पूँजी बढाउन गम्भिर देखिएनन् बीमा कम्पनी, हकप्रदबाट उठाए ५ अर्ब रुपैयाँ

बिजमाण्डू
२०७५ बैशाख ६ गते ०९:५८ | Apr 19, 2018

काठमाडौं। बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीलार्इ असार मसान्तसम्ममा तोकिएको पूँजी जुटाउन निर्देशन दिएपनि अधिकांसको तोकिएको पूँजी पुर्याउने छाँटकाँट देखिएको छैन। अहिलेसम्म जीवनतर्फ १ र निर्जीवनतर्फ २ वटा कम्पनीले मात्रै पुर्याएका छन्। ३ वटा अन्तर्राष्ट्रिय बीमा कम्पनीले पूँजी जुटाउने कुनै पनि योजना सार्वजनिक गरेका छैनन्।
 

Tata
GBIME
Nepal Life

तीनवटा कम्पनीलार्इ छाडेर समितिले तोकेको पूँजी जुटाउँदा अझै १५ अर्ब रुपैयाँभन्दा बढी आवश्यक देखिएको छ। जसमा जीवन बीमा कम्पनीले ७ अर्ब ७६ करोड रुपैयाँ जुटाउन बाँकी छ भने निर्जीवन बीमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ जुटाउनु पर्नेछ।

बीमा समितिले जीवन बीमा कम्पनीलाई दुई अर्ब र निर्जीवनलाई एक अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ। यसको समय २०७५ असार मसान्तमा सकिँदैछ।

कमजोर वित्तीय विवरण भएका बीमा कम्पनीले आफ्ना शेयरधनीलार्इ पटक पटक हकप्रदको भार बोकाइरहेका छन्। पूँजी बृद्धि योजनापछि बीमा कम्पनीले हकप्रद शेयर मात्रै २ अर्ब ४८ करोड रुपैयाँको निष्काशन गरेका छन्।

जीवन बीमा कम्पनी

बीमा कम्पनी चुक्ता पूँजी जुटाउन बाँकी तयारी  
एशियन लाइफ इन्स्योरेन्स 1208389800 791610200 ५०% हकप्रद
गुँरास लाइफ इन्स्योरेन्स 594000000 1406000000 ५०% हकप्रद
लाइफ इन्स्योरेन्स कम्पनी 1334677500 665322500  
नेशनल लाइफ इन्स्योरेन्स 1664171800 335828200 ६०% हकप्रद
नेपाल लाइफ इन्स्योरेन्स 3096428600 पुगिसकेको    
प्राइम लाइफ इन्स्योरेन्स 610200000 1389800000 १६०% हकप्रद
राष्ट्रिय बीमा संस्थान 99513800 1900486200 बाँकी
सूर्या लार्इफ इन्स्योरेन्स 721875000 1278125000 ४०% हकप्रद

चालु आर्थिक वर्षमा बोनस शेयर भने एक अर्ब ३७ करोड रुपैयाँ मात्रै वितरण गरेका छन्। बोनस र हकप्रदको बाटो रोजेका अधिकांश बीमा कम्पनीले चालु आर्थिक वर्षको नाफाबाट समेत गरी जुटाउने तयारी गरिरहेका छन्। यसले गर्दा आगामी बर्षमा केहि मात्रामा बोनस शेयर बढ्ने देखिन्छ।

धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशन अनुमति माग गर्दै ५ वटा कम्पनी पाइपलार्इनमा छन्। उनीहरुले २ अर्ब ६९ करोड रुपैयाँको हकप्रद निष्कासन गर्नेछन्।

९ वटा जीवन बीमा कम्पनीमध्ये हाल पूँजी बढाउने तयारी गर्नेमध्ये नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाहेक अन्यले तोकिएको पूँजी चालु आर्थिक वर्षमा जुटाउन सक्ने देखिँदैन। साथै अमेरिकन लाइफ इन्स्योरेन्सले बीमा समितिमा २ अर्ब रुपैयाँ जुटाउने योजना समेत पेश गरेको छैन।
 
