अब सार्वजनिक गाडी कसरी चलाउने? कम्पनी मोडलमा दर्ता भएपछि पञ्जिकरण, यस्तो छ दर्ता प्रकृया

बिजमाण्डू
२०७५ बैशाख १० गते १२:१४ | Apr 23, 2018
अब सार्वजनिक गाडी कसरी चलाउने? कम्पनी मोडलमा दर्ता भएपछि पञ्जिकरण, यस्तो छ दर्ता प्रकृया


काठमाडौं।सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ ले सार्वजनिक सवारीसाधन पञ्जीकरण गरेर मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ। तर फितलो ऐन कार्यान्वयका कारण अहिलेसम्म पनि पञ्जीकृत नभर्इ सार्वजनिक सवारीसाधनहरु सञ्चालनमा भैरहेका छन्।

Tata
GBIME
Nepal Life

यातायात व्यवस्था विभागले गत चैत १८ गते यातायात व्यवस्था विभागले ‘यातायात व्यवस्थापन कार्यविधी निर्देशिका’ जारी गर्दै देशैभरिका सार्वजनिक सवारीसाधनले पञ्जीकृत नभएर रुट इजाजत नै नपाउने निर्णय  गर्यो। सोहि निर्देशिकाले सार्वजनिक यातायातको क्षेत्रमा रहेको आलोपालो वा एकाधिकार (सिन्डिकेट)खारेज समेत गर्यो ।

पञ्जीकरण गर्नका लागि कम्पनी,फर्म वा सहकारी मोडलमा दर्ता हुनुपर्दछ। समितिमा दर्ता भएका सवारीसाधनहरु पञ्जीकरण गर्न मिल्दैन। सो निर्देशिकाको विरोध गर्दै समिति मार्फत सवारीसाधन सञ्चालन गरिरहेका सिन्डिकेटधारी व्यवसायीहरुले हड्तालको घोषणा समेत गरेका छन्।

मंगलबार बसेको मन्त्रीपरिषदको निर्णयले असारदेखि जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको यातायात समितिको दर्ता र नवीकरण नगर्ने निर्णय गर्यो । योसंगै अब सबै समितिहरुले अनिवार्य कम्पनी मार्फत पञ्जीकृत भएर मात्रै सेवा दिनुपर्ने भएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इका अब पञ्जीकृत सार्वजनिक सवारीसाधनले मात्रै रुट इजाजत पाउनेछन्।उनका अनुसार रुट इजाजत र नवीकरणका लागि पञ्जीकृत हुनु अनिवार्य गरिएको छ।

यातायात व्यवस्था विभागका अनुसार अहिले १ सय १३ वटा कम्पनीका सवारीसाधनहरुले मात्रै पञ्जीकृत भएका छन्। जसमध्ये ८० वटा कम्पनी मात्रै नवीरकण भएका छन्।बाँकी ३३ वटा कम्पनीले नवीकरण गरेका छैनन्।

पञ्जीकरणकालागि सबैभन्दा पहिले कम्पनीमा दर्ता हुनुपर्दछ।त्यसपछि मात्रै पञ्जीकरण गर्न सकिन्छ। 

कम्पनी दर्ता प्रक्रिया

कम्पनी रजिष्टारको कार्यालय मार्फत कम्पनी दर्ता गर्नुपर्दंछ।अहिले अनलार्इनबाटै कम्पनी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
अनलार्इन दर्ता गर्नका लागि सबैभन्दा पहिले कम्पनी रजिष्टारको वेबसार्इट(http://www.ocr.gov.np/index.php/np/) मा गएर ‘अनलार्इन कम्पनी सर्च’ भन्ने अप्सन रहेको छ।त्यहाँ गएर आफुले राख्न चाहेको नाम लेखेर सर्च गर्नुपर्दछ।तपार्इले राख्न चाहेको कम्पनीको नाम अरु कसैले राखेको छ वा छैन देखाउँछ।यदि राखेको छ भने पाइदैँन।नयाँ नाम जुराउनुपर्दछ।

त्यसपछि एउटा इमेल एकाउन्ट बनाउनुपर्दछ। सोहि वेबसार्इटको ‘रिजर्भ कम्पनी नेम’ अप्सनमा जानुपर्दछ।त्यहाँ ‘टु स्टाब्लिस अ न्यू कम्पनी’मा गएर फर्म भर्नुपर्दछ।

त्यहाँ युजर नेम समेत राखेर फर्म भरेपछि  पासवर्ड प्राप्त हुन्छ। त्यसपछि सोहि युजर नेम र पासवर्ड राखेर लग इन गर्नुपर्दछ।वेबसार्इटले दिएको पासवर्ड चेन्ज गरी पुन: लगइन गर्नुपर्दछ। त्यसपछि तपार्इले नाम स्विकृत भएको जानकारी आउँछ।केही नमिले त्यसको जानकारी पनि के भएको हो भन्ने आउँछ।

