‘अतिथी देवो भवः’ सार्थक हुन सकेन, पर्यटक बढाउन यस्तो सुधार गरौं,सुमन पाण्डेको विचार

बिजमाण्डू
२०७५ बैशाख ६ गते १०:१३ | Apr 19, 2018
‘अतिथी देवो भवः’ सार्थक हुन सकेन, पर्यटक बढाउन यस्तो सुधार गरौं,सुमन पाण्डेको विचार

भिजन फाइभ मिलियन अन्तर्गत पुर्वाधार, उड्डयन, मार्केटिङ, प्रोडक्ट डेभलपमेन्ट, पोलिसी रिफर्म, ह्युमन क्यापिटल डेभलपमेन्ट लगायत छ वटा मिसन रहेका छन्। भिजन फाइभ मिलियन अन्तर्गत छ वटा मिसन मध्ये पूर्वाधार पहिलो मिसन हो।

पूर्वाधार विकास नभएसम्म दिगफ रुपमा पर्यटन प्रवर्द्धन हुन सक्दैन। पूर्वाधार अन्तर्गत एयरपोर्ट, रोड ट्रान्स्पोर्ट, पावर, कम्युनिकेसन र वातावरण रहेका छन्।अहिले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवा दुबै व्यवस्थित गर्नुपर्ने आवश्यकता छ। अहिले करिब १० लाख पर्यटक भित्रिएका छन् भने ३२ लाख त हवाई यात्रुमात्र आएका छन्।

Tata
GBIME
Nepal Life

यात्रुलाई सुविधा दिने कुरामा निकै सुधार गर्नुपर्ने देखिन्छ। 'अतिथी देवो भवः' त्यतिबेला मात्र सार्थक हुन्छ जब अतिथीले आफुलाई देवता सरह सत्कार गरेको आभाष पाउनेछन्। हामीकहाँ अझै अतिथी देवो भवः' शब्द सार्थक  हुन सकेको छैन। 'भिजन फाइभ मिलियन' लाई दृष्टिगत गरेर कमसेकम एक करोडदेखि डेढ करोड पर्यटक ल्याउने क्षमता वृद्धि गर्नु जरुरी छ। त्यसमा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वृद्धि गरेर न्यूनतम ८० लाख पर्यटकलाई आवतजावत गराउन सकिन्छ।

कोटेश्वरमा सुरुङ बनाएर रनवे एक्पान्सनको कुरा छ, सानो जहाजलाई धुलिखेल लगायतका क्षेत्रबाट संचालन गरियो भने एक करोड पर्यटक आउन कुनै समस्या रहने छैन। निजगढ विमानस्थल, गौतम विमानस्थल र पोखरा विमानस्थल समयमै संचालनमा आयो भने नयाँ नयाँ फ्लाइट संचालनमा आउनेछन्।

अहिले ४० हजार पर्यटक खुम्बु क्षेत्रमा गइरहेका छन्। त्यहाँ लुक्ला एयरपोर्ट मात्र छ। भोलि ५० लाख पर्यटक आउँदा दुई लाख पर्यटक त खुम्बु क्षेत्रमै जान्छन् भन्ने परिकल्पना गरेर सोही अनुसार फाप्लु एयरपोर्ट पनि संचालनमा ल्याएर  लुक्ला र फाप्लुबीच फास्ट ट्र्याक बनायो भने सहज हुनेछ।
कुनै पनि तरिकाले रारा, हुम्ला सिमीकोट हुँदै कैलाश मानसोवर , लुम्बीनी लगायतका विभीन्न सम्भावित पर्यटकीय स्थल लक्षित एयरपोर्ट विस्तारको लागि योजना बनाउन जरुरी छ।

रोड एण्ड ट्रान्सपोर्ट
पर्यटकले सबैभन्दा रमाइलो गर्ने भनेकै गाडी सयरमा हो। हवाई जहाज चढेपछि यहाँबाट गयो एकछिनमा गन्तब्यमा पुग्यो। यात्रा  बादलभित्रै सिमीत हुन्छ। तर सडक हुँदै यात्रा  गर्दा वरिपरी देखिने परिवेश र प्रकृतिमा रमाउनुको  आनन्द फरक हुन्छ।