एशियन लाइफ इन्स्योरेन्स कम्पनी
कम्पनीले आइतबारसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो। यससँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब २१ करोड रुपैयाँ पुग्नेछ। बाँकी ८० करोड रुपैयाँका लागि थप हकप्रद निष्कासन गर्नु पर्नेछ। तर यसका लागि कुनै पनि प्रक्रिया भने अगाडि बढाएको छैन।
 
गुँरास लाइफ इन्स्योरेन्स
यस कम्पनीको हालको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ। धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमति पाइसकेको कम्पनीको हकप्रद निष्कासनपछि ८९ करोड १० लाख रुपैयाँ कायम हुनेछ। यसपछि पनि कम्पनीले एक अर्ब ११ करोड रुपैयाँ जुटाउनु पर्नेछ।
 
लाइफ इन्स्योरेन्स कम्पनी नेपाल
एक अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीले अझै ६६ करोड ५३ लाख रुपैयाँ जुटाउनु पर्नेछ। कम्पनी गत अघिल्लो आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २४.८ प्रतिशत बोनस शेयर दिएको थियो। गत आर्थिक वर्ष २०७३/७४ को साधारणसभा गरेको छैन। गत आर्थिक वर्षको वित्तीय विवरण हेर्ने हो भने नाफा ११ करोड १६ लाख रुपैयाँ छ भने जगेडा कोषमा २६ करोड ५ लाख रुपैयाँ रहेको छ। कम्पनीले बोनस शेयरबाट पूँजी जुटाउन चाहेमा चालु आर्थिक वर्षको नाफा सहित गत वर्षको नाफा तथा जगेडा कोष प्रयोग गर्न सक्छ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ६५ करोड रुपैयाँ रहेको छ। कम्पनीले यसै पूँजीको ६० प्रतिशत हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ। धितोपत्र बोर्डले हकप्रद निष्कासन गर्ने अनुमति प्रदान गरेसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुर्याउनेछ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी
प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीले १६० प्रतिशत हकप्रद दिएपछि अघिल्लो आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर चुक्ता पूँजी एक अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ। यसपछि पनि कम्पनीले २२ करोड रुपैयाँ जुटाउनु पर्नेछ। कम्पनीको जगेडा कोष हेर्ने हो भने ९३ करोड रुपैयाँ भन्दा माथि छ।

राष्ट्रिय बीमा संस्थान
नेपाल सरकारको स्वामित्व रहेको संस्थानले नेपाल सरकारबाट पूँजी बढाउन सैद्धान्तिक स्वीकृति पाएको छ। यससँगै कम्पनीले एफपिओ निष्कासन गर्नेदेखि बोनस र हकप्रद शेयरको बाटो पनि रोज्न सक्ने देखिन्छ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्र बोर्डबाट ४० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति पाइसकेको छ। कम्पनीले हकप्रद निष्कासन गरेसँगै एक अर्ब एक करोड रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्देशन गरेको पूँजी जुटाउन अझै ९९ करोड रुपैयाँ जुटाउनु पर्नेछ।

निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले तोकिएको चुक्ता पूँजी जुटाए पनि अन्यले भने पुर्याउन सकेका छैनन्।
 
एभरेष्ट इन्स्योरेन्स
एभरेष्ट इन्स्योरेन्स कम्पनीले भर्खरै एक अर्ब रुपैयाँ नघाउने गरी पूँजी बढाउने योजना सार्वजनिक गरेको छ। यसभन्दा अगाडि ६०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेपनि धितोपत्र बोर्डले कम्पनीको संस्थापक र सर्वसाधारण शेयरधनी अनुपात मिलाएर मात्रै आउन अनुरोध गरेसँगै यो योजना विफल भएको थियो। अहिलेको योजनामा बोनस शेयर र हकप्रद बिक्री गरेर १ अर्ब रुपैयाँ नघाउनेछ।

आइएमइ जनरल इन्स्योरेन्स कम्पनी
हालको चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद निष्कासनकालागि धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा रहेको छ। ८० प्रतिशत हकप्रद निष्कासनसँगै कम्पनीले एक अर्ब रुपैयाँ सजिलै पुर्याउन सक्नेछ।

