शेयर बजारको सुधारमा आठ दिनपछि लाग्यो ब्रेक, २७ अंकले बजार घट्दा डेढ अर्बको कारोबार

बिजमाण्डू
२०७५ बैशाख १० गते १५:३४ | Apr 23, 2018

काठमाडौँ। आठ कारोबार दिन लगातार बढेको शेयर बजारमा सोमबार ब्रेक लागेको छ। कारोबारको सुरुवात देखिनै तीब्र उतारचढाव देखिएको बजारमा कारोबार रकम भने उल्लेख्य बढेको छ।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक २७.६४ अंकले घटेर १४१०.८५ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.०७ अंकले घटेर २९८.०४ अंकमा ओर्लिएको छ।

सोमबार बजार १४३९ अंकबाट सुरु भएको थियो। कारोबारको पहिलो १५ मिनेटमै बजारले २१ अंकको छलाङ मार्दै १४६० अंक भेट्टाएको थियो। तर लगत्तै बजार सुरुवातमा जसरी बढेको थियो त्यहि अनुपातमा घट्दा बजारले पहिलो आधा घण्टामै १२ अंक गुमाउदै १४३७ अंकमा झरेको थियो।

बजारमा तीब्र उतारचढाव आउँदा बजार पहिलो घण्टामा १७ अंकको बृद्धिमा उक्लिदै १४५४ अंकमा पुगेको थियो। पौने एक बजेसम्म फेरि २५ अंक गुमाएको बजारले सवा एकबजे सम्ममा १४४२ अंक भेट्टायो। त्यसपछि भने बजारले अघिल्लो दिनको तुलनामा ४१ अंक गुमाएको थियो। तर अन्तिम आधा घण्टामा सुधारोन्मुख देखिएको बजार अन्तमा भने २७ अंक गुमाउँदै बन्द भएको छ।

तीब्र उतारचढाव हुँदा पनि लगानीकर्ताको मनोबल बढेको बजार विश्लेषक तुलसीराम ढकालले बताए। लगानीकर्तामा मनोबल बढेसँगै हिजोका दिनमा किनेकाले नाफा सुरक्षित गर्न लाग्दा बजार अलिकति घट्ने अनि भोलिका दिनमा पनि बजार अझै बढ्छ है भन्नेहरुले तुरुन्तै शेयर उठाउने क्रमले गर्दा कारोबार रकम पनि बढेको उनको विश्लेषण छ।

विगतमा थोरै थोरै कारोबार गरेर बजार हेरेर बसेका लगानीकर्ताले पनि थप लगानी बढाएको उनी बताउँछन्। बजार बढेसँगै नयाँ लगानीकर्ताको पनि प्रवेश भएको र हिजोका दिनमा बेचेर बसेका लगानीकर्ताले पनि लगानी बढाएको ढकालले बताए।

सोमबार १७० कम्पनीका ३१ लाख १४ हजार कित्ता शेयर एक अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा बढी नेपाल बैंकको नौ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सोमबारको कारोबारमा सबै उपसूचक घटेका छन्।बैंक २५.१६, ट्रेडिङ ५.९९, होटल ७८.७८ , विकास बैंक ३१.५४, जलविद्युत ५४.७३, फाइनान्स ९.५९, बीमा ८८.४४, उत्पादन मुलक २९.०८, अन्य १६.७७ र लघुवित्त ३०.७८ अंकले घटेका छन्।

सोमबार १७० कम्पनीको शेयर कारोबार भयो। जसमा १४५ कम्पनीको शेयर मूल्य घट्यो भने २५ कम्पनीको सेयर मूल्य बढेको छ। बढेको कम्पनीमा स्वदेशी लघुवित्तका शेयरधनीले सबैभन्दा बढी करिब १० प्रतिशत कमाए भने राधि बिद्युत कम्पनीका शेयरधनीले करिब सात प्रतिशत गुमाए।