 
तर हाम्रो सडक साँघुरो र  लो ग्रेडको भएको कारण बढी जोखिमयुक्त छ। अझ पहाडी क्षेत्रमा बनाइएको सडकहरु त निकै डरलाग्दो छ। जुम्ला आउजाउ गर्नुपर्यो भने भाकल गर्नुपर्ने स्थितीमा पर्यटक वृद्धि कसरी हुन्छ? पर्यटकलाई आकर्षित गर्नसक्ने पहाडी सडक सिन्धुली बर्दिबासको सडक जस्तै दुई लेनमा निर्माण गर्न आवश्यक छ। सिलगुडीबाट दार्जलिङ जाँदाको जस्तो सडक बनाउन सकियो भने पर्यटकले रोड ट्राभल गर्दा सुरक्षित हुनका साथै दृश्यालोकन पनि गर्न सक्छन्। मास प्यासेन्जर को लागि मास ट्रान्जिट (रेल)कै आवश्यकता छ।

पूर्व पश्चिममा छ लेनको एक्सप्रेस राजमार्ग भयो भने काँकडभिट्टाबाट आठ घण्टा मै सुरक्षित रुपमा कञ्चनपुर पुग्न सक्छौँ। संसारमा अहिले एक्सप्रेस वे को अवधारणा आइसकेको छ। अवधारणा अनुसार १२ घण्टामा एक हजार किलोमीटर पार गर्न सकिन्छ। मेन हाइवेको एक्सप्रेस वेबाट मेचीदेखि महाकालीसम्म जान सक्ने वातावरण होस्। कोशीदेखि हटियासम्म जान पाइयोस्।

सगरमाथाबाट फाप्लुसम्म जान पायोस्। महेन्द्रनगरदेखि व्यास हिमालसम्म जान पाइयोस्। यस्तो किसीमको सडक विकास नेपालको लाइफलाइनको रुपमा परिकल्पना गरेका छौँ जसले गर्दा पर्यटन व्यवसायलाई पनि प्रवर्द्धन गर्नेछ। सडक खण्डले पर्यटन क्षेत्रलाई मात्र नभइ पर्यटन व्यवसायमा पनि टेवा पुर्याउँछ।

दिगो उर्जा
हामीले लामो समयसम्म लोडसेडिङ खेप्यौँ। हामी अहिले दिगो रुपमा लोडसेडिङ मुक्त हुने प्रकृयामा छौँ। ठूला होटल खोल्दा बत्ती आउने हो की होइन, उद्योग गर्दा बिजुलीको पावर पुग्ने हो की होइन भन्ने कुरामै अल्झिनुपर्ने अवस्था छ। 


 
अहिले बाल्नका लागि बत्ती मजैले पुगिरहेको छ। तर पावर प्रयोग गरेर कमाउने  र मनोरञ्जन गर्ने अवस्था छैन। दिउँसो ल्हासा जाँदा ठिकै देखिएपनि राती पुरै झलमल्ल छ। दिउँसो हेर्ने ल्हासा र राती हेर्ने ल्हासामा निकै फरक छ।

पावर(विजुली) बेसिक निड हो भने व्युटीफिकेसनका साथै प्रोडक्सन पनि हो। आर्थिक विकासमा पावरको ठूलो भुमिका हुन्छ। मुलुक स्थिर र सम्वृद्धि तर्फ गयो भने र देशतर्फ सबैको पोजेटिभ इनर्जी आउँछ र पर्यटकहरु आकर्षित हुन्छन्। क्राइसिस भएको ठाउँमा मान्छे कहिले जानै चाहँदैन।

बेलुका घरमा बत्ती बाल्नुको अर्थ घरमा सम्बृद्धि ल्याउनु जस्तै उर्जाको विकासको उद्देश्य पनि देशमा सम्बृद्धि ल्याउनु नै हो। 

प्रविधिको पहुँच
अहिलेको प्रविधीमैत्री युगमा पर्यटन भनेको घुमघाम गर्ने र रमाइलो गर्ने मात्र नभइ ज्ञानवर्धक कृयाकलाप पनि हो। शिक्षा लिनका लागि पनि मान्छेले भ्रमण गर्छ।

भ्रमण मेन्टल, फिजीकल र साइकोलोजिकल फिटनेसको लागि गरिन्छ। लामो समय काम गरेर स्ट्रेस हटाउनका लागि पुनर्ताजगीकालागि घुमघाम गरिन्छ। भ्रमण गर्दा पाँच प्रतिशत मान्छेले टेलिभिजन नहेर्लान तर अन्य प्रविधिहरुसँगको पहुँचबाट टाढिन चाहँदैनन्।टेक्नोलोजिकल रिभोलुसनले गर्दा मान्छेहरु नेटवर्क फ्रेन्ड्ली छन्। जहाँ गएपनि टेलिफोन र इन्टरनेटको पहुँचमा बस्न चाहन्छन्। कुनै व्यक्तिले आफुले भ्रमण गरेको स्थानबाट फोटो अथवा भिडीयो सामाजिक संजालमा राख्दा संसारभरका मानिसले त्यो स्थानबारे थाहा पाउन सक्छन्। त्यसले गर्दा पर्यटन प्रचार भयो।

