अनलाइनबाट गरिने बैंकिङ कारोबारमा सीमा तोकियो, इवालेटमा २५ हजार रुपैयाँभन्दा बढि राख्न नपाइने

बिजमाण्डू
२०७५ बैशाख ३ गते १७:५२ | Apr 16, 2018

काठमाडौं। अब क्रेडिट कार्डबाट स्वीकृत सीमाको २५ प्रतिशतभन्दा बढि नगद झिक्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार विद्युतीय प्रणालीबाट गरिने कारोबार बारे निर्देशन जारि गर्दै एक लाख रुपैयाँभन्दा बढिको प्रिपेड कार्ड जारि गर्न नपाइने ब्यवस्था गरेको छ।

Tata
GBIME
Nepal Life

साथै प्रिपेड कार्डबाट नेपालभित्र नगद झिक्दा न्युनतम पाँच सय र अधिकतम १० हजारसम्म झिक्न पाइने ब्यवस्था छ। एक महिनामा ५० हजारसम्म मात्र झिक्न पाइने छ।

राष्ट्र बैंकले डेबिट कार्डबाट एक पटकमा न्यूनतम ५०० देखि अधिकतम २५ हजारसम्म झिक्न पाइने ब्यवस्था गरेको छ। एक दिनमा एक लाखसम्म झिक्न पाइने छ। यो सीमा बैंकहरुले एक लाखबाट तल पनि राख्न पाउने छन्।

मोबाइल बैंकिङबाट एक पटकमा भुक्तानी गर्दा ५ हजार रुपैयाँसम्म र अधिकतम एक दिनमा १० हजारसम्म मात्र गर्न पाइन्छ। महिना दिनमा ५० हजारसम्म मात्र पाइने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।

इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा दैनिक एक लाखसम्म कारोबार गर्न सकिने छ। मासिक रुपमा ५ लाख रुपैयाँसम्म मात्र कारोबार गर्न पाइने छ। इन्टरनेट बैंकिङबाट बैंक तथा वित्तीय संस्थाको खातामा नगद पठाउँदा अधिकतम एक लाख र मासिक १० लाखसम्म पठाउन मिल्ने छ।

भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको इवालेट, मोवाइल वालेट, डिजिटल वालेटहरुमा नगदै वा ट्रान्सफर गरी जम्मा गर्न सकिने ब्यवस्था पनि राष्ट्र बैंकले गरेको छ। एजेन्ट र सव एजेन्टबाट एक पटकमा अधिकतम पाँच हजारसम्म र एक दिनमा १५ हजारसम्म र मासिक २५ हजारसम्म जम्मा गर्न सकिने छ।

सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नु पर्ने कर, राजश्व, जरिवाना तथा दस्तदुरलगायतका शुल्कहरु बील बमोजिमको भुक्तानी गर्न मिल्ने छ। बैंकबाट वालेटमा एक पटकमा कम्तिमा १०० र अधिकतम ५००० हजारसम्म जम्मा गर्न पाइने छ। दिनभरीमा १५ हजारसम्म जम्मा गर्न पाइने छ।

बैंकहरुमा रहेको खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाहरुले सञ्चालन गरेको वालेटमा त्यही दिन भुक्तानी गर्ने प्रयोजनका लागि एक पटकमा ५० हजारसम्म ट्रान्सफर गर्न सकिने छ। वालेटमा २५ हजारभन्दा बढि राख्न पाइने छैन।