किन आउँदैछन् मोदी नेपाल? यस्तो छ भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको तयारी

बिजमाण्डू
२०७५ बैशाख ११ गते ०९:२७ | Apr 24, 2018
किन आउँदैछन् मोदी नेपाल? यस्तो छ भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणको तयारी

जनकपुर। भारतीय प्रधानमन्त्रीको स्वागतको तयारीमा प्रदेश २ जुटेको छ। प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा मोदीको स्वागतको तयारी स्थानीय सरकारले सुरु गरेको हो।

Tata
GBIME
Nepal Life

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको तयारी गर्न परराष्ट्र मन्त्रालयले समेत प्रदेश सरकार तथा धनुषा जिल्लास्थित सरकारी निकायलार्इ समेत पत्राचार गरेको छ।

यसैबीच भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणको विषयमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच समेत छलफल भएको छ।

आइतबार राजदूत पुरीले प्रदेशमा पुगेर मुख्यमन्त्री राउतसँग शिष्टाचार भेट समेत गरेका थिए। भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको विषयमा छलफल भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही महिना आउँदै छन्। भारतीय सञ्चारमाध्यमले मोदी यही वैशाख २८ गते नेपाल आउने समाचार प्रकाशित गरेको थियो। तर नेपालको परराष्ट्र मन्त्रालय तथा भारतको विदेश मन्त्रालयले यस विषयमा आधिकारिक जानकारी दिएका छैनन्।

नेपाल आएपछि उनी प्रदेश नं २ को मुकाम जनकपुर पनि पुग्ने छन्। उनको नेपाल भ्रमण तथा जनकपुर भ्रमणको बारेमा भारतीय दूतावास समेत तयारीमा जुटेको छ। तयारीका लागि राजदूत पुरी आइतबार जनकपुर आइपुगेका हुन्।

उनले मुख्यमन्त्री राउतसँग करिब ४५ मिनेट लामो शिष्टाचार भेट गरे। मुख्यमन्त्री बनेको करिब एक महिनापश्चात् नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारीका लागि पुगेका पुरीले मुख्यमन्त्री राउतलार्इ बधार्इ दिए।

वार्तामा मोदीको भ्रमण सफल पार्न प्रदेश सरकारसँग कुराकानी भएको बताइएको छ। मोदी नेपाल आएकै दिन जनकपुर पुग्ने गरी तयारी भइरहेको छ।

तर समय तय नभएको मुख्यमन्त्री राउतका मुख्य सञ्चार सहयोगी लक्ष्मण यादवले जानकारी दिए। उनी जनकपुर कसरी जानेछन् भन्ने समेत टुङ्गो लागेको छैन।

जनकपुरमा उनी बाह्रबिघा वा जनकपुरको एसएसपी कार्यालय परिसरमा उत्रिन सक्ने बताइएको छ। त्यहाँदेखि उनको जानकी मन्दिर दर्शनको व्यवस्था गरिने छ।

उनलार्इ जनकपुरमा नागरिक अभिनन्दन समेत गर्ने तयारी भइरहेको छ। नागरिक अभिनन्दन जानकी मन्दिर वा बाह्र बिघामा क्षेत्र मध्ये एक स्थानमा गरिने तयारी भएको छ।

उनी जनकपुरमा करिब डेढ घण्टा समय बिताउने भारतीय दूतावास स्रोतले जनाएको छ। भारतीय प्रधानमन्त्री मोदी सोही दिन काठमाडौँ फर्किने छन्।

उनको जनकपुर भ्रमणको कार्यक्रम र तालिका तय गर्न भारतीय दूतावास नेपाल सरकार, परराष्ट्र मन्त्रालय र प्रदेश सरकारसँग निरन्तर छलफलमा जुटेको छ।

जनकपुर भ्रमणको विषयमा भारतीय गुप्तचर संस्थाहरूले समेत अध्ययन गरिरहेको स्रोतले जनाएको छ। गुप्तचर संस्थाको सुझाव र प्रतिवेदनकै आधारमा मोदीको जनकपुर भ्रमण र सम्भवत नेपाल भ्रमणको आधिकारिक मिति सार्वजनिक हुनेछ।