तीन बैंकले बढाए नाफा, सिटिजन्स, एभरेष्ट र सिद्धार्थ बैंकको यस्तो छ चैतसम्मको वित्तीय अवस्था

बिजमाण्डू
२०७५ बैशाख ७ गते १०:२४ | Apr 20, 2018

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल, एभरेष्ट बैंक र सिद्धार्थ बैंकको नाफा बढेको छ। चैतसम्म एभरेष्टले १८, सिद्धार्थको २८ र सिटजन्सको १४ प्रतिशतले नाफा बढाएका छन्।

Tata
GBIME
Nepal Life

सिटिजन्स बैंक इन्टरनेशन बैंक चैतमै अर्बपति क्लबमा प्रवेश गरेको छ। बैंकले एक अर्ब रुपैयाँ नाफा गरेको छ। गत वर्ष चैतमा ८८ करोड २८ लाख रुपैयाँ नाफा थियो। खुद ब्याज आम्दानी एक अर्ब ४६ करोड रुपैयाँ छ। फि, कमिसन, संचालन मुनाफा, बैदेशिक मुद्रा सटहि समेत गरि खुद आम्दानी भने दुर्इ अर्ब १२ करोड रुपैयाँ छ। गत वर्ष यस्तो आम्दानी एक अर्ब ७५ करोड रुपैयाँ थियो।

बैंकले ६० अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरि ५५ अर्ब ८२ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्ष भने ५५ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकन गरि ४७ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकले ५ अर्बको पूँजीलार्इ बढाएर ८ अर्ब तीन करोड रुपैयाँ पुर्याएको छ। २ अर्ब ३७ करोड रुपैयाँ जगेडा कोषमा छ। पूँजी कोष अनुपात १३.८५ प्रतिशतबाट बढेर १५.६६ प्रतिशत पुगेको छ। खराब कर्जामा पनि केहि सुधार सहित १.४६ प्रतिशतमा झरेको छ। आधार व्याजदर १०.०३ प्रतिशतबाट बढेर ११.१५ प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी १६ रुपैयाँ छ।

एभरेष्ट बैंकले एक अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ। गत बर्ष एक अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकको खुद ब्याज आम्दानी तीन अर्ब २५ करोड रुपैयाँ पुगेको छ। गत बर्ष २ अर्ब ६७ करोड रुपैयाँ मात्रै थियो।

बैंकले एक खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ८८ अर्ब १७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले रियल स्टेटमा कर्जा लगानी घटाएर ब्यक्तिगत हाउजिङ ऋण, आवधिक कर्जा र ओभर ड्राफ्टमा भने बढाएको छ। बैंकको चुक्ता पूँजी एक वर्षमा ४ अर्ब रुपैयाँबाट ८ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै जगेडा कोषमा ५ अर्ब ८५ करोड रुपैयाँ जम्मा भएको छ।

पूँजी बढेसँगै बैंकको पूँजीकोष अनुपात १३.८८ प्रतिशतबाट १५.७० प्रतिशत पुगेको छ। आधार व्याजदर ७.०३ प्रतिशतबाट बढेर ८.१८ प्रतिशत पुगेको छ। खराब कर्जामा पनि ०.६७ प्रतिशतबाट सुधार भएर ०.२३ प्रतिशतमा झरेको छ। दोब्बरले पूँजी बढ्दा बैंकको प्रति शेयर आम्दानी ४४ रुपैयाँबाट २९ रुपैयाँमा झरेको छ।

सिद्धार्थ बैंकले ९५ करोड ८७ लाख रुपैयाँको नाफालाई एक अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ। खुद ब्याज आम्दानी २ अर्ब २० करोड रुपैयाँ छ। बैंकले ९० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरि ७९ अर्ब ८८ करोड रुपैयाँ ऋण लगानी गरेको छ।  गत बर्ष चैतमा निक्षेप ७५ अर्ब २७ करोड र ऋण ६६ अर्ब २६ करोड रुपैयाँ थियो।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँबाट ८ अर्ब एक करोड रुपैयाँ पुर्याएको छ।  जगेडा कोषमा तीन अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ। पूँजी र जगेडा बढेसँगै बैंकको पूँजी कोष अनुपात बढेर ११.६० प्रतिशतबाट १२.३० प्रतिशत पुगेको छ। बैंकले खराव कर्जामा पनि सुधार गरि १.७१ प्रतिशतबाट घटाएर १.३१ प्रतिशतमा झारेको छ।

उच्च ब्याजदरको असर बैंकको आधार व्याज दरमा देखिएको छ। गत वर्ष ७.६७ प्रतिशत रहेको आधार दर यसपाली ११.३० प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी २० रुपैयाँ छ।