धेरैपछि अर्थमन्त्री गभर्नर साथसाथ, सम्बन्ध नविग्रिएको देखाउन अर्थमन्त्री सचेत

बिजमाण्डू
२०७५ बैशाख २६ गते १४:५२ | May 9, 2018
धेरैपछि अर्थमन्त्री गभर्नर साथसाथ, सम्बन्ध नविग्रिएको देखाउन अर्थमन्त्री सचेत


Tata
GBIME
Nepal Life

काठमाडौं। शितल निवासबाट सपथ ग्रहण गरेपछि डा. युवराज खतिवडा पदवहालीका लागि सरासर सिंहदरवारस्थित अर्थमन्त्रालय पुगे। 

 
नवनियुक्त अर्थमन्त्रीलाई स्वागत गर्न अर्थ सचिव, राजस्व सचिवसँगै नेपाल राष्ट्र बैंकका गभर्नर पुग्ने चलन छ। त्यसदिन गभर्नर डा. चिरञ्जिबी नेपाल स्वागत समारोहमा दिएनन्।
 
अर्थमन्त्री खतिवडाले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई ‘तपाई आउनु भएको हो?’ भनेरसमेत सोधे।
 
त्यसदिन गभर्नर कार्यक्रमका लागि भन्दै धुलिखेल पुगेका थिए।अर्थमन्त्रीले श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रममा समेत गभर्नर देखिएनन्। श्वेतपत्रमा अर्थमन्त्रीले बैंक वित्तीय संस्थाको पूँजी वृद्धि बारे घुमाउरो पाराले गभर्नरलाई ‘गाली गरेकाले नेपाल नगएको हुनसक्छन्’ भन्ने विश्लेषण गरियो।
 
नेपाली कांग्रेसको कोटाबाट गभर्नर बनेका डा. नेपाल, वामपन्थी गठबन्धका अर्थमन्त्री खतिवडाको श्वेतपत्र जारी गर्ने कार्यक्रममा नगएको भनेर पनि बाहिर चर्चा गरियो। नभन्दै खतिवडाले नेपाली कांग्रेसको निजीकरणदेखि धेरै नीतिगत अवधारणलाई आलोचना गर्दै श्वेतपत्र जारी गरे।
 
त्यसपछि पनि विभिन्न सार्बजनिक फोरमहरुमा गभर्नर र अर्थमन्त्रीसँगै देखिएनन्। यहाँसम्मकी आफैले लाइसेन्स दिएको राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकको मर्जर कार्यक्रममा अर्थमन्त्री पुगे तर गभर्नर पुगेनन्।
 
धेरैले कांग्रेस-एमालेको कित्ता छुट्टिएको भन्ने रुपमा विश्लेषणसमेत गरे। कसैकसैले डा. खतिवडाले जहिलै डा. नेपालको नीतिको विरोध गर्ने गरेका कारण गभर्नर-अर्थमन्त्रीबीच ‘चिसो’ सम्बन्ध रहेको रुपमा अर्थ्याए।
 
कुर्सीमा नहुँदासमेत डा. नेपालको नीतिको आलोचना गरेका डा. खतिवडाले मन्त्री बनेपछि पनि पूँजी वृद्धिको आलोचना जारी राखे। राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसीको मर्जर कार्यक्रममा ‘राष्ट्र बैंकमाथि पनि कोही छ भनेर हेक्का राख्न’ गभर्नर लक्षित भाषण गरे।
 
त्यसैले गभर्नर-अर्थमन्त्रीको सम्बन्ध राम्रो छैन भन्ने स्थापित बन्दै गयो। 
 
बुधबार अवस्था फरक देखियो। नेपाल धितोपत्र वोर्डले आयोजना गरेको ‘क्यापिटल एक्स्पो’ का प्रमुख अतिथि डा. खतिवडा थिए। गभर्नर डा. नेपाल विशेष अतिथिका रुपमा निम्त्याइएका थिए।
 
प्रदर्शनीको उद्घाटन विहान १० बजेका लागि तय भएकाले गभर्नर नेपाल समयमै पुगे। अर्थमन्त्री आधा घण्टा ढिला गरि कार्यक्रमस्थल पुगे। 
 
तोकिएको समयभन्दा आधा घण्टा ढिलो गरि पुगेका अर्थमन्त्री डा. खतिवडा गाडीबाट ओर्लना साथ धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्कीले पुष्पगुच्छा दिएर स्वागत गरे। 
 
स्वागतसँगै अर्थमन्त्री प्रदर्शनी उद्घाटनका लागि रातो रिवन राखिएको ठाउँमा पुगे। उद्घाटनको लागि अर्थमन्त्रीलार्इ कैँची दिइयो। कैची हातमा लिँदै उनले दायाँ बायाँ हेरे।
 
आफूभन्दा पछाडि रहेका गभर्नर डा. नेपाललाई उनले खोजेका रहेछन्। ‘गभर्नर’साप,  यता आउनु पर्यो, अगाडि’ अर्थमन्त्रीले डा. नेपाललाई आफू नजिक डाके। 'खै, खै छिटो आउनुस्, अहिले मिडियाका साथीहरुले अर्थमन्त्री र गभर्नरबीच मेलमिलाप छैन भनेर लेख्नु होला,’ उनले हाँस्दै भने। 
 
आउँनुहोस् सँगै रिवन काटौँ। त्यसपछि केहि पछाडि रहेका गभर्नर डा. नेपाल अर्थमन्त्रीछेउ पुगेर मुस्कुराए। त्यसपछि पनि अर्थमन्त्रीले ठट्टा गर्न छाडेनन्। उद्घाटनको लागि टाँगिएको रातो रिवनलार्इ देखाउँदै उनले नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक चन्द्रसिंह साउद र वोर्ड अध्यक्ष कार्कीसँग भने- यो चाँही ‘सर्किट ब्रेक गर्नका लागि हो? 
 
त्यसपछि हाँसोको फोहोरा छुट्यो। गभर्नर नेपालसँग खासखुस कुरा गर्दै खतिवडाले फेरि टिप्पणी गरे- फेरि साथीहरुले दुर्इ जनाको फोटो जोडेर राखिदिनु होला।
 
उद्घाटनपछि अर्थमन्त्री, गभर्नर, बोर्ड अध्यक्ष र साउद ब्रोकर कम्पनी, शेयर बजारमा लिस्टिङ भएका कम्पनी, मर्चेन्ट बैंक, फण्ड म्यानेजमेन्ट कम्पनी, बैंकहरुको स्टल अवलोकन गर्दै अगाडि बढे। 
 
स्टलहरुको ब्रिफिङ कार्कीले गरिरहेका थिए। अर्थमन्त्री खतिवडा प्राय स्टलमा केहि न केहि भन्दै हिँडिरहेका थिए। गभर्नर नेपाल भने चुप लागेर अवलोकनमा हिँडेका थिए।