दिने तर गलत नगर्नेलार्इ गलत गर्छ होला भनेर रोक्यो भने कहिलेपनि आर्थिक विकास गर्न सकिदैन।
 
तर हाम्रो हिस्ट्री पनि अनसक्सेसनै छ नी?
हो हाम्रो हिस्ट्री अनसक्सेसनै छ। अनसक्सेस हुँदाहुँदै सक्सेस हुने हो नी।हाम्रो सक्सेस हिस्ट्री नेपाल वायुसेवा निगमनै छ। उसले उडान गर्दा नाफै कमाएको हो। अरु कारणले समस्यामा परेको होला तर राम्रो गरेकै छ। गर्नसक्ने क्षेत्र पनि हो। गर्न नसक्ने आफै सकिन्छ यो प्राकृतिक नियमनै हो।असफल भएकोमा पनि धेरै कारण नीतिगत छन्। यति गाह्रो पारिदिने काम हुन्छ। मेरो जहाजनै चार महिना आएर रोकियो। बोइङ र एयरबसजस्तो ल्याएर चार महिना रोक्यो भने के हुन्छ? यो बारेमा सोचेर लगानी गर्नुपर्ने अवस्था छ।

व्यवस्थापनसँगै नीति र सोचार्इँका कारण अन्तर्राष्ट्रिय उडान असफल भएको हो। जबसम्म सकारात्मक ‘माइन्डसेट’ हुँदैन तबसम्म विकास सम्भव हुँदैन। उदाहरणका लागि काठमाडौंमा चोरी बढ्यो। चोरजति सबैको हात काटिदियो। चोरीको समस्या समाधान भयो। तर त्यो समाधानको बाटोले अर्को ठूलो समस्या ल्यायो।
 
अहिले सबै एयरलाइन्स फूल क्यापासिटीमा चलिरहेका छन्?
मलार्इ अरुको थाहा भएन तर हाम्रो राम्रै छ। हामीले सोचेको भन्दा माथिनै छ। हामी आएपछि भाडा घटेको छ। त्यो हामीले विचार गरेका थियौं हामी आएपछि भाडा घट्छ भनेर। धनगढीमा हामी आउनु अघि भाडा १२ हजार रुपैयाँ थियो तर अहिले ८ हजार रुपैयाँमा आइसकेको छ। यो भनेको जनताले सुख पाएको हो।
 
श्री एयरलाइन्स एक्सपान्सनमा जान्छ?
हाम्रो सोचार्इ दुर्इवटा हो। सरकारले इजाजत दियो भने बंगलादेश, थार्इल्याण्ड, भारत, चीन र खाडी मुलुकहरुमा अन्तर्राष्ट्रिय उडान गर्ने हो। यो उडान सफल भएपछि अन्यत्र समेत उडान गर्छौं।र,हामी सफल पनि हुन्छौ। हामीले राम्रोसँग प्लानिङ पनि गरेका छौं। आन्तरिकमा भने टर्बौ जहाजहरु ल्याएर पोखरा, जनकपुर, भरतपुर, सिमरा लगायतका ठाउँमा उडान गर्ने योजनामा छौं। हामी साना लुक्ला र जोमसोम लगायतका क्षेत्रमा भने जाँदैनौं।
 
एयरलाइन्स वाहेक अरु व्यवसायमा पनि जाने सोचार्इमा हुनुहुन्छ की?
हाम्रो काम भनेको व्यवसाय गर्ने हो। हाम्रो स्ट्रेन्थ भनेको पर्यटननै हो। हामीले जुत्ता, कमिज र अरु सामान बनाएर प्रतिस्पर्धा गर्न सकिदैंन। त्यो हामीले गर्नुपर्छ तर प्रतिस्पर्धा गर्न सक्दैनौं र देश माथि लाग्छ जस्तो पनि मलार्इ लाग्दैन्। त्यसैले हामीले हवार्इ उड्ययनमा हात हालेका हौं। यो क्षेत्रमा हात हाल्दा देश र जनतालार्इ पनि सुविधा होस् भन्ने पनि छ। सस्तोमा सुरक्षित सेवा पाउने वातावरण बनाउने उदेश्य हामीले राखेका छौं। त्यही कारणले हामीले अन्तर्राष्ट्रिय उडानमा हात हाल्न चाहेका हौं। तर सरकारको सोचार्इँमा यो गर्नुपर्दैन भन्ने लाग्यो भने ठीकै छ गर्दैनौं।

Share this Story

   

नेपालमा जस्तो व्यापार गर्न अन्य देशमा कठिन छैन, सुधीर मित्तलको अन्तर्वार्ता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.