बेइजिङबाट फर्किएका मोदी र जाने तयारीका ओली वार्ताले त्रिदेशीय साझेदारीमा कस्तो अर्थ राख्छ?

बिजमाण्डू
२०७५ बैशाख १२ गते १४:०७ | Apr 25, 2018
बेइजिङबाट फर्किएका मोदी र जाने तयारीका ओली वार्ताले त्रिदेशीय साझेदारीमा कस्तो अर्थ राख्छ?

काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिङपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुन लागेको अनौपचारिक भेटवार्ताको नेपालले स्वागत गरेको छ। शुक्रवार र शनिवार दुई नेताबीच चीनको हुवेई प्रान्तको उहानमा दुई दिने अनौपचारिक वार्ता हुँदै छ।

Tata
GBIME
Nepal Life

दुई शक्तिशाली छिमेकीबीचको वार्ताले दुई देशबीच विश्वासको वातावरण बन्ने र नेपालको आर्थिक विकासमा फाइदा पुग्ने भन्दै नेपालले भेटवार्ताको स्वागत गरेको हो।

‘हामी दुई छिमेकी देशका नेताहरू यसै साताको अन्त्यमा भेट हुन लागेको थाहा पाउँदा खुसी छौँ, नजिकको छिमेकीको नाताले नेपालले चीन र भारतबिचको यस्तो उच्चस्तरीय वार्तालाई स्वागत गर्छ,’ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्ह्वासँग भनेका छन्, ‘छलफलले चीन र भारतबीच आपसी साख र विश्वास बढाउन मद्दत पुग्ने छ भन्ने हामीलाई विश्वास छ।’  

नेपालले दुई छिमेकी देशबीच विश्वासमा आधारित साझेदारी हेर्न चाहेको समेत उनले बताएका छन्। दुई छिमेकी चीन र भारतमा भएको तीव्र आर्थिक वृद्धिबाट नेपालले पनि लाभको अपेक्षा राखेको उनको भनाई छ।

यही साता सी र मोदीबीच हुने शिखर सम्मेलनको घोषणा भारतीय विदेशमन्त्री सुस्मा स्वराजको बेइजिङ भ्रमणका क्रममा भएको थियो। सोही क्रममा बेइजिङबाट स्वराज र चिनियाँ समकक्षी वाङ यीले संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा घोषणा गरेका थिए।

परराष्ट्रमन्त्री ज्ञवालीले चीन र भारतबिच सौहार्दपूर्ण सम्बन्धको शुभकामना समेत व्यक्त गरे। ‘उदाउँदो विश्व व्यवस्थाका साथ चीन र भारतले विश्वमा शान्ति, स्थायित्व र समृद्धि प्राप्तिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्,’ उनले भनेका छन्।

मोदीको यो भ्रमणसँगै नेपाल, चीन र भारतबिच त्रिदेशीय साझेदारीका लागि फाइदा पुग्ने समेत अपेक्षा राखिएको छ। गत साता परराष्ट्रमन्त्री ज्ञवालीको बेइजिङ भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री यीले त्रिदेशीय साझेदारीका लागि भारतसँग आह्वान गरेका थिए।

‘नेपाल चीन र भारतसँग आर्थिक विकाससहित विविध क्षेत्रमा त्रिदेशीय सभाझेदारीको अवधारणामा सधैँ खुला र सकारात्मक रहँदै आएको छ,’ उनले भने।

यता भारतीय प्रधानमन्त्री मोदी बेइजिङबाट फर्किएपछि त्यसको अर्को दुई सातापछि नेपाल आउने तयारीमा छन्। उनी वैशाख २८ गते नेपाल आउने गरी तयारी भर्इरहेको परराष्ट्र मन्त्रालय निकट स्रोतले जनाएको छ। यद्यपि भ्रमणको मिति सार्वजनिक भने भइसकेको छैन। यसअघि भारतीय सञ्चार माध्यमहरूले मोदीको भ्रमणको मिति वैशाख २८ गते भन्दै समाचार सार्वजनिक गरेका थिए। यो भ्रमणलाई भारतको नेपालमा प्रभाव कायम राखिरहने अस्त्रको रूपमा समेत हेरिएको छ।

तर पनि, बेइजिङबाट फर्किएका मोदी र बेइजिङ जाने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वार्ताले त्रिदेशीय साझेदारीका लागि अर्थपूर्ण हुनसक्छ।