निजी क्षेत्रको लगानीले आर्थिक वृद्धिमा प्रभाव, पुनर्निर्माण र चुनावले अर्थतन्त्रको आयतन बढ्यो

बिजमाण्डू
२०७५ बैशाख १२ गते १७:४२ | Apr 25, 2018
काठमाडौं। अर्थ मन्त्रालयको सुरुवाती प्रक्षेपण र बजेटको मध्यावधी समीक्षामार्फत घटाइएको परिमार्जित प्रक्षेपणभन्दा केही घटाएर केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा ५.८९ प्रतिशत आर्थिक वृद्धि हासिल हुने नयाँ अनुमान सार्वजनिक गरेको छ। यद्यपि चालु वर्षको वास्तविक वृद्धि कति हो भन्ने थाहा पाउन अझै दुई वर्ष कुर्नुपर्छ। किनभने केन्द्रीय तथ्यांक विभागले तीन वर्षको तथ्यांक विश्लेषण गर्छ र आर्थिक वर्ष सकिएको दुई वर्षपछि मात्रै वास्तविक तथ्यांक सार्वजनिक गर्छ। 

Tata
GBIME
Nepal Life


 

तथ्यांक विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा भएका आर्थिक कृयाकलापले अर्थतन्त्रको आयतन बढाउन सहयोग गरेको जनाएको छ। 'निर्माण क्षेत्रमा भएको वृद्धि र भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाउँदा त्यसको असर अर्थतन्त्रमा सकारात्मक पर्न गएको छ,' विभागका महानिर्देशक सुमनराज अर्यालले भने, 'धान र अन्य कृषि क्षेत्र कमजोर हुँदा पनि सेवा क्षेत्र बलियो भएकाले त्यसको राम्रो प्रभाव परेको छ।' 
 
बाढी र पहिरोका कारण धानको उत्पादन कम भए पनि चालु वर्षमा समग्र कृषि क्षेत्रको वृद्धि २.८२ प्रतिशत हासिल भएको छ। निर्माण क्षेत्रमा १० प्रतिशतको आर्थिक वृद्धि हासिल भएको विभागले जनाएको छ। कूल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको योगदान ७.६ प्रतिशत पुगेको छ। 
 
अर्थतन्त्रको वृद्धिदर अनुमान गर्दा सरकारले गर्न सक्ने लगानी र अनुमान गर्ने समयको परिस्थितीअनुसार लक्ष्य राखिने भन्दै अर्यालले नीति कार्यान्वयनका समयमा उत्पन्न हुने अवस्थाले लक्ष्यअनुसार वृद्धि हासिल नहुने अर्यालले बताए। 'जे अवस्था हेरेर लक्ष्य राखिन्छ त्यसपछि धेरै कुरा परिवर्तन हुन सक्छन्, अर्कोतर्फ बजेट भनेको राजनीतिक दस्तावेज पनि हो। त्यसैले लक्ष्यअनुसार कहिलेकाँही उपलब्धी हासिल नहुन पनि सक्छ,' उनले भने। 


अर्यालले आफूहरुले अन्तर्राष्ट्रिय मापदण्डअनुसार तटस्थ र व्यवसायिक रुपमा तथ्यांक संकलन तथा प्रस्तुत गर्ने गरेको भन्दै तथ्यांक हेरफेर वा परिमार्जनको कुनै संभावना नरहेको पनि उनले बताए। दातृ निकाय र विभागले तथ्यांक विश्लेषण गर्ने विधि फरक हुने भएकाले उनीहरुको अनुमान र आफ्नो अनुमानमा फरक देखिने पनि उनले दावी गरे। 

 
चालु आर्थिक वर्षमा नै सम्पन्न भएका प्रदेश र संघीय तहको निर्वाचनका कारण बढेको गतिविधिले पनि आर्थिक वृद्धिमा सहयोग पुर्यारएको विभागले जनाएको छ। 'चुनावका कारण सरकारको खर्च बढेको छ भने अन्य क्षेत्रबाट पनि आर्थिक कृयाकलाप बढेको छ,' उनले भने, 'वृद्धिलाई त्यसैले सहयोग गरेको छ।'
 
पूर्व अर्थमन्त्री डा रामशरण महत अपेक्षा गरेअनुसार पुनर्निर्माणको काम अघि बढेकाले त्यसले आर्थिक वृद्धिलाई सहयोग गरेको बताउँछन्। 'यो वर्ष पुनर्निर्माणले गति लिन्छ भन्ने हाम्रो अपेक्षा थियो, अहिले त्यस्तै भइरहेको पनि छ,' उनले भने, 'कृषि क्षेत्रमा पनि धानबाहेक अन्य बालीको उत्पादन बढेको हुनुपर्छ। बाढीका कारण धान उत्पादन घटेको भए पनि त्यो सिजन सकिएपछि लगाइएका बाली धेरै उब्जनी भएका छन्। त्यसले राम्रो प्रभाव दिएको छ।'
 
महतले पुनर्निर्माण र अन्य क्षेत्रमा भइरहेका निर्माण गतिविधिले औद्योगिक क्षेत्रमा पनि सकारात्मक काम गरेको बताए। 'एउटा घर बन्दा त्यसले सिमेन्ट, डण्डीलगायतका उद्योगका उत्पादन प्रयोग गर्छ। मान्छेहरुले काम पाउँछन्। त्यो सबैले अन्तत: आर्थिक वृद्धिमा नै योगदान गर्ने हो,' महतले ब्याख्या गरे। 


सरकारी ढुकुटीको अवस्था कमजोर रहे पनि निजी क्षेत्रको लगानी र निर्वाचन तथा पुनर्निर्माणले आर्थिक वृद्धिमा थप सहयोग गरेको पूर्व अर्थसचिव रामेश्वरप्रसाद खनालको टिप्पणी छ। 'ढुकुटी रित्तो हुनु र आर्थिक वृद्धि राम्रो हुनु अलग अलग कुरा हुन्। नेपालमा निजी क्षेत्रको लगानी ७०/७१ प्रतिशत छ। चुनावले व्यवसाय बढाएको छ। होटल र यातायात क्षेत्रमा चुनावका कारण सकारात्क प्रभाव देखिँदा उत्पादन बढाउन सहयोग गरेको छ,' खनालले भने। 
 
लोडसेडिङ अन्त्य हुँदा औद्योगिक उत्पादन बढेको भन्दै खनालले त्यसको पुनर्निर्माणमा भइरहको तीव्रताले यसलाई थप सहयोग गरेको बताए। उनले बैंक तथा वित्तीय संस्थाको कर्जाको वृद्धि अनुसार उत्पादनमूलक क्षेत्रमा लगानी नभएको भन्दै वित्तीय क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने हो भने आर्थिक वृद्धिदर अझै उच्च हुने उनले उल्लेख  गरे।