यो वर्ष बीमा कम्पनीको नाफा सर्वाधिक हुने,शतप्रतिशतसम्म नाफा, नाफा बढ्नुको कारण यस्तो छ

अरुण सापकोटा/बिजमाण्डू
२०७५ बैशाख ४ गते १२:५० | Apr 17, 2018
यो वर्ष बीमा कम्पनीको नाफा सर्वाधिक हुने,शतप्रतिशतसम्म नाफा, नाफा बढ्नुको कारण यस्तो छ


काठमाडौं। बैंक तथा वित्तीय संस्थाको नाफा घट्ने प्रक्षेपण हुँदै गर्दा बीमा कम्पनीको भने नाफा बढ्ने भएको छ। बैंकको उच्च ब्याजदर, नयाँ कम्पनी आएसँगै एग्रेसिभ देखिएका बीमा कम्पनी, चुक्ता पूँजी बढेसँगै शेयरधनीको नाफा बढाउने प्रेसरले बीमा कम्पनीको नाफा बढाउन सहयोग गरेको हो।

Tata
GBIME
Nepal Life

विगतको वर्षको तुलनमा यस वर्ष जीवन बीमा व्यवसायको ‘ग्रोथ’ बढेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए। झाका अनुसार यस वर्ष विगतका वर्षको तुलनमा जीवन बीमा व्यवसाय शतप्रतिशतले बढेको छ।
कम्पनीले बैदेशिक म्यादी जीवन बीमाभन्दा जीवन बीमा व्यवसायमा बढी राम्रो गर्न सकेको उनले जानकारी दिए।

नेपालमा जीवन बीमा व्यवसायको दायरा फराकिलो भएको हुँदा कम्पनीहरुले यसबाट धेरै फाइदा लिन सक्ने उनको भनाई छ।

नयाँ जीवन बीमा कम्पनी रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीका अनुसार यस आर्थिक वर्षको ९ महिनामा १९ करोड रुपैयाँभन्दा माथिको नाफा हुनेछ।

कम्पनीले यस वर्ष ५३ वटा शाखा विस्तार गर्ने योजना बनाएकोमा अहिलेसम्म ४२ वटा शाखा विस्तार गरिसकेको उनले जानकारी दिए।

नयाँ जीवन बीमा कम्पनी आएसँगै एशियन लाइफ इन्स्योरेन्सले पनि आफ्ना उपशाखालार्इ शाखाको रुपमा विकास गर्दै नयाँ नयाँ प्रोडक्स सहित बजारमा गएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले बताए।
अहिलेसम्म तथ्याङ्क नआइसके पनि यस वर्ष गत वर्षको तुलनामा नाफा बढ्ने आँकलन छ। बीमा समितिले चुक्ता पूँजी बढाउने निर्देशन दिएसँगै कम्पनीका संचालक तथा लगानीर्ताको प्रतिफल बढाउने दवाव पनि उत्तिकै रहेको श्रेष्ठले बताए। यसले गर्दा कम्पनीले एग्रेसिभ रुपमा आफ्नो व्यवसाय बढाउनु पर्ने बाध्यता नै रहेको उनको भनाई छ।

बीमा कम्पनीको नाफा बढ्नुमा कम्पनीको ‘लाइफ फण्ड’को साइजले पनि प्रभाव पर्ने सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले बताउँछन्। जुन कम्पनीको बीमा कोष धेरै छ उनीहरुले बैंकको तरलताको भरपुर फाइदा लिन सक्ने उनको भनाई छ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा गत वर्षको भन्दा ३० प्रतिशतले नाफा बढेको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए। समग्रमा निर्जीवन बीमा कम्पनीहरुको भने २२ प्रतिशत भन्दा माथिको ग्रोथ हुने उनको भनाई छ।

बैंक तथा वित्तीय क्षेत्रमा देखिएको लिक्विडिटी क्रन्चले गर्दा आर्थिक गतिविधि घट्दा अपेक्षा गरिए जति विजनेस बढाउन नसकेको उनले बताए।

बैंकको व्याजदर बढ्दा बीमा कोषको निक्षेपको व्याज आम्दानी बढेपनि समग्रमा विगतमा चलिआएका व्यवसायमै खुम्चनु पर्ने वाध्यता रहेको उनको भनाई छ।‘थप नाफा बढ्न सक्ने अवस्था रहेको भएपनि बैंकहरुको तरलताको समस्याले थप नाफा गर्न सकिएन’-उनले भने।  

जति धेरै कम्पनी खुल्छन् व्यापार व्यवसाय बढ्दै जान्छ त्यति नै धेरै निर्जीवन बीमाको व्यवसाय पनि बढ्दै जाने उनले बताए।

नाफामा सपोर्ट गर्ने अर्को पक्ष कम्पनीहरुले शहरोन्मुख क्षेत्रमा आफ्नो शाखा बिस्तार गर्दै लगेकोले थप सपोर्ट गरेको क्षेत्रीको भनाई छ। चुक्ता पूँजी बढेसँगै विधागत रुपमा व्यावसायिक योजना बनाउनुपर्ने दवाव छ।

लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको जस्तो नाफाको टार्गेटकालागि धेरै प्रेसर नगरेपनि व्यवसाय बढाउन भने दवाव दिने गरेको क्षेत्रीले बताए।