बुद्ध एयरले थप्यो ७२ सिटे अर्को एटिआर, उडान भर्नुअघि परीक्षण हुँदै, जहाज संख्या ११ पुग्यो

बिजमाण्डू
२०७५ बैशाख ११ गते १४:०५ | Apr 24, 2018
बुद्ध एयरले थप्यो ७२ सिटे अर्को एटिआर, उडान भर्नुअघि परीक्षण हुँदै, जहाज संख्या ११ पुग्यो

काठमाडौं। निजी क्षेत्रको ठूलोमध्येको विमान सेवा प्रदायक कम्पनी बुद्ध एयरले ७२ सिट क्षमताको एटिआर–७२ जहाज थप्ने भएको छ। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको कम्पनीले जनाएको छ। नयाँ जहाजको कलसाइन 9N-AMU हुनेछ।

Tata
GBIME
Nepal Life

एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ। वातावरणीय तथा ध्वनी प्रदूषणको हिसाबले एटीआर जहाज निकै किफायती मानिने कम्पनीले जनाएको छ।
 
काठमाडौंको त्रिभुवन विमानस्थलमा दिनानुदिन बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरट्राफिकका कारण विशेषत: घरेलु उडानहरु समयमै उडान भर्न अप्ठयारो परिरहेको छ। यसबाट यात्रुसहित विमान कम्पनीलाई पनि निकै समस्या परेको छ। उडान ढिला हुनुमा अर्को मुख्य कारण खराब मौसम पनि हो। विज्ञप्तिमा भनिएको छ, 'नयाँ जहाज आइसकेपछि अन्य विमानहरूको नियमित मर्मतसम्भार तथा उडानहरू परिचालन गर्न निकै सहज हुने छ।' आवश्यक तयारीपछि बुध्द एयरले एटीआर विमानबाट परीक्षण उडान भर्नेछ।
 
जहाज आएपछि कम्पनीसँग ११ वटा जहाज हुनेछन् जसमा ७२ सिट क्षमताका ६ वटा एटिआर ७२–५००, ४२ सिट क्षमताका ३ वटा एटिआर ४२–३२० र १८ सिट क्षमताका २ वटा बीचक्राफ्ट १९०० डी रहेका छन्।