पूर्वाञ्चलमा विद्युत् चुहावट अझै १४ प्रतिशत, चार वर्षमा थप ६ सय ५२ मेगावाट बिजुली

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ बैशाख ८ गते १६:०७ | Apr 21, 2018
पूर्वाञ्चलमा विद्युत् चुहावट अझै १४ प्रतिशत, चार वर्षमा थप ६ सय ५२ मेगावाट बिजुली


विराटनगर । पूर्वाञ्चल क्षेत्रमा विद्युत् चुहावटको मात्रा अझै १४ प्रतिशत छ । नेपाल विद्युत् प्राधिकरणले यस क्षेत्रमा चुहावट घटेको दाबी गरे पनि १४ प्रतिशत चुहावट देखिएको हो ।

Tata
GBIME
Nepal Life


प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा मेची, कोशी र सगरमाथा गरी तीन अञ्चलमा विद्युत् चुहावट १३ दशमलव ७४ प्रतिशत छ । गत आर्थिक वर्ष २०७३/७४ मा चुहावटको मात्रा १७ दशमलव ६५ प्रतिशत रहेको कार्यालयको दाबी छ ।गत माघ महिनासम्मको अध्ययन र तथ्याङ्कले विद्युत् चुहावट ३ दशमलव ९१ प्रतिशतले घटेको क्षेत्रीय प्रबन्धक सच्चिदानन्द यादवले बताए ।
 
ग्राहक र महसुल असुलीमा पनि वृद्धि
क्षेत्रीय प्रबन्धक यादवका अनुसार गत आर्थिक वर्षका तुलनामा चालु आवमा महसुल असुलीमा पनि वृद्धि भएको छ । उनले गत आर्थिक वर्षमा कुल महसुलमध्ये ९७ दशमलव २ र चालु आवमा ९८ दशमलव ८८ प्रतिशत असुल गरिएको जानकारी दिए । 
 
जसअनुसार प्राधिकरणले चालु आवको सात महिनामा ४७ करोड २१ लाख ८९ हजार ४ सय ७१ युनिट विद्युत् विक्री गरी ४ अर्ब ५३ करोड ६६ लाख ९५ हजार ३ सय ८३ रुपैयाँ सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा ७३ करोड ८९ लाख ९९ हजार ८ सय १३ युनिट विद्युत् विक्रीबाट ६ अर्ब, ९६ करोड ६३ लाख ३१ हजार ९ सय ४६ रुपैयाँ असुल गरिएको थियो ।
 
यस क्षेत्रमा बढ्दो विद्युतीकरणसँगै ग्राहक थपिने सङ्ख्या पनि वृद्धि भइरहेको उनको दाबी थियो । माघ महिनासम्ममा ३७ हजार ५ सय ५७ ग्राहक थपिएको उनले बताए ।यादवका अनुसार गत आवमा ५ लाख ६२ हजार ४ सय १४ ग्राहक रहेकोमा चालु आवमा ५ लाख ९९ हजार ९ सय ७१ जना पुगेका छन् । पूर्व क्षेत्रमा तत्काल विद्युत्को माग २ सय मेगावाट छ । जसमध्ये पूर्वका जिल्लामा निर्मित विद्युत् आयोजनाबाट १ सय २ मेगावाट विद्युत्को आपूर्ति गरिएकोे छ । 
 
केन्द्रीय प्रशारण लाइनमा आन्तरिक उत्पादनबाट पुवा खोलाको ३ र काबेली करिडोर तथा सङ्खुवासभाको तिरतिरेबाट २७ मेगावाट विद्युत् जोड्न सकिएको उनको भनाइ थियो ।भारतबाट पूर्वाञ्चलका लागि १ सय ३५ मेगावाट विद्युत् पैठारी भइरहेको छ । पूर्वमा पिलुवा, तल्लो पिलुवा, सभाखोला, पुवाखोला, माई खोला, सानिमा क्यास्केट, अपर माई, अपर माई क्यास्केट, जोगमाई, अपर पुवा, हेवाखोला, खोराङ खोला, फावा खोला र चतरा उत्पादन केन्द्र गरी १४ आयोजनाबाट १ सय २ दशमलव ६ मेगावाट विद्युत् उत्पादन हुने तथ्याङ्क प्राधिकरणले उपलब्ध गराएको छ ।जसमध्ये चतरा केन्द्रको ३ मेगावाटको विद्युत् आयोजना भने लामो समयदेखि बन्द रहेको यादवले बताए।क्षेत्रीय कार्यालयले आफ्नो कार्यक्षेत्रका २७ प्रतिशत जनता विद्युत् उपभोग गर्नबाट अझै वञ्चित रहेको जनायो ।
 
निर्यातको तयारी
यस क्षेत्रमा जलस्रोतको उपयोग अधिकतम रूपमा गर्ने रणनीति प्राधिकरणको रहेको चर्चा गर्दै यादवले  उत्पादन, प्रसारण र वितरण प्रणालीको सुदृढीकरण एकीकृत आधारमा गरिने उल्लेख गरे ।
 
निकट भविष्यमै यस क्षेत्रबाट विद्युत् निर्यात गर्न आवश्यक तयारी सुरु गरिएको उनको भनाइ थियो । 
 
आगामी चार वर्षमा थप ६ सय ५२ मेगावाट विद्युत् उत्पादन
प्रबन्धक यादवका अनुसार पूर्वाञ्चलका ३ उत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७८/०७९ सम्ममा ६ सय ५२ दशमलव ०६ मेगावाट विद्युत् उत्पादनको अनुमति निजी क्षेत्रले लिएको छ । 
 
जसअनुसार सोलु कोरिडोरको सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरबाट ३ सय २५ मेगावाट, कोशी कोरिडोरको भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, सुनसरी र मोरङबाट १ सय ४० दशमलव ०७ मेगावाट तथा काबेली कोरिडोरको ताप्लेजुङ, पाँचथर, इलाम र झापाबाट १ सय ८६ मेगावाट विद्युत् उत्पादन गरिने स्पष्ट भएको छ । 
 
सर्वे अनुमति ३७ सय मेगावाट
त्यसैगरी पूर्वाञ्चलमा विभिन्न विद्युत् आयोजनाले ३ हजार ७ सय २२ दशमलव १७ मेगावाट विद्युत्को सर्वे अनुमति पत्र लिएको प्राधिकरणले जनाएको छ ।
 
अनुमतिको पत्र लिनेमा सोलु कोरिडोरबाट ८ सय २१ दशमलव २७, कोशी कोरिडोरबाट १ हजार ७ सय २७ दशमलव ९ र काबेली कोरिडोरबाट १ हजार १ सय ७३ मेगावाट क्षमताका विभिन्न आयोजना रहेको यादवको कथन थियो ।