नयाँ सरकार आएपछि चीनदेखि अमेरिकासम्म नेपालमा कन्सल्टेन्सी खोल्न सक्रिय, खुद्रे लगानीमा ध्यान

बिजमाण्डू
२०७५ बैशाख १२ गते ०८:२४ | Apr 25, 2018

काठमाडौं। पछिल्लो समय नेपालमा आउने विदेशी लगानी स-सना कन्सलटेन्सीहरुमा केन्द्रित हुन थालेको छ। चैतमा मात्रै चीन, अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया लगायतका देशबाट एजुकेशन कन्सलटेन्सिमा विदेशी लगानीको प्रतिवद्धता बढ्न थालेको छ।
 
यी कन्सलटेन्सिहरुमा नेपालीको अध्ययन तथा रोजगारीको गन्तव्य रहेका मुलुकसहित, छिमेकी देशसमेत रहेका छन्।
 
चीन
चिनियाँ नागरिक चाङ्ग चेङ्गले दुई करोड ५० लाख रुपैयाँ लगानीमा काठमाडौंमानै चाङ्ग चेङ्ग ल्याङ्गवेज इन्ष्टिच्युट स्थापना गर्दै छन्। ४०० जनालाई कम्प्युटर ट्रेनिङ, ४०० जनालाई नै भाषा र ३०० जनालाई संगीत सिकाउने उनको लक्ष्य छ।
 
अमेरिका
अमेरिकी नागरिक माइकल एलेक्स्जेन्डरले पोखरामा लर्निङ हाउस नामक ट्रेनिङ सेन्टर दर्ता गरेका छन्। ५५ लाख रुपैयाँ लगानी हुने उद्योगले १५० जनालाई अङ्ग्रेजी भाषा, १५० जनालाई वारिष्टा र १५० जनालाई नै करियर स्किल ट्रेनिङ दिने लक्ष्य लिएको छ।
 
बेलायत
बेलायती नागरिक जोय गिल्लेस्पाईले भक्तपुरमा जोय इन्टरनेश्नल ल्याङ्वेज इनिस्टिच्युट खोल्दै छन्। ५० लाख रुपैयाँ लगानी रहने उद्योगले ३३० जनालाई भाषा पढाउने, ६० जनालाई नेतृत्व विकास तालिम र १०० जनालाई प्रोफोशनल डेभलपमेन्ट तालिम दिने लक्ष्य लिएको छ।
 
अष्ट्रेलिया
अष्ट्रेलियन कम्पनी आइडिपी वर्ल्ड प्रालिले काठमाडौमा आइडिपी एजुकेशन कन्सल्टेन्सी स्थापना गर्दै छ। दुई करोड ५९ लाख ५० हजार रुपैयाँ लगानी रहने कन्सलटेन्सिले एक हजार एक सय १० जना विद्यार्थीलाई कन्सल्टन्सिको सेवा दिने लागेको छ।
 
दक्षिण कोरिया
दक्षिण कोरियन नागरिक युसिङ पार्कले काठमाडौं कीर्तिपुरमा द ड्रिम सुङ्ग गोंग एकेडेमी स्थापना गर्दै छन्। ७० लाख रुपैयाँ लगानी रहने एकेडेमीमा एक सय जनालाई अङ्ग्रेजी भाषा र चार सय जनालाई कोरियन भाषा पढाइने छ।
 
जापान
जापानी नागरिक मामरो ओयामाले काठमाडौंमा उडल्याण्ड एकेडेमी स्थापना गर्दै छन्। ५० लाख रुपैयाँ लगानी रहने उद्योगमा ४०० जनालाई केयरगिभरको ट्रेनिङ दिने लक्ष्य लिइएको छ।
 
अजरबैजन
अजरबैजनबाट फुड खालिलोभले काठमाडौंमा रहने गरि अप्टिमल मेनेजमेन्ट सर्भिस उद्योग दर्ता गराएका छन्। एक करोड लगानीमा ३०० जनालाई म्यानेजमेन्ट ट्रेनिङ दिने उदेश्यले उद्योग दर्ता भएको छ।
 
यसरी सात वटा एजुकेशन कन्सल्टेन्सी उद्योगमा आठ करोड ३४ लाख रुपैयाँ विदेशी लगानी स्विकृत भइ उद्योग विभागमा उद्योग दर्ता पनि भैसकेका छन्।
 
किन आउँदैन ठूलो लगानी?
नेपालमा जग्गा किनेर, प्लान्ट राखेर उद्योग सञ्चालन गर्न झन्झटिलो प्रक्रिया भएकाले पछिल्लो समय जग्गा किन्न नपर्ने र प्लान्ट राख्न पनि नपर्ने सेवा तथा सूचना प्रविधि क्षेत्रका उद्योगमा विदेशी लगानी आकर्षित भएको उद्योग विभाग वैदेशिक लगानी शाखाका निर्देशक खगेन्द्रबहादुर बस्नेतले बताए।
 
ठूलो लगानी यहाँ जलविद्युतमा आइरहेको छ। अन्य उत्पादनमूलक उद्योगमा भने उनीहरु आकर्षित छैनन्। नेपालमा उत्पादन गरेको सामानको पहिलो बजार भारत र चीननै हुने र नेपालको उत्पादन लागत उनीहरुको भन्दा बढी हुने भएपछि उत्पादनमूलक उद्योगमा लगानी आउन नसकेको बस्नेतले बताए।
 
यसरी स-सना कन्सलटेन्सीमा लगानी आउनुको कारण सहज रुपमा सञ्चालन गर्न सकिने भएर नै हो। नेपामला सूचना प्रविधि क्षेत्रको उद्योग स्थापना गर्न सहज हुनुका साथै अवसर पनि त्यतीकै भएकाले विदेशी लगानी आकर्षित भएको बस्नेतको भनाई छ।

Tata
GBIME
Nepal Life