लुम्बिनी जनरल इन्योरेन्स कम्पनी
कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट १२.८२ प्रतिशत बोनस शेयर वितरण गरेसँगै चुक्ता पूँजी ८८ करोड रुपैयाँ पुगेको छ। बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ पुर्याउन अझै १२ करोड रुपैयाँ आवश्यक पर्छ।
 
नेशनल/ओरियन्टल इन्स्योरेन्स कम्पनी
भारतीय बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा रहेको कम्पनीले बीमा समितिमा अहिलेसम्म पनि क्यापिटल प्लान बुझाएको छैन। त्यस्तै अर्को भारतीय बीमा कम्पनी ओरियन्टल इन्स्योरेन्स कम्पनीले पनि क्यापिटल प्लान बुझाएको छैन।
 
नेको इन्स्योरेन्स कम्पनी
नेको इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी ११७ करोड रुपैयाँ पुर्याइसकेको छ। कम्पनीले हकप्रद शेयर दिएर पूँजी पुर्याएको हो।

नेपाल इन्स्योरेन्स कम्पनी
नेपाल इन्स्योरेन्स कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। हकप्रदसँगै कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ नाघ्नेछ। साथै कम्पनी बैशाख १ गते सधारणसभा मार्फत शतप्रतिशत हकप्रद तथा बोनस शेयरबाट कायम पूँजीको पुनः ६५ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। यससँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब नाघ्नेछ।  

एनएलजी इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको साधारणसभाबाट २५ प्रतिशत बोनस शेयर पारित गरेसँगै कम्पनीको चुक्ता पूँजी ६४ करोड ६ लाख रुपैयाँ कायम हुनेछ। कम्पनीले अझै ३६ करोड रुपैयाँ जुटाउनुपर्ने हुन्छ।

प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्स कम्पनीको ४६ प्रतिशत हकप्रद हाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ। हकप्रद निष्कासनपछि पनि कम्पनीलार्इ ३१ करोड १५ लाख रुपैयाँ आवश्यक पर्छ।

अरुको अवस्था कस्तो?
प्रिमियर इन्स्योरेन्स कम्पनीले एफपिओबाट कायम भएका शेयरधनीलार्इ १३.५२ प्रतिशत बोनस शेयर दिएर पनि चुक्ता पूँजी ५८ करोड रुपैयाँ नाघ्नेछ।

कम्पनीले अझै ४१ करोड ५९ लाख रुपैयाँ जुटाउनु पर्नेछ। त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सले यस भन्दा अगाडी ३० प्रतिशत हकप्रद निष्कासन गरेर ६४ करोड १५ लाख रुपैयाँ पुर्याएको छ भने कम्पनीले अझै ३५ करोड ८४ लाख रुपैयाँ जुटाउनु पर्नेछ।

सगरमाथा इन्स्योरेन्सले एक अर्बका लागि नपुग ४६ करोड १७ लाख रुपैयाँ चालु आर्थिक वर्षको नाफाबाट पुगेसम्म बोनसबाटै पुर्याउने देखिन्छ।

चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रक्रियामा रहेको कम्पनीको चुक्ता पूँजी ८६ करोड ५८ लाख रुपैयाँ पुग्नेछ। त्यसपछि पनि कम्पनीले १४ करोड रुपैयाँ जुटाउनु पर्नेछ।

युनाइटेड इन्स्योरेन्स हाल चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ। कम्पनीले २४० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। यससँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ।

बीमा समितिको निर्देशन अनुसार यसै वर्षको असार मसान्तसम्ममा तोकिएको पूँजी जुटाउनुपर्ने भए पनि अधिकांश कम्पनी पूँजी जुटाउने प्रक्रियामै रहेका छन्।

समितिले पूँजी बृद्धि योजना सार्वजनिक गरेसँगै जीवन तथा निर्जीवन बीमा कम्पनीले २५ अर्ब रुपैयाँ हाराहारीको पूँजी जुटाउनु पर्ने थियो।

यसै योजना अनुसार अझै तीन अन्तर्राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब जुटाउने विषयमा कुनै पनि योजना सार्वजनिक नगर्दा पनि बाँकी कम्पनीले १५ अर्ब रुपैयाँ जुटाउन बाँकी छ।