त्यसपछि प्रबन्धपत्र नियमावली बनाएर सोही एकाउन्टमार्फत अपलोड गर्नुपर्दछ।प्रबन्धपत्र नियमावलीमा कति जना सञ्चालक रहने लगायतका विवरण र उनीहरुको हस्ताक्षर हुन्छ।त्यसपछि प्रबन्धपत्र विनियमावलीको दुर्इप्रति लिएर कम्पनी रजिष्टारको कार्यालयमा स्वयम् जानुपर्छ।

साथै सबै सञ्चालकको नागरिकताको फोटोकपी समेत लिएर जानुपर्ने कम्पनी रजिष्टारको कार्यालयले जनाएको छ। त्यसपछि कम्पनी दर्ता हुन्छ।कतिको कम्पनी दर्ता गर्ने हो सो अनुसारको राजश्व बुझाउनुपर्दछ।

१ करोडको कम्पनी दर्ता गर्दा १६ हजार रुपैयाँ तिर्नुपर्दछ। सोभन्दा माथि प्रत्येक एक करोडमा तीन हजार बढ्दै जान्छ।

कम्पनी रजिष्टार कम्पनी मार्फत कम्पनी दर्ता गरेपछि यातायात व्यवस्था विभागमा गएर पञ्जीकरण गर्न सकिन्छ।

पञ्जीकरण गर्न केके गर्नुपर्छ ?

सवारी तथा यातायात व्यवस्था ऐन२०४९ को दफा ९३ ले सार्वजनिक याताया पञ्जीकरण गर्ने सम्वन्धी व्यवस्था गरेको छ।यातायात व्यवस्था विभाग मार्फत सार्वजनिक सवारीसाधनको पञ्जीकरण गर्न सकिन्छ।

यातायात व्यवस्था विभागका अनुसार पञ्जीकरणका लागि यस्ता कागजातहरु आवश्यक पर्छ:

१)सञ्चालन गर्न खोजेको यातायात सेवा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको प्रमाणपत्र,

२)सञ्चालन गर्न खोजेको यातायात सेवाको प्रबन्धपत्र र नियमावली,

३)प्रोपाइटर,साझेदार वा प्रथम सञ्चालकहरुको नागरिकताको प्रमाणपत्र,

४)सञ्चालन गर्न खोजेको यातायात सेवाअन्तर्गत रहेको सवारी दर्ताको प्रमाणपत्र,सवारी कर तिरेको निस्सा,जाँचपास,तेस्रो पक्ष विमा आयकर दर्ता प्रमाणपत्र,

५)सञ्चालन गर्न खोजेको यातायात सेवा यस अघि अन्य कुनै नामबाट सञ्चालन भएको भए त्यसको दर्ता प्रमाणपत्रआयकर प्रमाणपत्र र कर बुझाएको प्रमाण,

६)सेवा पञ्जीकृत गर्ने यातायात सेवा सञ्चालकहरुको नाममा रहेको कम्तीमा पाँचवटा सवारीसाधन हुनुपर्ने छ।अन्य व्यक्ति वा संस्थाको नाममा रहेका सवारीसाधनको भाडाको सम्झौता वा करारनामा गरिएका सवारीसाधन भएको अवस्थामा पञ्जीकृत हुनेछैन।

७)सञ्चालन गर्न खोजेको यातायात सेवा अन्तर्गत काम गर्ने चालक वा परिचालकलार्इ दिर्इएको नियमावपलीको अनुसुची ६२ कमोजिमको नियुक्तिको प्रतिलिपी र कमर्चारीहरुको विवरण

८)सेवा पञ्जीकृत गर्दा तोकिए बमोजिमको राजश्व दस्तुर बुझाएको रसिद पेश गर्नुपर्दछ।एक पटक सेवा पञ्जीकृत भैसकेको कम्पनीमा थप सवारी पञ्जीकृत गर्दा लाग्ने शुल्क पुन बुझाउनुपर्ने छ।

९)कार्यालय रहेको घर जग्गाको लालपुर्जा वा भाडामा लिएको भए सो को सम्झौता समेत पेश गर्नुपर्छ।

त्यसपछि यातायात व्यवस्था विभागले पञ्जीकरण गरिदिने व्यवस्था रहेको विभागका प्रवक्ता तल्सीराम अर्यालले जानकारी दिए।उनका अनुसार सबै प्रक्रिया पुरा गरे पञ्जीकरण केहि दिनमै पाइन्छ।