शेयर बजारमा सूचकसँगै कारोबार रकम घट्यो, ७४ करोडको कारोबार हुँदा सेन्चुरीको नाफाले तान्यो

बिजमाण्डू
२०७५ बैशाख ११ गते १५:४७ | Apr 24, 2018

काठमाडौं। साताको तेस्रो दिन तीब्र उतारचढावका बीचमा पनि १५.९९ अंकले शेयर बजार तल झरेको छ। १.१३ प्रतिशत बजार घटेसँगै नेप्से सूचक पनि १३९४.८६ अंकमा झरेको छ। सूचकसँगै कारोबार रकम पनि हिजोको तुलनामा आधाले घट्दा ७३ करोड ९२ लाख रुपैयाँमा सिमित भयो।

चैत २८ गतेदेखि बढ्न थालेको शेयर बजारमा सोमबार २५ अंकको ब्रेक लाग्यो। तर कारोबार रकम भने वर्ष भरीकै धेरै भयो। तर मंगलबार कारोबार रकम ७३ करोड ९२ लाख रुपैयाँमा सिमित भएको छ। मंगलबार बजार नागवेली देखियो। कारोबार सुरु हुने बित्तिकै बढेपनि त्यसपछि तीब्र उतारचढाव देखियो।
आज ब्यापारको उपसूचक बाहेक अन्य सबै उपसूचक ओरालो लागेका छन्। चालु आर्थिक वर्षको ९ महिनामा गत आर्थिक वर्षको भन्दा १०२ प्रतिशतले नाफा बढाएको सेञ्चुरी कमर्सियल बैंकको कारोबार सबैभन्दा धेरै २ करोड ७६ लाख रुपैयाँको भएको छ।

Tata
GBIME
Nepal Life

नेशनल माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ६ प्रतिशतले कमाएका छन् भने सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले ५ प्रतिशतले गुमाएका छन्। आज सांग्रिला डेभलपमेन्ट बैंकले निष्कासन गरेको तेस्रो त्रैमासिकको वित्तीय विवरणमा नाफा घटेर आएको थियो।  

बजार बढ्न थालेसँगै लगानीकर्ताले सोमबार र मंगलबार नाफा सुरक्षित गरेको बजार विश्लेषक अन्जिव तुलाधरले बताए। बजार घट्दै गर्दा कारोबार रकम पनि घट्यो भने बजारमा सकारात्मक सन्देश जाने तुलाधरको भनाई छ।

यसले सस्तोमा शेयर बेच्न नचाहेको संकेत गरेको उनी तर्क गर्छन्। शेयर बजारमा एकोहोरो तलमाथि गर्नेभन्दा पनि दुर्इ चार दिन बढ्ने अनि सँगसँगै घट्ने हुँदा गएका ८ दिनमा बजार बढ्दा दुर्इ दिन घट्नु स्वभाविक भएको उनी बताउँछन्।

हिजो र आजको सेलिङ ह्याप्पी सेलिङको रुपमा रहेको पनि उनले बताए। प्रोफिट बुक गर्नेले बाहेक अन्यले शेयर नबेचेको हुँदा कारोबार रकममा केही कमी आएको हो। यस्तो हुनुमा शेयर बजार प्रति लगानीकर्ताको मनोबल बढेको उनको विश्लेषण छ। नेप्सेले अनलार्इन प्रणाली ल्याउँदैछ साथै सरकारले नीति तथा कार्यक्रम ल्याउने चरणमा रहेको हुँदा बजारमा केही उत्साह थपिएको उनी बताउँछन्।