रैथाने नेपाली खानाको ‘कुक-बुक’ आयो, पर्यटनमन्त्रीले भने-बिदेशमा प्रवर्द्धनको जिम्मा लिन्छु

बिजमाण्डू
२०७५ बैशाख २४ गते १६:३१ | May 7, 2018

काठमाडौं। नेपाली रैथाने परिकार पकाउनकालागि कुकबुक र भिडियो  सार्वजनिक गरेको छ। होटल संघ नेपालले गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कुकबुक र भिडियो सार्वजनिक गरेका हुन्।

कार्यक्रममा मन्त्री अधिकारीले भने,' बिदेशमा कार्यक्रम तथा राजदुतावास, एनआरएन, प्रधानमन्त्रीको भ्रमणमा  रैथाने खानाको प्रवर्द्धनकालागि हामी ध्यानाकर्षण गराउनेछौँ। यसका साथै परराष्ट्र मन्त्रालयको माध्यमबाट संसारभर रहेका सम्बन्धित नियोग समक्ष यो कुरा पुर्याउने जिम्मा  लिन्छौं। यो एउटा नयाँ कुराको सुरुवात भएको छ।'

Tata
GBIME
Nepal Life

पर्यटन क्षेत्रलाई गुणात्मक रुपमा पूर्वाधार, निजी क्षेत्र, सरकार लगायतले गर्नुपर्ने  कुराको पहिचान गर्नसके पर्यटन क्षेत्रलाई गुणात्मक रुपमा विकास गर्न सकिने  मन्त्री अधिकारीले बताए। 

देशभरका दुई सय रैथाने परिकारको खोज अध्ययनपछि विज्ञ सेफ मार्फत हालसम्म तीसवटा परिकार छनोट गरिएको होटल संघ नेपालका महासचिव विनायक शाहले जानकारी दिए।

उनले भने,'छनोट गरिएका नेपाली रैथाने खानाहरुको नेपाल सरकारको केन्द्रीय अनुसन्धानशालाबाट परिक्षण गराएर प्रोटिन, न्यूट्रिसन आदि प्रमाणित पत्र प्राप्त भइसकेको छ।'

कार्यक्रममा विश्व पकवान पर्यटन क्षेत्रमा नेपाली रितीरिवाज र संस्कृति अनुसारको रैथाने खानामार्फत प्रशस्त फाइदा लिन सकिने  वरिष्ठ पर्यटनविद् कर्ण शाक्यले बताए। उनले भने, 'आजदेखि  संसारभर इन्टरनेटको पहुँच भएको क्षेत्रमा अठ्ठाइसवटा नेपाली रैथाने परिकार पकाउने विधी फैलिनेछ। नेपाल पर्यटन  इतिहासमै पहिलो पटक हामीले नेपाली रैथाने परिकारको प्रवर्द्धनकालागि कुकबुक र भिडियो सार्वजनिक गरिएको छ।'

'एक्सपेरियन्स नेपाल कुजिन एण्ड कल्चर' मार्फत विश्वभर छरिएर बसेका गैरआवासीय नेपालीले संचालन गर्दै आएका रेस्टुरेन्टबाट प्रत्यक्ष फाइदा लिन सक्ने होटल संघका महासचिव शाहले बताए।