जोगबनीका प्रहरीलाई रातिराति घुस खुवाउँदै मीरगञ्ज खोलाको पुलबाट ट्रक र कन्टेनर ओसार्दै

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ बैशाख १३ गते १५:५९ | Apr 26, 2018
जोगबनीका प्रहरीलाई रातिराति घुस खुवाउँदै मीरगञ्ज खोलाको पुलबाट ट्रक र कन्टेनर ओसार्दै

विराटनगर। मरम्मत कार्य अन्तिम चरणमा पुगेको मीरगञ्ज खोलाको पुलबाट भारतीय प्रहरीलाई घुस खुवाउँदै मालवाहक ट्रक र कन्टेनर ओसार्दै गर्ने क्रम सुरु भएको छ।

Tata
GBIME
Nepal Life

गत साउन २८ र २९ को बाढीले भत्काएको सीमावर्ती भारतीय नाका जोगबनी छेउको मीरगञ्ज खोलाको पुलबाट २० मेट्रिक टनभन्दा बढीका मालसामान लोड गरेर ल्याउनेहरूले घुस खुवाएर ट्रक वा कन्टेनरलाई पुल तारेका हुन्।

पुलको मरम्मत लगभग भइसकेको चाल पाएको जोगबनीको प्रहरीले एक सबारीको भारु ५ सयदेखि २ हजारसम्म घुस लिएर छाड्ने गरेको छ।

‘पुलबाट ट्रक र कन्टेनर घुस खुवाएर छुटाउने काम राति हुन्छ’, विराटनगर भन्सारका एक क्लियरिङ एजेन्टले भने, ‘राति १० बजेपछि घुस खुवाएर पुल पार गराउने काम सुरु हुन्छ। राति १२ बजेसम्म घुसको बढाबढ र घटाघट चलिरहन्छ। अहिले मीरगञ्जको पुलमा जोगबनी पुलिसको मनोमानी छ।’

बाढीका कारण पुल क्षतिग्रस्त भएको भदौ ५ गते पत्ता लागेको थियो। यसपछि विराटनगर नाका हुँदै गरिने निकासी–पैठारी रिरुट गरेर भीमनगर–कोशी ब्यारेज नाकाबाट गरिँदै छ।

भदौ ५ गते क्षतिग्रस्त भएको पत्ता लागेको पुलको सामान्य मरम्मतपछि गत कात्तिक २० गतेदेखि बढीमा २० मेट्रिक सम्मका मालवाहक सवारी चलाउन दिइएको थियो। यसपछि पेट्रोलियम पदार्थका ट्याङ्कलरी र भारतबाट लोकल पैठारीमा आएका मालसामानका सवारी यही पुलबाट ल्याइँदैछ।

त्यस्तै नेपालमा खालि भएर फर्किएका ट्रक र कन्टेनर पनि यही पुलबाट गइरहेका छन्।

यसैबिच गत माघ १५ गतेदेखि सुरु गरिएको पुलको पूर्ण मरम्मत कार्य अन्तिम चरणमा पुगेको भारतीय राजदूतावासको विराटनगरस्थित क्याम्प अफिसका प्रमुख नीरज जायसवालले बताए।

प्रमुख जायसवालका अनुसार उक्त पुलको कार्यक्षेत्र नेसनल हाई वे अथोरिटी अफ इन्डिया (एनएचआई) सित छ। एनएचआईले पुलको मरम्मतका लागि ठेकेदार नियुक्त गरेको र ठेकेदारले ३ दिनभित्रमा मरम्मत पूरा हुने बताएको जायसवालले जानकारी दिए।

‘पुलमा ३२ वटा पाइल लगाइएका छन्’, प्रमुख नीरजले भने, ‘अब तिनलाई एक आपसमा जोड्नमात्र बाँकी छ। यो काम ३ दिनमा पूरा हुने ठेकेदारले बताएको छ।’

पुलको मरम्मत पूरा भइसकेपछि एनएचआईका प्राविधिकले यसको भारवहन क्षमताको परीक्षण गर्ने र सोही परीक्षणको प्रतिवेदनका आधारमा विभिन्न प्रकारका सवारी र ढुवानीका साधन चलाउन दिइने नीरजको भनाइ थियो।

जायसवालले भने,  ‘पुलमा मुख्य ४ वटा पिलर छन्। प्रत्येक पिलरमा ८ वटाका दरले जम्मा ३२ वटा पाइल जडान गरेर मरम्मत गरिएको छ।’

‘खासमा प्राविधिकहरू नै अन्यौलमा थिए’, उनको कथन थियो, ‘७० वर्षभन्दा पुरानो यस पुलसम्बन्धी कुनै कागजात थिएनन्। पुल २० मेट्रिक टन क्षमताको हो भन्ने कुरामा सबै प्राविधिक सहमत थिए। तर मरम्मत गरेर क्षमतामा कतिसम्म वृद्धि गर्न सकिन्छ भत्रे विषय जटिल थियो। त्यसैले मरम्मत ढिलो सुरु भएको हो।’

परामर्श दिन खटिएको इन्जिनियरको टोलीले १६ वटा पाइल राख्नुपर्ने सुझाव दिए पनि ३२ वटा राखिएको जायसवालले बताए। साथै पुलको माथिको भागमा पनि बलिया फलामे पाता राखेर अझ मजबुत बनाइएको उनको दाबी छ।  

जोगबनी बजारसम्म ४ लेनको राष्ट्रिय राजमार्गको विस्तार भइरहेको र नेपालतर्फको आइसिपी पनि निर्माणकै क्रममा छ। यसका लागि नयाँ छुट्टै पुलको निर्माण गरिँदैछ। त्यसैले मीरगञ्जको पुललाई अधिकतम क्षमतामा चल्ने गरी मरम्मत मात्र गरिएको उनले उल्लेख गरे।

समस्या ७० प्रतिशत समाधान हुने
पुलको मरम्मत गरेर ५० मेट्रिक टन क्षमताको बनाएपछि ७० प्रतिशत समस्या माधान हुने मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको दाबी छ।

‘यसपछि रिरुट भएर आउने मालवाहक सवारीसाधनमध्ये ७० प्रतिशत यही बाटो आउँछन्’, उनले भने, ‘तत्कालका लागि यो पनि एउटा ठूलो राहत हुनेछ।’