हामीले खोजअध्ययन गरेअनुसार संचार कमजोर रहेको ठाउँमा मान्छे जानै हिच्किचाउँछन्। मान्छे घुम्न जाँदा पनि आफ्नो काम गरिरहेका हुन्छन्। नेटवर्क र इन्टरनेटको सहयोगले घुमघाम देखि दैनिक कार्य गर्न इन्टरनेटकै सहायता लिइरहेका हुन्छन्। अहिले लेटेस्ट कन्सेप्ट को-वर्किङ प्लेस आएको छ। होटलमै चार पाँच जना  मान्छे अट्ने एउटा कोठा  हुन्छ। जहाँ हाइ स्पिड इन्टरनेट र स्क्यानिङ मेसिन लगायतका सुविधा हुन्छन्।त्यहाँ बसेर काम गर्न सक्छन्।

वातावरण फोहोर भएको ठाउँमा कोही पनि घुम्न जान मन पराउँदैनन्। हामीले वातावरणमैत्री पूर्वाधार विकास गर्न आवश्यक छ। काठमाडौंमा अहिले मर्निङवाक गर्ने ठाउँ नै छैन। मर्निङवाकका लागि  एउटा वडामा कम्तिमा २० रोपनीको एउटा पार्क भइदियोस्। उपत्यका बाहिर एउटा गाउँपालिकामा दुई तीनवटा पार्क होस्। सास फेर्दा पनि आनन्द आउने वातावरण हुनुपर्यो। काठमाडौंबाट पोखरा जाँदा सडक किनारामा हरिया रुख, डाँडातिर एलाइन्मेन्ट मिलेका  घर भएमा पर्यटक आकर्षित हुने वातावरण नबन्ने कुरै भएन।

 पर्यटकीय सम्पदाको कुरा गर्ने हो भने भुटानमा नेपालसँग भएको २० प्रतिशत सम्पदा पनि छैन। तर बन सुरक्षा गरेको हुनाले नै भुटानमा पर्यटकको राम्रो आवतजावत रहेको छ। हाइवे एरिया टोटल्ली ग्रीन होस्। अब त्रिशुली मात्र होइन कयौँ खोलाका ढुङ्गा र कंन्क्रिट झिकेर खोलाको अस्मितै सकिन लागिसक्यो। ढुङ्गा, बालुवा आवश्यक छ तर यसका लागि कुनै एउटा निश्चीत क्षेत्र छुट्टाइयो भने राम्रो हुनेथियो। हाइवेमा आन्तरिक तथा वाह्य दुवै पर्यटकले फोहोर नदेखुन्।

अहिले बिजुलीको सुविधा जहाँसुकै पुगिसकेको छ। अब शिवपुरीको डाँडा गएर लाङटाङ हेर्ने सकिने ठाउँमा विजुलीको तार, खम्बा, टावर छ। मनोरमतालाई नै विगार्ने गरी टावर, तार राखिएको छ। यसलाई सिस्टम्याटिक रुपमा राख्न सकियो भने पर्यटकीय स्थलको वातावरण थप राम्रो हुनेथियो। यसको लागि सरकार नीतिगत रुपमै लाग्नुपर्ने देखिन्छ।

नागर्जुनको डाँडाबाट पर्यटकले तस्विर खिच्दा सिनको भन्दा पहिला  मोवाइल फोनको टावरको तस्विर आउने, हाइटेन्सनको लाइन आउने लगायतका समस्या छन्।सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउन प्यासेफिक एशिया ट्राभल एसोसिएसन (पाटा)ले ‘भिजन फाइभ मिलियन’ प्रोजेक्ट ल्याएको हो। हाल यो परियोजना कार्यान्वयनकालागि पाटाले सरकारसँग समन्वय गर्न सुरु गरिसकेको छ। (पाटा नेपालका निर्वतमान अध्यक्ष पाण्डेसँग बिजमाण्डूका बसन्तराज उप्रेतीले गरेको कुराकानीमा आधारित)