अरनिको यातायात फुटको संघारमा, ब्यवसायीहरुमध्ये कम्पनीमा जाने र आन्दोलन गर्ने दुर्इधार

बिजमाण्डू
२०७५ बैशाख ९ गते १२:२५ | Apr 22, 2018
अरनिको यातायात फुटको संघारमा, ब्यवसायीहरुमध्ये कम्पनीमा जाने र आन्दोलन गर्ने दुर्इधार


काठमाडौं।सिन्डिकेटमा सबैभन्दा बलियो समिति अरनिको यातायात सेवा समिति फुटको संघारमा पुगेको छ। समितिभित्रै कम्पनीमा जाने र आन्दोलनमा महासंघलार्इ सघाउने दुई धार स्पष्ट रुपमा अघि देखिएको छ।यो समिति आन्दोलनमा नजाने वित्तिकै महासंघको आन्दोलन 'डिफ्युज' हुनेछ।

Tata
GBIME
Nepal Life

यो समितिले वर्षौदेखि एकछत्र राज गरिरहेको छ।आर्थिक हिसाबले समेत बलियो रहेको यो समितिले आफ्नै स्कुल छ।सबै राजनीतिक दललार्इ चन्दा दिएर वर्षौदेखि यो समितले  सिन्डिकेट राज चलाइरहेको छ।

अरनिको यातायात मार्फत सेवा सञ्चालन गर्दै आएका केही व्यवसायीहरु कम्पनी ऐन अन्तर्गत बस सेवा सञ्चालन गर्न इच्छुक देखिएका छन्।
अरनिको यातायातका एक कर्मचारीका अनुसार अहिले समिति कम्पनीमा जाने वा नजाने भन्ने विषयमा दुर्इ धारमा बाँडिएका छन्।

समितिको बैठकमै केही व्यवसायीले आन्दोलन र हड्तालमा जानुभन्दा कम्पनी बनाएर बस सेवा सञ्चालन गर्नुपर्ने मत राखेको उनले बताए। कम्पनीमा जान चाहेको पक्षले कम्पनी रजिष्टारको कार्यालयमा गएर नाम बुकिङ गरिसकेको हुनसक्ने ती कर्मचारीको भनाई छ।

मयूरसँग मागे सहयोग

कम्पनीमा जान चाहने केही व्यवसायीले कोटेश्वर पूर्व सोही रुटमा बस सेवा सञ्चालन गर्दै आएको मयुर यातायातलार्इ कम्पनी मार्फत बस चलाउन सहयोग समेत मागेका छन्।

मयुर यातायातका अध्यक्ष मोहन बहादुर श्रेष्ठले अरनिको यातायातमा बस सेवा सञ्चालन गर्दै आएका केही व्यवसायीहरु मयुर मार्फत गाडी चलाउन चाहेको बताएका छन्। ‘हामी दिने सेवा फरक छ, त्यस्तै दिन सक्नु हुन्छ कि हुँदैन? गाडीको साइज पनि फरक छ इच्छुक हुनुहन्छ भने बसेर छलफल गरौंला भनेको छु’- उनले भने।

अरनिको यातयात सेवा समिति  भने सिन्डिकेट कायम राख्नुपर्ने पक्षमा देखिएको छ। समितिका अध्यक्ष श्यामबहादुर लामाले समिति महासंघमा आबद्ध भएकाले महासंघले कम्पनीमा जाने निर्णय गरे मात्रै जाने बताए। एउटा व्यवसायीलार्इ सोधेर केके भन्छन् थाहा छैन तर तत्काल हामी प्रालीमा जादैँनौ।महासंघले जाने निर्णय गर्यो भन्यो भने हामी पनि जान्छौ’-उनले भने।

अरनिको यातायात सेवा समितिको माइक्रो, मिनिबस र ठूला बस गरी छ सय वटा गाडीहरु सञ्चालनमा छन्।समितिका अनुसार अरनिको यातायात समितिले विहान साढे चार बजेदेखि बेलुका ५ बजेसम्म यात्रुवाहक सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

 काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङगा र सोलुखुम्वु जिल्लामा यातायात सञ्चालन गरिरहेको छ। साथै मन्थलीबाटबाट नरायणघाट, काँकडभिट्टा र चरिकोटबाट बर्दिवास  रुटमा सेवा दिँदै आएको छ।

समितिका अनुसार अरनिको यातायातमा काम गर्ने मजदुरहरु र अन्य कर्मचारीका दुर्इजना बालबालिकालार्इ निशुल्क रुपमा पढार्इरहेको छ। चरिकोटको माउन्ट भ्याली र काठमाडौको तिनकुनेस्थित कौटिल्यमा १० कक्षासम्म निशुल्क पढार्इरहेको बताइएको छ।अहिले समितिका काम गर्ने  २५ सय कर्मचारीका करिव ५ सय विद्यार्थीलार्इ निशुल्क पढार्इरहेको समितिका अध्यक्ष लामाले जानकारी दिए।

संस्थाको काठमाडौंमा र बनेपामा आफ्नै भवन तथा सिन्धुपाल्चोकको चौतारामा आफ्नै बसपार्क छ।विद्यालय समयमा विद्यार्थीलार्इ लक्षित गरेर नि:शुल्क सेवा दिर्इरहको समेत समितिले दावी गरेको छ।

समितिका अध्यक्ष लामाले चुनाव अघि सबै पार्टीलार्इ सहयोग गरेपनि चुनाव जितेपछि सरकारले गलत निर्णय गरेको उनले बताए। बाटोको स्थिती र आवश्यकताको अध्ययन नै नगरी रुट परमिट दिनु गलत भएको उनको तर्क छ। त्यस्तै समितिको खारेजीप्रति पनि उनले आपत्ति जनाए।

यसरी गर्छ अरनिको यातायातले सिन्डिकेट

अरनिकोले काभ्रेसहित,सिन्धुपाल्चोक,रामेछाप.दोलखा, जिल्ला एकलौटी रुपमा सिन्डिकेट कायम राख्दै गाडी सञ्चालन गर्दै आएको छ।

ती जिल्लामा सिन्डिकेट नभएको देखाउनका लागि उसले चौतारामा जुगल यातायात, कोसीपारी यातायात, बाह्रविसेमा सुनकोशी, दोलखा, रामेछापमा सगरमाथा, दोलखा, रामेछाप काठमाडौं अरनिको सुपर सिगटीमा गौरीशंकर यातायातको नाममा सेवा दिँदै आएको छ।

विभिन्न नामबाट बस सेवा सञ्चालन गरेर भिन्न जस्तो देखाएपनि ती सबैको मुल समिति भनेको अरनिको यातायात नै हो। अरनिको सार्वजनिक यातायातको क्षेत्रमा बस सञ्चालन गर्नेमध्ये अग्रपङ्तिमा आउँछ।